समाचारमंगलबार, २८ श्रावण , २०७६

पवन चामलिङको पार्टीका १० विधायक भाजपामा प्रवेश

हिमालखबर

सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का नेता तथा पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङको पार्टीका १३ मध्ये १० विधायक भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् ।

भाजपाका कार्यकारी अध्यक्ष जेपी नड्डा तथा पार्टी महासचिव राम माधवको उपस्थितिमा विधायकहरूले मंगलबार भाजपाको सदस्यता लिए । अब एसडीएफमा पूर्व मुख्यमन्त्री सहित ३ जना विधायक रहनेछन् ।

सिक्किममा सिक्किम क्रान्तिकारी पार्टीको सरकार छ । सत्ताधारी पार्टीसँग १६ जना विधायक रहेका छन् । तीन सीट खाली छन् । यस अवस्थामा बहुमतका लागि १५ विधायकको समर्थन आवश्यक हुन्छ।

चामलिङ, उनको पार्टीका एक विधायक र सत्ताधारी एसकेएमका उम्मेदवारले दुई्दुई स्थानमा चुनाव जितेका कारण एक\एक स्थानमा राजीनामा दिएकाले खाली भएका तीन स्थानमा उप निर्वाचन हुन बाँकी छ । सिक्किम विधानसभामा कुल ३२ सीट रहे पनि अहिले २९ विधायक रहेका छन् ।

राम माधवले भने, “एसडीएफका १३ जना विधायक थिए । पार्टीको विधायक दलले भाजपामा प्रवेश गर्ने निर्णय लियो । अब सिक्किममा एसडीएफका विधायक भाजपामा प्रवेशपछि सिक्किममा पनि सरकार बनाउने बाटो खुलेको छ ।”

कुनै पार्टीका दुई तिहाइ विधायक अर्को पार्टीमा प्रवेश गरेपछि दलबदल कानून लागू नहुने व्यवस्था छ ।

 –संजय प्रधान

प्रतिकृया दिनुहोस