सन्दीप आवद्ध टीम टोरन्टो प्लेअफमा
ग्लोबल टी–२० मा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टीम टोरन्टो नेसनल्स प्लेअफमा प्रवेश गरेको छ ।
बुधबार राति सकिएको खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै टोरन्टो प्लेअफमा प्रवेश गरेको हो । टस जितेर फिल्डिङ रोजेको टाइगर्सलाई टोरन्टोले १९० रनको लक्ष्य दिएको थियो । तर, टाइगर्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो ।
टोरोन्टोको जितमा मिचेल मेग्क्लेनघन र क्रिस ग्रीनले समान ३–३ विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट लिए । तीन ओभर बलिङ गरेका सन्दीपले २५ रन खर्चिए । सन्दीपले लगातार तीन खेलमै एक÷एक विकेट लिइरहेका छन् । तर, अघिल्लो पटकजस्तो जम्न भने सकेका छैनन् ।