समाचारबिहिबार, ३० श्रावण , २०७६

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

हिमालखबर

बरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षकाे उमेरमा निधन भएको छ । ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई डिस्चार्ज गरी निवास कालिकास्थान ल्याइएको थियो ।

निवासमै दीक्षितकाे निधन भएकाे हाे । दीक्षितलाई मुटु, मिर्गाैला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

दीक्षितका माधवी (उपन्यास, २०३९), चरैवेति (निबन्ध संग्रह, २०४४), त्यो युग (निबन्ध संग्रह, २०४७), हाम्रा ती दिन (निबन्ध, २०२९), म रुँदै बिर्सन्छु (संस्मरण, २०२७), बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४) कृति प्रकाशित छन् ।

यस्तै, लाखौं शिशु लिफ्ट मागिरहेछन्, मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ, कसले जित्यो कसले हार्‍यो (कथा संग्रह, २०२१), ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५), दश लाख हिरोसिमातिर, जीवन महाअभियान, ऋग्वेदः केही प्रमुख सूक्त (२०६५) दीक्षितद्वारा लिखित कृति हुन् ।

दीक्षितले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार सम्मान प्राप्त गरेका थिए । 

दीक्षितले पत्रकारिता क्षेत्रमा पनि विशिष्ट योगदान दिएका छन् । हालखबर साप्ताहिकमा काम गरेका मदनमणि दीक्षित समाज दैनिक प्रधान सम्पादक थिए । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौंको गौरीधारामा भएको थियो ।

दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी छन् । परिवारका अनुसार मदनमणि दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिकृया दिनुहोस