हुण्डाईको नयाँ थ्रीएस सेन्टर नेपालगञ्जमा
नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्जमा नयाँ थ्रीएस सेन्टर स्थापना गरेको छ । एउटै छानामुनि सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यले हिम अटो डिस्ट्रिब्युटरको संयोजकत्वमा नयाँ थ्रीएस सेन्टर सञ्चालनमा ल्याइएको हो ।
सेन्टरमा प्रमाणित प्राविधिक सहितको स्टेट—अप—आर्ट, उत्कृष्ट कस्टमर लाउन्ज तथा चालकहरूका लागि आराम र हुण्डाई जेनुइन स्पेरपार्ट्सको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । सेन्टरको उद्घाटन हिमप्रसाद श्रेष्ठ तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।
नेपालगञ्जस्थित नयाँ सेन्टरमा पाँच वटासम्म गाडीको सोेरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । यसमा महिनामा तीन सय गाडीलाई सेवा दिने क्षमता रहेको छ ।
लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले उपत्यका बाहिर पोखरा, नारायणघाट, बुटवल, दाङ, बिराटनगर, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ ।