समाचारशनिबार, २५ श्रावण , २०७६

'आमा रुँदै बेलडाँगी शिविरमा, छोरो रुँदैं थिम्पूको जेलैमा’

गोपाल गडतौला

पातलिंदै गएको बेलडाँगी शरणार्थी शिविरमा ६५ वर्षीया डम्बरकुमारी अधिकारी छोराको प्रतिक्षामा छिन् । अरू दिनजस्तै त्यो दिन विहान पनि छोरा ओमनाथ ‘छिट्टै आउँछु’ भनेर घरबाट निस्किएका थिए ।

छाेराकाे फाेटाे काखमा राखेर डम्बरकुमारी (दायाँ) र उनकी छाेरी धनमाया छाेारासँग (वायाँ)

२०६५ सालको तिहारको छेक थियो । १८ वर्षको केटो, साथीहरूसँग कतै गएको होला भन्ने लागेको थियो । तर, चार महीनापछि अचानक एक विहान रेडियोले समाचार फुक्यो—दक्षिण भूटानको एक गाउँबाट ओमनाथ अधिकारी सहित सातजना भूटानी युवा पक्राउ परेका छन् ।

१२ वर्षदेखि भूटानको कारागारमा रहेको छोरो सम्झिएर आँसु झार्दै डम्बरकुमारीले भनिन्, “आफ्नो कलेजो सिरान लगाएर जन्मिएको सन्तान, यो जुनीमा फेरि भेट हुने नहुने ठेगान छैन ।”

२६ वर्षअघि दक्षिण भूटानको दागनाबाट एकल महिला डम्बरकुमारी अधिकारी छोरो ओमनाथ र छोरी धनमायालाई अँधेरी रातमा काखी च्यापेर भाग्दै घर छोडिन् । देश नै बैरी बनेर खेदेका दक्षिण भूटानका नेपाली भाषीहरू हूलका हूल भारत पसिरहेका थिए ।

छिमेकको भारतले बास नदिएपछि उनीहरू असुरक्षाको मतलवै नगरी दुईवटा अन्तर्राष्ट्रिय सीमा पार गर्दै नेपालसम्म आए । कहाँ पुगेर अडिने, थाहा—ठेगाना थिएन ।

शरणार्थी शिविरको शुरुका दिनको बास । अभाव यति थियो कि, आज पकाएको तरकारीमा दुई दिनसम्म झोल थपेर निस्तो गाँस निल्नु पर्दथ्यो ।

नानीहरूमा घाँटीबाट भातका गाँस पेटमा झरेको बाहिरबाटै देखिन्थ्यो । सम्झिन्छन्, “सहज मृत्यु खोज्दै हिँड्दा नेपाल आएकी हुँ ।” त्यो बेला दक्षिण भूटानमा खटिएको भूटानी सेनाले उठिबास लगाउने क्रममा धेरै महिलाको इज्जत लुटेको थियो ।

सेनाले बलात्कृत गर्दागर्दै मरेका महिलाको हृदय हल्लिने कथाको अर्को पात्र बन्नुपर्ला भन्ने त्रासले उनलाई भूटानबाट हिँडाएको थियो ।

शिविरको वास, अभाव थियो, तर चिनारु र आफन्तहरू छेउछाउ थिए । ठूलो कुरा त दुवै सन्तान काखमा थिए । तर, त्यो पनि धेरै दिन रहेन । सन् २००८ को शुरुदेखि मानवीय सहायता स्वरूप भूटानी शरणार्थीहरू पश्चिमी मुलुक पुनर्वासमा जानथाले ।

शिविरमा खुलेको स्कूलमा छोराछोरीले साउँ अक्षर चिने । पढ्दै गए । अलिअलि राजनीतिक चेत पसेका ओमनाथ कुन योजनामा भूटानसम्म पुगे र कसरी पक्राउ परे, आमा डम्बरकुमारी र बहिनी धनमायालाई थाहा छैन ।

जब ओमनाथ भूटानको जेलमा भएको थाहा लाग्यो, डम्बरकुमारीले मानव अधिकार समुदायलाई हारगुहार गरिन् । अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) ले केही पहल गर्नथाल्यो । सन् २००९मा पहिलोपटक छोरो भेट्न उनी आईसीआरसीको मद्दतमा भूटान पुगिन् ।

कडा निगरानीका बीच उनले थिम्पूस्थित चेम्गङ्ग केन्द्रीय कारागारमा छोरालाई भेटिन् । दुई दिनसम्मको त्यो भेटघाटपछि मनमा केही सन्तोष त भयो । तर क्रूर शासकको पञ्जाभित्रबाट उनी फुत्किने हुन्, होइनन् थाहा छैन ।

ओमनाथलाई कुन अभियोगमा, कहिलेसम्मको कारागार सजाय सुनाइएको हो, थाहा दिइएको छैन । बितेको १२ वर्षमा यसरी कयौंपटक आमा डम्बरकुमारी र बहिनी धनमायाले आईसीआरसीको मद्दतमा भेटे ।

तर, सन् २०१७ पछि भने आईसीआरसीले यस्तो भेटघाटको प्रबन्ध मिलाइदिएको छैन । थिम्पूको जेल भ्रमण गर्दा डम्बरकुमारीले छोरो ओमनाथका साथमा २४ जना यस्ता नेपालीभाषी भूटानी कैदीलाई भेटिन् जसका अभिभावक र आफन्त झापा र मोरङका भूटानी शरणार्थी शिविरमा थिए ।

परिवारको सहोदर सदस्य भूटानी कारागारमा रहेका कारण डम्बरकुमारी जस्ता अभिभावकहरूले पुनर्वासमा तेस्रो देश जान इच्छा राखेनन् । गत पुसदेखि भूटानी शरणार्थीलाई राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले दिने सहायता पनि बन्द गरिदिएको छ ।

कपाल फुलेकी आमा डम्बरकुमारीलाई छोडेर तेस्रो देश जाने इच्छा छोरी धनमायामा पनि पलाएन् । उनी पनि काखे छोरो पिटर क्षेत्रीलाई लिएर आमाका साथमा बेलडाँगी २ शरणार्थी शिविर सेक्टर सी ३ छाप्रो नं. १०४ मा बसेकी छिन् ।

उनका श्रीमान् ज्योति अष्ट्रेलियाको क्विन्सल्याण्डमा पुनर्वास भएका छन् । ज्योतिका दाजु (धनमायाका जेठाजु) बिर्खबहादुर क्षेत्री पनि चेम्गङ्ग केन्द्रीय कारागारमा कैदी जीवन बिताइरहेका छन् ।

डम्बरकुमारीका चार दाजुभाइ र तिनका सन्तानहरू पनि अमेरिका र यूरोपका विभिन्न मुलुकमा छरिएका छन् । छोरी धनमायाको परिवारका पनि बाँकी सबै आफन्त पुनर्वास भइसके ।

दमको रोगी डम्बरकुमारीका हरेक दिन टोलाएर बित्छन् । विदेशबाट आफन्तले पठाइदिएको आइप्याडमा नाति पिटरलाई छोरो ओमनाथको फोटो निकाल्न लगाउँछिन् । छोरोको फोटोको अनुहार पुछिरहन्छिन् ।

२४ साउन दिँउसो २ बजेसम्म उनले विहानको खाना खाएकी थिइनन् । आँसु पुछ्दै भनिन्, “गाँसैपिच्छे यसको सम्झनाले रुवाउँछ ।” (बेलडाँगी शरणार्थी शिविर, झापाबाट) 

प्रतिकृया दिनुहोस