रिपोर्टसोमबार, २७ श्रावण , २०७६

कार्गिलमा नेपाली सुरक्षित तर चिन्तित

हिमालखबर

–ऋषि राई\उदयपुर

उदयपुरको कटारी नगरपालिका–२, ददरियाका ज्ञानु थापा भारतको जम्मु–कश्मीर, कार्गिल द्रास बजारका नेपाली होटल व्यवसायी हुन् । उनको कार्गिल बसाइँ दुई दशक नाघिसकेको छ ।

कारगिल क्षेत्र । तस्वीर : हिन्दुस्तान टाइम्स

उनको व्यवसाय रामै्र चलेको भए पनि अहिले उनी जस्ता नेपाली व्यवसायी बन्द छ भने जीवन पनि डर र त्रासमै छ । “होटल गरेको मात्रै १६ वर्ष भइसक्यो ।” टेलिफोनमा उनले भने, “अहिले पूरै बजारमा कर्फ्यू छ , होटल चल्ने कुरै भएन ।”

भारत सरकारले जम्मुकश्मीरलाई विशेष राज्यको अधिकार दिने संवैधानिक धारा ३७० खारेज गरेपछि आउनसक्ने खतराका कारण कर्फ्यू जारी गरेपछि त्यहाँका नेपालीहरूको पनि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

रुकुम मुसिकोट नगरपालिकाका रत्नबहादुर सुन्दासले भने, “अहिले सम्म त ठीकै छ तर घर फर्किने सिजन अझै भएको छैन के हुने हो चिन्तित छौं।”

कार्गिलको द्रासबजारमा मात्रै लगभग एकहजार नेपाली युवा काम खोज्दै पुगेका छन् । “३ सय जति पोष्टमा काम गर्छन्, अरू डाउनमै कोही कम्पनीमा, होटलमा र सिभिलको काम गर्ने गरेका छन्”, थापाले थपे, “कर्फ्यू जारी भएपछि सबै घरभित्रै बस्नु परेको छ, बाहिर निस्कियो भने गोली ठोक्ने आदेश छ ।”

जम्मु–कश्मीरको श्रीनगरमा टेलिफोन र इन्टरनेट प्रतिबन्ध भए पनि कार्गिलमा अगष्ट ७ तारिख अर्थात २२ साउनसम्म इन्टरनेट खुल्लै थियो । २२ साउनसम्म इन्टरनेट खुल्ला हुँदा थापाले फेसबुक म्यासेन्जरमा द्रासबजार बन्दको २९ सेकेण्डको भिडियो क्लिप्स र फोटोहरू समेत पठाउन भ्याएका थिए ।

त्यसैगरी सिन्धुलीको दुधौली नगरपालिकाको मरघट्टीका विमल मगरले पनि फेसबुकमा द्रासबाट म्यासेज रिप्लाई गरिरहेकै थिए । तर सोही रातदेखि त्यहाँ पनि इन्टरनेट बन्द भएको उनले २६ साउनमा टेलिफोनमा बताए ।

पोष्टमा बन्दको प्रभाव कम
भारत र पाकिस्तानको सीमा क्षेत्रमा रहेको हिमाली क्षेत्र द्रासको सिमाना हिमालमाथि भारतीय सेनाको टुकडी बस्ने पोष्टमा बन्दको प्रभाव नदेखिएको त्यहाँ काम गर्ने नेपालीहरूले बताएका छन् ।

यस क्षेत्रमा नेपालीहरूले भरियाको अस्थायी काम गर्ने गरेका छन् । सडकको समेत पहुँच नभएको अग्लो हिमाली भेगमा नेपालीहरूले भारतीय सेनाका लागि ज्यानको जोखिम मोलेर गोली बारुद हतियारदेखि हिउँदमा ६ महीना हिउँले बाटो बन्द हुने समयमा खाने रासन बोकेर पुर्‍याउने गर्छन्।

पोष्टमा सीमा सुरक्षामा जस्तोसुकै लडाइँ खेप्न तयार सेना तैनाथ हुने भएकाले बन्दको प्रभाव थाहा नहुने नेपालीहरू बताउँछन् । “हल्ला सुनेका छौं तर खासै पोष्टमा प्रभाव छैन्”, गोर्खा पोष्टमा काम गरिरहेका ‘पोर्टर’ रुकुम सिस्नेका देवबहादुर बुढा (४०) ले भने, “अहिले फायरिङ पनि चलेको छैन, पोष्ट शान्त नै छ ।” बुढाले कार्गिलको पोष्टमा काम गर्न थालेको ७ वर्ष भइसकेको छ ।

कार्गिलको द्रासबजारमा मात्रै लगभग एकहजार नेपाली युवा काम खोज्दै पुगेका छन् । “३ सय जति पोष्टमा काम गर्छन्, अरू डाउनमै कोही कम्पनीमा, होटलमा र सिभिलको काम गर्ने गरेका छन्”, थापाले थपे, “कर्फ्यू जारी भएपछि सबै घरभित्रै बस्नु परेको छ, बाहिर निस्कियो भने गोली ठोक्ने आदेश छ ।”

सन् १९९९ को कार्गिलको लडाइँताकादेखि नेपालीहरूले त्यहाँ पोर्टरको काम गरिरहेका छन् । २००३ सम्म भारत र पाकिस्तानबीच फायरिङ जारी रहँदा त्यहाँका जोखिमपूर्ण पोष्टमा नेपालीहरूले प्रतिमहिना ३३ हजार सम्म तलब लिने गरेका थिए । भारत–पाक सम्बन्ध केही सुध्रिएपछि फायरिङ बन्द हुँदै गएपछि क्रमशः तलब पनि ओरालो झर्‍याे भने पोष्ट चढ्ने प्रक्रिया समेत जटिल हुँदै गएको छ ।

अहिले पोष्टमा १८ देखि २२ हजारसम्म तलब रहेको रुकुम आविस्कोटका रत्नबहादुर सुन्दासले बताए । त्यहाँ जोखिम हुँदा धेरै नेपालीको ज्यान जानुका साथै अंगभंग भएपनि त्यसको कुनै लेखाजोखा नभएको नेपाली भरियाहरू बताउँछन् । पहिले नेपाली नागरिकताको भरमा पोष्ट चढ्न पाउने नेपालीहरूलाई अहिले पोष्ट चढ्नका लागि पनि आधारकार्ड अनिवार्य गरिएको छ ।

जोखिम बढ्ने सङ्केत
दैनिक कफ्र्यू लागेपछि त्यहाँका स्थानीयहरू घरभित्रै थुनिएका छन् । उनीहरूको आक्रोश बढिरहेको छ । “नेता थुनिदिएको छ, घरभित्रै थुनिएका छन्, पूरै आक्रोशित छन्”, दुई दशक त्यहाँ बसेर स्थानीय सरह भइसकेका थापाले भने, “खै, पारी (पाकिस्तान) बाट पनि पो हान्ने सम्भावना छ भन्छन् ।” कार्गिल आसपास त सामान्य फायरिङ चलिरहेको उनले बताए । द्रास बजारदेखि कार्गिलसम्म ६० किलोमिटरको दूरी श्रीनगरको भन्दा सामान्य नै रहेको छ ।

फर्किन सहज
अहिलेकै अवस्थामा भारत–पाकिस्तान बीच लडाइँ भइहालेमा नेपालीहरू नेपाल निस्किन सकिने बताउँछन् । सुन्दास भन्छन्, “कुल्लु मनालीको बाटोबाट पनि आउन सक्छौं ।” लद्दाखतर्फबाट निस्किन सहज हुने उनीहरूको भनाइ छ । मनालीको बाटोको अलावा उनीहरू जम्मु–कश्मीरको बाटोबाट पनि आउन सक्ने बताउँछन् । थापा भन्छन्, “व्यवसाय छोडेर किन हिंडिहाल्ने भनेर हो ।”

नेपालीहरू जम्मु–कश्मीरसम्म पुग्नका लागि नेपालगञ्ज–रुपैडिया–दिल्ली–जम्मु–श्रीनगर सोनामार्गदेखि द्रास कार्गिल को बाटो प्रयोग गर्छन् । यसैगरी महेन्द्रनगर–बनबासा–दिल्ली वा हरिद्वार–जम्मु हुँदै जाने गर्छन् । र, अन्य पूर्वी र मध्यपश्चिम नाकाबाट समेत दिल्ली– हरिद्वार हुँदै जाने गर्छन् ।

नेपालबाट जम्मु–कश्मीरका लागि बसमा आउन जान एकतर्फी दिवा र रात्रि नियमित यात्रामा ५ दिनमा पुग्न सकिन्छ । जम्मु–कश्मीरलाई नेपालीहरूले कालोपहाड जाने पनि भन्ने गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस