नेपालले ओमानमा टी–२० क्रिकेट खेल्ने
नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेट संघले आगामी १८–२३ असोजमा सञ्चालन गर्ने उक्त प्रतियोगितामा नेपालसँगै आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले १९ असोजमा हङकङसँग पहिलो खेल खेल्नेछ । यस्तै २० असोजमा नेदरल्याण्डसँग, २२ असोजमा आयरल्याण्डसँग तथा २३ असोजमा आयोजक ओमानसँग खेल्नेछ । उक्त प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरिएको छ ।
ओमान क्रिकेट सङ्घले पहिले नै आयोजना गर्ने भनेर तय गरेपनि नेपालले विश्वकप छनोटको यात्रा तय गर्न नसकेपछि खेल्ने की नखेल्ने भन्ने अन्योलता थियो ।
आईसीसीले उक्त प्रतियोगिता खेल्न अनुमती दिएपछि नेपालले खेल्ने पक्का भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) आइसीसीको निलम्बनमा परेको छ । नेपालले अन्तरराष्ट्रिय स्तरमा सहभागिता जनाउने सबै प्रतियोगिता आइसीसीको रेखदेखमा हुँदै आएका छन् ।