टिप्पणीबुधवार, मंसिर २९, २०७३

दैलेखी पौरख

जीवनप्रसाद राई

आफ्नो सम्भावना पहिचान गरेर काम थालिसकेको दैलेखले स्किम, लगानी र सरकारी प्रोत्साहन खोजेको छ।

२०७२ चैतमै दैलेख जाने योजना बनाए पनि काठमाडौं छिरेपछि निस्कन मुश्किल पर्ने कारणले २०७३ जेठको दोस्रो हप्ता मात्र समय आयो। बँधुवा जन्तु फुकेझैं स्वच्छ, सफा र आनन्दको हावापानीमा रमाउँदै दुल्लु पुग्दा पहाडी जिल्लाको एक उत्कृष्ट सदरमुकाम टेकेजस्तो भयो।

हुन पनि, दैलेखलाई नेपाली सभ्यताको उद्गमस्थल नै मानिन्छ। २८ जातका नेपाली यहींबाट नेपालभर छरिएको दैलेखी बताउँछन्। कम्बोडियातिर राष्ट्रिय संरक्षण पाएका देवलहरू पनि दैलेखका धेरै ठाउँमा असरल्ल छरिएका भेटिन्छन्। 

पछिल्लो समय दैलेखले थालेको कृषि उद्यमले यो जिल्लामा कृषि पर्यटनको सम्भावनालाई यथार्थ बनाउँदै लगेको देखियो। संचालनमा आउनै लागेको नौमुले जलविद्युत् आयोजनाबाट बिजुलीमा आत्मनिर्भर बन्ने तरखरमा रहेको दैलेखमा कृषिलाई पर्यटनसँग जोड्ने संस्थागत प्रयासहरू पनि हुँदैछ।

कर्णाली पस्न कालीकोटभन्दा दुल्लुको बाटो निकै छोटो र सजिलो पनि हुनुले दैलेखलाई भोलि बढी भाग्यशाली बनाउँछ भन्नेहरू पनि भेटिए, जिविस, उद्योग वाणिज्य संघ, नगरपालिका, गैर–सरकारी संघसंस्थाका पदाधिकारी र अन्य व्यक्तिहरूसँग कुराकानी गर्दा।

दुनाटपरी उद्योग

लीला नेपाली

ठूल्ठूला परियोजनाको बयान सुन्ने बानी परेका हाम्रा कानलाई दुनाटपरी उद्योगको कुराले खासै चनाखो नबनाउन सक्छ। विश्वका उत्कृष्ट विश्वविद्यालयबाट विद्यावारिधि गरेका हाम्रा योजनाविद्हरूलाई त झ्न् यस्ता कुरा हास्यास्पद नै लाग्न सक्छन्।

तर, आर्थिक आत्मनिर्भरता, सशक्तीकरण र गाउँ विकासको थालनी हेर्न जो–कोहीले दैलेखको कुइकाना पुग्दा हुन्छ, जहाँ लीला नेपाली अध्यक्ष रहेको दुनाटपरी उद्यमले गज्जब गरिरहेको छ।

नौजना महिला सदस्य रहेको समूहले पातका दुनाटपरीसँगै डिस्पोजेबल गिलाससमेत बजार पठाएर राम्रो आय गरिरहेको छ। सालका पात दिने स्थानीय सामुदायिक वन उपभोक्ता समूहलाई पनि रोयल्टीको रूपमा राम्रै नगद दिइरहेका उनीहरूले नाफाबाटै कारखानाको लागि नयाँ भवन बनाएका छन्। एकघण्टामा पाँचसयसम्म दुनाटपरी बनाउने मेशीन राखेको महिला समूहले पात टिपेर ल्याउनेदेखि दुनाटपरी बजारमा पुर्‍याउँदासम्म थुप्रै रोजगारी सिर्जना गरेको छ। उनीहरूको उत्पादनले एकातिर वातावरण प्रतिकूल प्लाष्टिकका गिलास–प्लेटलाई रोकेको छ भने अर्कोतिर बजारको पैसा गाउँमै खिचिरहेको छ।

शहरका होटल–रेस्टुरेन्ट–पार्टी प्यालेसका साथै विवाह–भोजलगायतका शुभ कार्यहरूमा सबैले नेपाली परम्पराका सजिलो–सस्तो दुनाटपरी चलाउने हो भने वार्षिक करोडौं रुपैयाँ गाउँघरका जाँगरिला महिलाको हातमा पुग्नेछ। साल र चिउरीको पातबाट निकै आकर्षक र टिकाउ दुनाटपरी बन्छ।

पातबाट यस्तो आर्थिक सम्भावना निकाल्ने कुइकानाका महिलाहरू प्रोत्साहित भए उनीहरूले भोलि अझ् फराकिलो संभावना पहिल्याउनेछन्।

मसला उद्योग
दैलेख जानेहरूले हिजोआज फर्कंदा कोसेलीको रूपमा मसला किन्दारहेछन्। २०६७ सालमा स्थापित कविराज खत्रीसमेत संचालक रहेको ज्वालागठी मसला उद्योगले ठूलो मिहिनेतका साथ दैलेखलाई 'मसला जिल्ला' बनाएको रहेछ। २०७२ सालमा राष्ट्रपति कृषि पुरस्कार समेत पाएपछि उद्योगका अध्यक्ष काशीराज खत्री निकै उत्साहित भएका रहेछन्।

खत्रीद्वयका अनुसार, ज्वालागठी मसलाको कच्चा पदार्थ बेसार, अदुवा, अलैंची, जीरा, धनियाँ, पुदिना, टिमुर, कालोजीरा, हिंग, गोरखपान, बेलको पात, काफल, चुत्राको जरा, खयर, पदमचाल, कुरिलो, घोडामोर्चालगायत ४१ प्रकारका चिजबिच हुन्। तर, यीमध्ये केहीबाहेक सबै कच्चापदार्थ अन्य जिल्लाबाट ल्याउनुपर्ने रहेछ।

तन्नेरीहरू विदेशिंदा खेतबारी बाझिएर गाउँमै हुने चिजबिज पनि बाहिरबाट ल्याउनुपर्ने अमिल्दो अवस्था यहाँ देखियो। रेमिट्यान्सको आकर्षणले पछिल्लो समय देशभर देखिएको यो समस्या बुझेर नीतिनिर्माण र लागू गर्ने हो भने हामी नेपालीलाई विदेशमा खुनपसिना बगाउने होइन, आफ्नै गाउँघरमा सगर्व समृद्धि हासिल गर्ने अवसर मिल्नेछ।

ज्वालागठी मसला जस्ता कृषिमा आधारित उद्योग कृषिमा औद्योगीकरणको शुरूआत पनि हो, जसले क्रमशः ठूलो लगानीको माग गर्छ। ठूलो लगानीले प्रविधि प्रयोग र उत्पादन वृद्धि गर्छ। त्योसँगै मनग्ये रोजगारी सिर्जना र आयवृद्धि हुन्छ।

अहिलेको भारतीय मसला आयातलाई हेर्दा दैलेखले नेपालको पैसा यतै रोक्ने कामको शुरूआत पनि गरेको मान्नुपर्छ। नेपालका ब्यांकहरूले कृषि वा कृषिजन्य उद्योगलाई लगानी क्षेत्र नबनाउनु चाहिं दुर्भाग्यपूर्ण छ।

एकहजार सदस्य रहेको गोठपाटा सहकारी संस्थामा धेरैजसो महिला छन्। अध्यक्षको रूपमा संस्था हाँक्ने जिम्मा लिएकी छिन्– मुना थापाले।

सामाजिक परिचालनलाई इन्जिन बनाएको संस्थाले हाललाई तरकारी उत्पादनमा जोड दिएको छ। हजार सदस्यको समूह सूचना प्रवाह गर्ने गतिलो नेटवर्क पनि भएको छ।

दैलेखको मात्र नभई अन्य जिल्लाहरूका संभावना र समृद्धिका लागि समेत यस्तो नेटवर्क र सामाजिक परिचालन महत्वपूर्ण हुनेछ। यसमा हाम्रा नीतिनिर्माताको ध्यान गएको देखिंदैन।

काष्ठ उद्योग

कविराज खत्री

दैलेखबाट अन्य जिल्लाले आयात गर्नुपर्ने विद्या धेरै छन्। अन्यत्र जिविसहरूले चलाउने सीप विकास कार्यक्रमहरू दैलेखमा सीधै घरेलु कार्यालयलाई जिम्मा लगाएको रहेछ।

दैलेखमा मैले जति पनि काठ र बाँसका सामग्री उत्पादन तथा तालीम भइरहेको देखें, ती सबै घरेलु कार्यालयमार्फत संचालित थिए। यस्ता घरेलु उद्योगबाट छिटो बढ्ने रूख र बाँस खेतीलाई प्रोत्साहन मिल्छ। यसबाट एकातिर अत्यधिक प्रयोगमा आउने फर्निचर सर्वसुलभ हुन्छ भने अर्काेतिर वनपैदावारबाट साना तथा मझ्ौला उद्योग फस्टाउँछन्।

दैलेखले हरियाली परियोजना पनि तयार पारेको रहेछ। वन पैदावारमा आधारित घरेलु उद्योग संचालन र हरियाली परियोजनाबीच तालमेल मिलाउन सके दैलेख उदाहरणीय रूपमा अगाडि बढ्नेछ।

स्थानीय वनको काठ र बाँसबाट बन्ने खाट, टेबलकुर्सी, बेन्च, ह्याङ्गर, डस्टबीन, टुल, र्‍याक, आलमारीलगायतका फर्निचरको बजार नेपाल नै हो। यसलाई अझ् आकर्षक र बलियो बनाए देश बाहिर निर्यात गर्न पनि सकिन्छ।

नौमुलेमा चहलपहल
ऊर्जामा दैलेखलाई आत्मनिर्भर बनाउने जलविद्युत् आयोजना भएको नौमुलेमा लोक्ताबाट कागज उत्पादन र अल्लो प्रशोधन पनि भइरहेको छ।

दुल्लुबाट पैदल पाँचघण्टा र बसमा पनि पाँचै घण्टामा पुगिने यो ठाउँमा तरकारी खेतीको पनि रहरलाग्दो शुरूआत भएको देखियो। तिखे रोकामगर र बलिराम थापाले यहाँ नेपालकै राम्रो मध्येमा पर्ने लोक्ताको पहाडे कागज उद्योग चलाएका छन्। उत्तरपूर्वी एशियामा यस्तो कागजको माग ठूलो छ। यसमा पनि ठूलो लगानी र प्रविधि प्रयोगको खाँचो छ।

समग्रमा, भौगोलिक हिसाबले कर्णालीको सजिलो प्रवेशद्वारको रूपमा रहेको दैलेखमा कृषि, मसला, फर्निचर, मासुजन्य उद्योग र कृषि पर्यटनको अपार सम्भावना छ, जसमा स्थानीय तहबाट काम पनि अगाडि बढेको छ। खाँचो छ त केवल व्यवस्थित योजना, लगानी र सरकारी प्रोत्साहनको।

प्रतिकृया दिनुहोस