समाचारबुधबार, २९ श्रावण , २०७६

पत्रकार भैरव रिसालको अनुभव संग्रह सार्वजनिक (भिडियाे सहित)

हिमालखबर

पत्रकार भैरव रिसालले ९२औं जन्मदिनको अवसर पारेर अनुभव संग्रह ‘उहिलेको नेपाल’ सार्वजनिक गरेका छन् । पत्रकार रिसालले पत्रकारिताका क्रममा भोगेको, देखेकोे र सुनेको विषय संग्रहमा समेटिएका छन् ।

पूर्व राष्ट्रपति रामवरण यादवबाट विमोचन गरिएको पुस्तक संग्रहमा समेटिएको अनुभवबारे पत्रकार रिसालसँग हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले सम्वाद गरेका थिए । पाटनढोकास्थित यलमाया केन्द्रमा संग्रह विमोचन अघि थप अनुभव समेत पत्रकार रिसालले सुनाए ।

पुस्तक विमोचनपछि पूर्व राष्ट्रपति डा. यादवले रिसाललाई जन्मदिनको शुभकामना दिए । पूर्व राष्ट्रपति डा.यादवले रिसालसँगको पुरानो चिनजानको स्मरण गरे । पत्रकार रिसाललाई पूर्व राष्ट्रपति डा. यादवले लेखनमा वर्तमान समसामयिक विषय समेट्न पनि आग्रह गरे ।

गणतान्त्रिक नेपालको संविधानले नै मुलुकमा देखिएका समस्या हल गर्न सक्ने भन्दै पूर्व राष्ट्रपति डा. यादवले देशमा विकासका नाममा भइरहेको विनाशबारे लेखक तथा पत्रकारलाई लेख्न आग्रह गरे ।

जन्मोत्सव तथा पुस्तक विमोचन कार्यक्रममा रिसाल पत्नी सुशिलाका साथै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, नेकपाका नेता रघुजी पन्त, नेपाली कांगे्रसका नेता लक्ष्मण घिमिरे, हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

बुक हिल प्रकाशनले प्रकाशित गरेको पुस्तकको सम्पादन हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले गरेका हुन् । पत्रकार रिसालले हिमालमा साप्ताहिक स्तम्भ पनि लेख्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस