ब्लगसोमबार, २७ श्रावण , २०७६

नेपाल मण्डलः फैलावटको सीमा

कनकमणि दीक्षित

कसैगरी नरोकिएको राजधानी बसाइँ सर्ने लहरलाई स्वीकारेर उपत्यकालाई सक्दो व्यवस्थित र सुन्दर बनाउने बाहेक उपाय छैन ।

नेपाल खाल्डो, नेपाल मण्डल, सोनिग (तीन शहर) अथवा राजधानी उपत्यका — यसको फैलावटको सीमा (‘लिमिट्स् टू ग्रोथ’) के होला ?

पाटनढोकाबाट कुपण्डोल, वागमती तर्दै सुन्धारातर्फ उक्लँदै गर्दा पूरै खेतबारी र फाँटमा शहर विस्तार भएको देख्दा कुनै बेला हाम्रा बाबुबाजे चकित हुन्थे । मैले सम्झँदा चिनियाँले रिङ रोड कस्तो बनाएका होलान्, शहर बाहिर किन व्यर्थै यत्रो फराकिलो बाटो बनाए लागेथ्यो ।

गएको दुई दशकमा पत्याउनै नसक्ने गरी काठमाडौं–भादगाउँ ११ किमी पूरै क्षेत्र शहरीकरण भएको छ, लोकन्थलीदेखि कौशलटार, गट्ठाघर, सल्लाघारी र जगातीसम्मै ।

एक वर्षयता अर्को फैलावट शुरु भयो । उपत्यकाको फाँट र खेत सालाखाला पूरै आबाद भएपछि अब नयाँ बस्ती, घरघडेरी काँठका पाखामा उक्लन थालेका छन् । यसले देखाउँछ, नेपाल खाल्डोमा बसाइँ सर्न चाहने, दुई आनामै भए पनि घर ठड्याइहाल्ने चाहनामा कमी आएको छैन ।

बर्खाको तुवाँलोरहित समय, उपत्यका घेर्ने कुनै पहाड–भञ्ज्याङ हेर्नुस्, तिनको फेदीको हरियाली विस्थापित भएर ‘प्लटिङ’ शुरु भएको छ । लाग्दथ्यो, नागार्जुन, शिवपुरी, फुल्चोकी, नगरकोट, चन्द्रागिरी डाँडाको फेदका हरियाली निकुञ्ज, सरकारी या सामुदायिक वनका अंश हुन् । तर धेरै त निजी वन रहेछन् । यो कुरा डोजर, बाटो र जग्गा कारोबारी त्यहाँ पुगेपछि पो थाहा भयो ।

उपत्यकाको दक्षिण र पूर्वी भेकतिर अहिले पनि केही खेत–कान्ला बाँकी छन्, तर दुई–चार वर्षभित्रै यिनीहरू पनि पूर्णतः बस्तीमा परिणत हुने निश्चित छ । थुप्रै उपत्यका विकास ‘मास्टर प्लान’ का बाबजूद नयाँ बस्ती अव्यवस्थित हिसाबले बनेका, बनिरहेका छन् । जसरी आज डोजर अपरेटरले नै गाउँघरमा सडक ‘डिजाइन’ र ‘निर्माण’ गर्दैछन्, त्यसैगरी उपत्यकाको शहरी विस्तारको रेखा कोर्ने इँटा व्यवसायी र इँटा ओसार्ने ट्रक ड्राइभर हुन्— जताजता यी ट्रक कुदे, त्यतात्यता नयाँ बस्ती जोड्ने सडक बने ।

पाटनढोकाबाट कुपण्डोल, वागमती तर्दै सुन्धारातर्फ उक्लँदै गर्दा पूरै खेतबारी र फाँटमा शहर विस्तार भएको देख्दा कुनै बेला हाम्रा बाबुबाजे चकित हुन्थे । मैले सम्झँदा चिनियाँले रिङ रोड कस्तो बनाएका होलान्, शहर बाहिर किन व्यर्थै यत्रो फराकिलो बाटो बनाए लागेथ्यो ।

पहिला लाग्दथ्यो, द्वन्द्वकाल सकिएलगत्तै राजधानीमा बसाइँसराइ घट्नेछ । खानेपानीको अभाव, भनौं मेलम्ची योजनाको ढिलाइले पनि यहाँको आबादीको वेग शिथिल हुनेछ । विभिन्न नयाँ राजमार्ग, विस्तारित सडकले पनि राजधानी र बाँकी जिल्लाको दूरी मेटाउँदै यहाँको मानवीय र आर्थिक चाप कम गर्नेछ । तर त्यस्तो केही भएन । जतिजति यो खाल्डो अरू भेकसँग जोडियो, जति यहाँको हावापानी प्रदूषित भयो, शहरी सेवा धराशायी भए, उपत्यका ओइरिनेको संख्या बढिनै रह्यो ।

अहिले बनिरहेको द्रुत मार्ग (‘फास्ट ट्र्याक’) हेरौं । ‘डीपीआर’ विना नै बनिरहेको यो मार्ग, जसले तराई–उपत्यकालाई एकदमै नजिक्याउने गरी जोड्नेछ । कल्पना नै सही, यो मार्ग दुई दशकअघि नै बनेको भए, उपत्यकामा बसाइँसराइको लहर घट्नेथियो कि, सजिलैसँग अन्यत्र पुग्न सक्ने भएकोले । तर, फास्ट ट्र्याक बनिसक्दानसक्दै उपत्यकाको सबै जग्गामा शहरीकरण भइसक्नेछ, ‘वाल–टू–वाल’ ।

उपत्यकामा निजी जग्गा, जमीन, जङ्गल जति छन् ती सबै घरघडेरीमा परिणत नभएसम्म शहरी फैलावट नरोकिने निश्चित देखियो । हामीले स्वीकार्नै पर्नेभयो, नेपाल मण्डलको पुरानो शहर–खेतको मीठो मिलनको अवस्था सदाको लागि गुम्यो । अब के गर्ने त ?

उपत्यकाको शहरीकरण जे जसरी भए पनि यो ठाउँलाई रमणीय, सुन्दर बनाउने कर्तव्य हाम्रो हुनपुगेको छ । अव्यवस्थित आबादीलाई अलि व्यवस्थित बनाउने, जस्तैः सार्वजनिक यातायात विस्तार, पार्क र प्लाजा निर्माण, शहरी सेवा विस्तार (फूटपाथ, सडक बत्ती, प्रदूषण नियन्त्रण, इ.) । शहरभित्रको सम्पदा (मूर्त र अमूर्त) लाई बचाउनु, नयाँ उपत्यका संस्कृति (रङ्गमञ्च, फिल्म दुनियाँ, बौद्धिकता, वास्तुकला शिक्षण, इ.) निर्माण गर्नु हाम्रो लक्ष्य हुनुपर्छ । नत्र यो ठाउँ बसिसक्नुहुँदैन ।

उपत्यकाकाे मातातीर्थ–चन्द्रागिरी काँठ । तस्वीर : विक्रम राई

प्रतिकृया दिनुहोस