समाचारबुधबार, २९ श्रावण , २०७६

नेकपाका अध्यक्षद्वय अनौपचारिक छलफलमा

हिमालखबर

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएलगत्तै छलफलमा जुेटका छन् । स्कूल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विवाद सल्झन नसक्दा नेकपा सचिवालयको बैठक लगातार निष्कर्ष विहीन हुँदै आएको छ ।

२६ साउनमा प्रधानमन्त्री ओली फर्किएपछि अनौपचारिक छलफलमा व्यस्त छन् । सचिवालय नेताहरुसँग अनौपचारिक सम्वाद गरिसकेको अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा छन् । “छलफल त लगातार चलिरहेको छ । तर, सहमतिको संभावना अहिलेसम्म देखिएको छैन”, स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने ।

स्कूल विभागमा सचिवालयकै नेताहरुले नै दावी नछोडेपछि नेकपाले विभागीय प्रमुखहरु टुंग्याउन सकेको छैन । नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल दुवैले उक्त विभाग आफूले पाउनुपर्ने दावी गर्दै आएका छन् । नेता श्रेष्ठले आफूभन्दा माथिका नेताहरुले आफैंले रोजेको विभाग पाएकाले विभाग रोज्ने पालो आफ्नो आएको तर्क गर्दै आएका छन् ।

अर्का, नेता ईश्वर पोखरेल कुनै हालत स्कूल विभाग नछोड्ने पक्षमा छन् । अझ स्कूल विभागमा दावी गर्ने नेताहरु बढेकाले समस्या देखिएको छ । अनौपचारिक छलफलमा सहमति जुटाएर निर्णय लिने पक्षमा अध्यक्ष ओली देखिएका छन् ।

नेकपाले केन्द्रदेखि स्थानीय तहसम्म एकीकरण टुंग्याएपनि सचिवालयकै सदस्यहरुको जिम्मेवारी बाँडफाँडमा भने सहमति जुट्न सकेको छैन ।

प्रतिकृया दिनुहोस