समाचारबुधबार, २९ श्रावण , २०७६

बाल विवाहको सूचना दिनेलाई पुरस्कार

हिमालखबर

-कमल रिमाल, विराटनगर

मोरङको सुन्दर हरैंचा नगरपालिका १ नम्बर वडामा बाल बिवाह रोक्न सुराकी दिनेलाई इनाम दिइने भएको छ । बाल बिवाह हुन लागेको सुचना दिनेलाई नगद १ हजार दिइने वडा अध्यक्ष बिनोद बस्नेतले बताए ।

‘सानै छु बढ्न देउ, बाल बिवाह हैन पढ्न देउ’ भन्ने नाराका साथ मंगलबार अपरान्ह हरैंचामा गरिएको बाल बिवाह अन्त्यका लागि प्रतिबद्धता घोषणा समारोहमा अध्यक्ष बस्नेतले पुरस्कारको रकम आफुले ब्यक्तिगत रुपमा दिने बताए ।

“वडा अध्यक्ष भएर आएको दुई वर्षमा ११ वटा बाल बिवाह रोकिसकेको छु” बस्नेतले हिमालखबरसंग भने, “संचारको महुंचसंगै बालबालिकामा भागि बिवाह बढेको छ ।”

सुन्दर हरैंचा १ स्थित जनता माबिका सहायक प्रधानाध्यापक सुर्यबहादुर बस्नेतले बाल बिवाह र बहु बिवाहजस्तो सामाजिक बिकृति नियन्त्रण गर्न समाजले नसकेको बताए । नारी विकास संघले मोरङका ५ स्थानीय तहका ८ वटा वडालाई बालबिवाह मुक्त घोषणा गर्न बिभिन्न गतिबिधि संचालन गर्दै आएको छ । संघका कार्यक्रम संयोजक सरिता अधिकारीका अनुसार, ग्रामथान गाउंपालिकाका १ र २ नम्बर वडामा भनें बाल बिव्ँँहमुक्त घोषणा गरिसकिएको छ ।

सुन्दर हरैंचा नगरपालिकाले बढ्दो बाल बिवाह न्युनिकरण गर्न बालबालिकाकै सल्लाहमा यस वर्ष बजेट छुट्याएको मेयर शिवप्रसाद ढकालले जानकारी दिए । “बाल बिवाह रोक्न आर्थिक अभाव हुंन पाउंदैन, चाहिए जति सहयोग गर्न नगरपालिका तयार छ” उनले भने । कक्षा ८ मा अध्ययनरत वडा बाल संजालकी सचिव अनुश्कृति शाक्यले बाल बिवाह गर्दा आमा र बच्चा दुबैको ज्यान जान सक्ने संदेश लिएर गाउं टोलमा प्रचार गर्ने गरिएको बताइन् ।

मोरङ ग्रामथान १ खुनियाकट्टा वस्ने १६ वर्षीया रुन्ची ऋषिदेव एक सन्तानकी आमा हुन् । इच्छा नहुंदा नहुंदै विवाह गर्नु परेको बताउंने बाल बिवाह बिरुद्धको अभियानमा सक्रिय उनी भन्छिन् ‘आफ्नो त विवाह भयो, अरुको नहोस् भनेर लागेकी छु ।’

पूर्व शिक्षक तथा बाल अधिकार समिति हरैंचाका सचिव नन्दकिशोर मिश्रले विद्यालयको पढाई छाडेर भागेर बिवाह गर्ने चलन बढेको बताउंदै धामी, झाक्री, गुरु, पुरोहित, हजाम, भजन मण्डली, आमा समुहहरु मार्फत बाल बिवाह रोक्ने प्रयास थालिएको बताए ।

 

प्रतिकृया दिनुहोस