खेलकुदबिहिबार, २३ श्रावण , २०७६

ग्लोबल टी–२० मा सन्दीप आवद्ध टीमले गरे पारिश्रमिकका लागि आन्दोलन

हिमालखबर

क्यानडामा जारी टी–२० क्रिकेटमा पहिलो चरणको खेल बुधबार राति सवा १० बजे शुरु हुने तालिका थियो । तर, खेल दुई घण्टा ढिलोगरी शुरु भयो।

इएसपीएनले टस हुन नै ढिलो भइरहेको भनेर लेख्यो, झण्डै दुई घण्टासम्म । धेरैले भने पानी परेकाले खेल हुन नसकेको अनुमान लगाए । किनभने क्रिकेटमा खेल रोकिनासाथ पानी कारण भएको देखिदै आएको छ ।

फेरि बुधबारको खेल नेपाली क्रिकेट समर्थका लागि चासोमा थियो ।

किनभने, नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आवद्ध टीम टोरन्टो नेशनल्स्को अन्तिम खेल थियो । यो खेल जितेमा सन्दीप आवद्ध टीम टोरन्टो ६ अंकका साथ प्लेअफमा जाने थियो । पराजित भएमा बाहिरिने पक्का थियो ।

खेल टोरन्टो नेशनल्स्ले नै जित्यो पनि । ३५ रनले मोन्टेरियल टाइगर्स पराजित भयो ।

तर, खेल ढिलो हुनुको कारण भने बिस्तारै खुल्दै गएको छ । एजेन्सीहरुले स्रोतसलाई उल्लेख गर्दै लेखेको समाचारअनुसार बुधबार रातिको खेल ढिलो हुनुमा आर्थिक कारण रहेछ ।

खेलाडीहरुले पाउनुपर्ने पारिश्रमिक नपाएपछि दुवै टीमका खेलाडी आन्दोलनमै उत्रिए । नेतृत्व भने टोरन्टो नेशनल्सका कप्तान युवराज सिंहले गरेका थिए ।

ग्लोबल टी–२० मा सन्दीप लामिछाने टोरन्टो नेशनल्समा ६० हजार डलरमा अनुबन्धित भएका हुन् भने सोमपाल कामी विनिपेग हक्समा तीन हजार डलरमा अनुबन्धित भएका छन् ।

प्रतिकृया दिनुहोस