थप समाचारआइतबार, २६ श्रावण , २०७६

सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट

हिमालखबर

रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बनाउन अनौठो प्रस्ताव अघि सारेको छ । प्रस्ताव गाउँपरिषद्बाट पारित भएर यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ ।

जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । उक्त योजना कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा दुई लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताए ।

गाउँपालिका भएर बग्ने लुङ्ग्री नदीमा सुन खोज्ने परम्परा रहँदै आएको थियो । सुनछहरी झरना रहेको स्थानमा सुनखानी रहेकाले उक्त झरना लुङ्ग्री नदीमा मिसिने भएका कारण स्थानीयवासीले लामो समयदेखि सुन चाल्ने काम गर्दै आएका थिए ।

बालुवामा सुनका कणहरु समेत भेटिने गरेकाले त्यहाँ आश्रित युवायुवतीलाई गाउँपालिकाले स्वरोजगार बनाउन यस्तो योजना अघि सारेको गाउँपालिकाले बताएको छ ।

प्रतिकृया दिनुहोस