कला/साहित्यमंगलबार, २१ श्रावण , २०७६

'आखिर केमा अडिएको छ यो आकाश?'

याज्ञवल्क्य जस्ता डेरिडा (पुस्तक)

हिमालखबर

–टीका ढकाल

‘महर्षियाज्ञवल्क्यः’ नाटक पढिरहँदा, अक्षर अर्थात् क्षय नहुने रचनाको अविनाशत्वका बारेमा याज्ञवल्क्यको सिद्धान्त हाम्रो समयका दार्शनिक ज्याक डेरिडाको व्याख्या जस्तो लाग्दछ।

टीका ढकाल

शताब्दी पुरुष सत्यमोहन जोशी चिनाइरहनुपर्ने नाम होइन । सत्यसँग आकर्षक सम्मोहन हुन्छ, जसले शायद सत्यमोहन पैदा गर्छ । सत्यमोहनको कलमले चाहिं निरन्तर आश्चर्य पैदा गरिरहन्छ । पंक्तिकारले अनुभव गरेको त्यस्तै पछिल्लो आश्चर्यमाथि यहाँ थोरै चर्चा गर्ने प्रयास छ, त्यो पनि निकै बल गरेर जुटाएको ।

करीब दुई साताअघि भारतको दशदिने यात्राबाट फर्किनासाथ काठमाडौंमा सत्यमोहन जोशीको नयाँ पुस्तक हात लाग्यो, संस्कृत भाषामा लेखिएको ।

संस्कृत भाषाबारेको पंक्तिकारको जम्माजम्मी ज्ञान भनेको पारिवारिक विरासतमा प्राप्त करीब पैंतीस वर्षअघिको दुईवर्षे प्राथमिक अध्ययन हो, जो नेपाली र अंग्रेजीका कारण करीब करीब विस्मृतिमा पुगेको छ। कनिकुथी एकाध पृष्ठ बुझ्ने चेष्टामा १३४ पृष्ठको यो कृति छिचोल्न करीब दश दिन लाग्यो । पुस्तक थियो नाटक ‘महर्षियाज्ञवल्क्यः’ ।

यस नाटकले कुनै पनि जिज्ञासुलाई दुई कारणले प्रारम्भिक रूपमा आकर्षित गर्छ ।

पहिलो, नेपाली भाषामा उपलब्ध संस्कृत ग्रन्थका अनुवादहरूमध्ये कुन कृति मूल पाठबाट सोझै र कुनचाहिं हिन्दी अनुवादबाट साभार हुन् भन्ने छुट्याउन सकिंदैन । अधिकांश कृतिहरू कर्मकाण्डलाई सघाउन संस्कृतबाट नेपालीमा अनूदित छन् । दोस्रो, नेपाली भाषाबाट संस्कृतमा अनुवाद हुने रचनाहरू अत्यन्त थोरै छन् जसमध्ये ‘महर्षियाज्ञवल्क्यः’ नाटक एक हुन गएको छ । यसरी ‘उल्टो गङ्गा’ सफलतापूर्वक बगाएकै कारण यो पुस्तकले खिचेको हो भन्न संकोच मान्नु पर्दैन ।

२०२८ सालतिर वागमती किनारको पचलीघाटमा काजी हंसमान सिंहको उपस्थितिमा पण्डित जयदेव पौड्यालले ‘आत्मपुराण’ विषयमा दिएको प्रवचन सुनेर प्रभावित भई ‘दैलाको बत्ती’ शीर्षकमा पूर्णाङ्की नाटक लेखेको र त्यसैको सुधारिएको स्वरूपमा यो नाटक तयार गरिएको लेखकले आफ्नो भूमिकामा स्पष्ट गरेका छन् । नेपाली स्वरूपबाट संस्कृत भाषामा अनुवाद गर्ने दुरुह कार्यचाहिं संस्कृतका विद्वान रोहिणीराज तिमिल्सिनाले गरेका हुन्।

नेपालसँग जोडिएका प्राचीन ऋषिहरूलाई सम्झँदा याज्ञवल्क्यको नाम अग्रपंक्तिमा उल्लेख गर्नैपर्छ । उनको जन्म कहाँ भएको थियो भन्नेमा एकभन्दा बढी मत भए पनि याज्ञवल्क्य स्मृतिमा उल्लिखित ‘मिथिलास्थः स योगीन्द्रः क्षणं ध्यात्वा वचोव्रवीत्’ (मिथिलालाई कर्मक्षेत्र बनाई ध्यान गर्ने योगी) भन्ने श्लोकले उनको कर्मथलो मिथिला रहेको प्रष्ट हुन्छ । यद्यपि नाटकले भने उनको जन्मभूमि पनि जनकपुर आसपास रहेको आभास दिन्छ ।

फरक फरक वैदिक साहित्य र कालखण्डमा याज्ञवल्क्य नामको उल्लेख भएबाट केही अन्योल पनि हुनसक्छ । शुक्लयजुर्वेदको शतपथब्राह्मण लेख्ने प्रथम याज्ञवल्क्य थिए । भारतीय विद्वान बालगंगाधर तिलकको ‘वेदकाल निर्णय’ पुस्तकका अनुसार शुक्लयजुर्वेदकोे समय करीब ४६०० वर्षअघि हुनुपर्छ, जसलाई खुट्याउन उनले अनेक दृष्टान्त प्रस्तुत गरेका छन् ।

त्यसपछिका ग्रन्थहरूमा जनकपुर बसेर ‘बृहदारण्यकोपनिषद्’ लेख्ने मिथिलाकालीन याज्ञवल्क्यको उल्लेख छ । जोशीको नाटकका नायक यिनै याज्ञवल्क्य हुन् । तेस्रा याज्ञवल्क्य महाभारतकालीन देखिन्छन् । प्रत्येक कृतिका बीचमा कम्तीमा करीब एक हजार वर्षको फरक भएकाले यी तीन याज्ञवल्क्य पृथक् व्यक्ति थिए भनी मान्नुपर्ने हुन्छ ।

दार्शनिक–सभा
कमला नदीको किनारमा अवस्थित आश्रममा सपरिवार बसोबास गरिरहेका महर्षि याज्ञवल्क्यका पिता देवरात आफूले बनाएको दूरदर्शन यन्त्रको परीक्षण गर्दैगर्दा नाटकको पहिलो दृश्य खुल्छ । आधुनिक ज्ञानले इसापूर्व पाँचौं शताब्दीका ग्रीसेली गणितज्ञ थेलिजलाई पहिलो प्रामाणिक वैज्ञानिक मान्छ ।

वैदिक मिथकले चाहिं उनीभन्दा करीब ३०० वर्षअघि नै याज्ञवल्क्यका शिक्षक ऋषि ‘उद्दालक आरुणी’ ले दूरबिन आविष्कार गरेको मत प्रस्तुत गर्दछ। मिथकीय सत्य र तार्किक सत्य (ग्रीसेली जडशब्द– मिथोस र लोगोस) बीचको फरक एवम् सन्निकटता बारे पश्चिमका दार्शनिकहरू बर्ट्रन्ड रसेलदेखि जोन्स होस्पर्स र पूर्वका विवेकानन्ददेखि स्वामी प्रपन्नाचार्यसम्मका व्याख्यान छन् । फरक विषयको छोटो लेखमा सबैको चर्चा सम्भव छैन ।

कतिचाहिं सारमा भन्नुपर्छ भने आधुनिक दर्शनशास्त्रले मिथकमा विद्यमान सत्यापनको सम्भावनालाई खारेज गर्दैन । श्रुति परम्पराबाट सुरक्षित भएकाले सबैतिरका मिथकमा अतिशयोक्तिको तत्व हुन्छ, जसलाई घटाएर रहने शेषबाट सत्यसम्म पुग्न सकिन्छ ।

नेपालसँग जोडिएका प्राचीन ऋषिहरूलाई सम्झँदा याज्ञवल्क्यको नाम अग्रपंक्तिमा उल्लेख गर्नैपर्छ । उनको जन्म कहाँ भएको थियो भन्नेमा एकभन्दा बढी मत भए पनि याज्ञवल्क्य स्मृतिमा उल्लिखित ‘मिथिलास्थः स योगीन्द्रः क्षणं ध्यात्वा वचोव्रवीत्’ (मिथिलालाई कर्मक्षेत्र बनाई ध्यान गर्ने योगी) भन्ने श्लोकले उनको कर्मथलो मिथिला रहेको प्रष्ट हुन्छ । यद्यपि नाटकले भने उनको जन्मभूमि पनि जनकपुर आसपास रहेको आभास दिन्छ ।

खगोल विज्ञानमा रुचि राख्ने देवरात पत्नी सुरुपा र छोरा याज्ञवल्क्यलाई यन्त्रबाट ध्रुवतारा र सप्तऋषिमण्डल देखाउँदै भन्छन्— ‘आउँदो माघमा लाग्ने सूर्यग्रहण हेर्न बनाएको यन्त्र हो । त्यसबेला हामी सबै जना कमला नदीको मुहान भएको महाभारत पहाडतिर जाउँला र ग्रहण अवलोकन गरौंला ।’

प्रत्युत्तरमा याज्ञवल्क्यले झनै चकित बनाउँछन्– ‘म चाहिं आत्मावलोकन यन्त्र अर्थात् मनुष्यको सूक्ष्म आत्मालाई हेर्न सकिने यन्त्र बनाउन चाहन्छु । यति टाढा अन्तरिक्षमा रहेका पिण्डहरू यन्त्रको सहायताले सुस्पष्ट हेर्न सकिन्छ भने आफैंभित्रको सूक्ष्मात्मा हेर्न मिल्ने यन्त्र बनाउन कसो सम्भव नहोला त ?’ यही महत्वाकांक्षाबाट उनको ज्ञानमीमांसा प्रारम्भ हुन्छ ।

नाटकले प्राचीन मिथिला नगरी र नेपाल उपत्यकाबीचको मित्रवत् एवं धार्मिक–सांस्कृतिक सम्बन्धमाथि प्रकाश पार्छ । हलोले जोतेर होइन, कोदालोले खनेर कृषिकार्य गर्ने मानिसहरू बस्ने, पशुपतिनाथको मन्दिर रहेको नगरका रूपमा देवरातले आफ्ना छोरा याज्ञवल्क्यलाई नेपालमण्डलको परिचय गराएका छन् ।

दोस्रो दृश्यमा गुरु वैशम्पायनसँगको मतभेदपछि याज्ञवल्क्यले सूर्यको उपासनाबाट ज्ञान आर्जन गर्दछन् । तेस्रो दृश्यमा राजा जनकको महीनौं लामो आध्यात्मिक यात्रा कालीगण्डकी, मुक्तिक्षेत्र, गोसाइँकुण्ड हुँदै पशुपतिनाथबाट सिन्धुलीगढीको बाटो झरेर जनकपुरसम्म हुने र त्यसपछि दरबारमा विशेष शास्त्रार्थ हुने जानकारी छ । यही दृश्यमा जीवात्मा र परमात्माबीचको भिन्नता वा एकरूपताबारे राजा जनकलाई याज्ञवल्क्यको उपदेश छ ।

याज्ञवल्क्यसँग जोडिएका अनेक मिथकीय प्रसंगलाई आकर्षक संवादमा प्रस्तुत गरिएको नाटकको चौथो दृश्य सबैभन्दा महत्वपूर्ण छ, जसमा राजा जनकको दरबारमा अनेकौं ज्ञानीहरूलाई शास्त्रार्थका लागि आमन्त्रण गरिएको छ । ब्रह्मसभा भनिएको भेलामा राजर्षिको निम्तो स्वीकारेर छिमेकी देशहरू कुरू, पाञ्चाल, कोशल, अयोध्या लगायतबाट विद्वानहरू उपस्थित छन् ।

सभामा वादविवादद्वारा आफूलाई श्रेष्ठ सावित गर्ने विद्वानलाई सिङमा सुन जडित गहनाले सजाइएका एक हजार गाई पुरस्कारको व्यवस्था छ । पुरस्कारमाथि शुरूमा नै दाबी पेश गर्दै याज्ञवल्क्य अन्य विद्वानलाई प्रश्नका लागि उक्साउँछन् ।

महाविवाद शुरू हुन्छ । राजगुरु अश्वल पहिलो प्रश्न गर्छन् । जवाफसँगै प्रश्नको बाढी आउँछ । भुज्यु, उद्दालक, जारत्कारव, उशस्त, चाक्रायण, कहोल, गार्गी, शाकल्य, प्रियदत्त, विपीत, सोमश्रवा– एक से एक विद्वान उपस्थित छन् र सबैका प्रश्न दार्शनिक तथा गहन छन् ।

उपशीर्षक ‘दार्शनिक नाटक’ राखिएको कृतिको यस दृश्यमा अत्यन्त उच्चस्तरको बहस छ । आजको विज्ञानले पनि खुट्याउन सकेको छैन कि सृष्टिको प्रारम्भ पदार्थबाट भयो वा चेतनाबाट । सिद्धान्त र व्यवहारबीचको द्वन्द्व मानव सभ्यताको शुरूआतदेखि नै उपस्थित छ ।

आर्तभागसँगको संवादमा ग्रह र अतिग्रह बारेको बहस छ जुन विस्तारै शरीरका अंगहरूको काम अर्थात् आजको विज्ञानले भन्ने ‘एनाटोमी’ सम्म पुग्छ । त्यही संवादको बृहत्तर अंश व्याख्या गर्ने बृहदारण्यकोपनिषदमा पृथ्वी पानीमय रहेको याज्ञवल्क्यले उल्लेख गरेका छन् । हुन पनि पृथ्वीमा दुईतिहाइ त पानी नै छ ।

शून्यको सत्ता
याज्ञवल्क्यको सबैभन्दा रोचक संवाद गार्गीसँग छ । गार्गी प्रश्न गर्छिन्– देव र पृथ्वीलोकबीचको जगत केमा व्याप्त (अडिएको) छ ?

‘आकाश, अर्थात् शून्यमा अर्थात् अन्तरिक्षमा ।’
‘त्यो आकाशचाहिं केमा व्याप्त छ ?

‘आकाश (शून्य) मा अविनाशी तत्व छ । त्यसको प्रशासन र नियमका अक्षरले सूर्य, चन्द्र आदि ग्रहलाई व्याप्त गर्दछ । त्यस शून्यको एउटा सूक्ष्म अंश मानवमा विद्यमान हुने चेतना हो । मानिसको मृत्युपछि त्यो चेतना त्यही शून्यमा विलीन हुन्छ ।’

‘आकाश (शून्य) मा अविनाशी तत्व छ। त्यसको प्रशासन र नियमका अक्षरले सूर्य, चन्द्र आदि ग्रहलाई व्याप्त गर्दछ। त्यस शून्यको एउटा सूक्ष्म अंश मानवमा विद्यमान हुने चेतना हो। मानिसको मृत्युपछि त्यो चेतना त्यही शून्यमा विलीन हुन्छ।’

मानव विज्ञानले गुरुत्वाकर्षण वा सापेक्षतावादको सिद्धान्तलाई धेरैपछि अन्वेषण र नामकरण गर्न सक्यो । याज्ञवल्क्यले गार्गीलाई दिएको यो जवाफमा आधुनिक सिद्धान्त निकटको व्याख्यान पाइन्छ । नाटकको शुरूआतमा प्रस्तुत खगोलविज्ञानप्रतिको चासोलाई चौथो दृश्यका अनेकानेक दार्शनिक प्रश्नोत्तरले पुनर्पुष्टि गरिदिएका छन् ।

गार्गीलाई याज्ञवल्क्यले प्रश्न गर्न रोकेको बृहदारण्यकोपनिषदमा उल्लिखित प्रसंगलाई आजका धेरै लेखकले प्रयोग गर्छन् । तर त्यो आधा यथार्थ मात्रै हो । थप के हो भने गार्गीका अप्ठ्यारा प्रश्नले दिमाग चक्कराउन थालेपछि उम्किन याज्ञवल्क्यले प्रयोग गरेको चतुर्‍याइँलाई बुझेर गार्गी फेरि विद्वत् सभासँग दुई प्रश्न सोध्ने अनुमति माग्छिन् । सभाले अनुमति दिन्छ ।

त्यसबाट पनि पुरुष सत्ताले गार्गीलाई प्रश्न गर्नबाट रोकेको मान्न सकिने आधार छैन । बरु प्राचीन समाजमा लैंगिक वा जातीय विभेद थिएन भन्ने तथ्यलाई नाटकले स्थापित गर्छ, जसको स्रोत फेरि पनि बृहदारण्यकोपनिषद् हो ।

अक्षर अर्थात् क्षय नहुने रचनाको अविनाशत्वका बारेमा याज्ञवल्क्य सिद्धान्त हाम्रो समयका दार्शनिक ज्याक डेरिडाको व्याख्या जस्तो लाग्दछ । शून्यमा लेखिने अक्षर नै अमर र अविनाशी सत्य हो भन्ने विषयमा प्राध्यापक अभि सुवेदीले ‘जन्तरे दाजु र डेरिडा’ शीर्षकको लेख मार्फत २०६० सालमै डेरिडाको विनिर्माणवाद बुझाइसकेका हुन् ।

नाटकमा जम्मा सात दृश्य छन् । याज्ञवल्क्यको किशोरावस्थाबाट शुरू भएर संन्यास आश्रम प्रस्थानमा नाटक समाप्त हुन्छ । नेपाली भूगोल र संस्कृतिका अनेक पक्ष पौराणिकतासँग जोडिएकाले नाटकको महत्व थप स्थापित हुन्छ ।

याज्ञवल्क्य जस्तै नेपाली भूगोलसँग जोडिएका धेरै दार्शनिकहरूको बारे लेखिनै बाँकी छ । तर, इतिहासको गाथाले मात्र भविष्य निर्माण हुन सक्दैन । हाम्रो ज्ञान परम्पराले सिकाएको आदर्श र नैतिकतालाई आजको व्यावहारिकतासँग जोड्न सक्नु आजको समयको सबैभन्दा ठूलो चुनौती हो ।

संस्कृतमा अनूदित कृतिमा नेपाली मूलपाठ समेत राखिएको भए जिज्ञासु पाठकका लागि पुस्तक सहज हुन्थ्यो । मिथक र पौरस्त्य चिन्तनमा चासो राख्ने सबैका लागि नाटक संग्रहणीय छ । शताब्दीपुरुष जोशीको १००औं जन्मदिनका अवसरमा गएको ३० वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेको कृति आफैंमा ऐतिहासिक छ ।

 

 

प्रतिकृया दिनुहोस