संविधान संशोधनको पक्षमा उभिन बाध्य छैनौंः राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान संशोधन प्रस्ताव ल्याउने बेलामा आफूहरुसँग परामर्श नगरिएकाले त्यसको पक्षमा उभिन नैतिक बन्धन नरहेको निष्कर्ष निकालेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धूम्रवाराहीस्थित पार्टी कार्यालयमा २७ मंसिरमा बसेको बैठकले संविधान संशोधन विधेयकले प्रदेश नं ५ का जनताको भावनामा असर पु¥याएको, मधेसी मोर्चा र प्रमुख प्रतिपक्षदललगायतलाई असन्तुष्टि बढाएको भन्दै नयाँ शिराबाट दलहरुकाबीच समझदारी कायम गर्नुपर्ने माग गरेको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
बैठकमा स्थानीय तहको पार्टी एकीकरणको प्रतिवेदनअनुसार ५५ जिल्लामा एकीकरण भएको, १२ जिल्लामा विवादका कारण एकीकरण हुन नसकेको र आठ जिल्लामा एकीकरण गर्न बाँकी रहेको जानकारी गराइएको छ ।
विवादित जिल्लामा राप्रपा र राप्रपा नेपालका नेताले एक÷एक महिनाको समय अवधिमा आलोपालो प्रणालीबाट नेतृत्व लिने निर्णय बैठकमा भएको छ ।
३० मङ्सिरदेखि आगामी ९ पुससम्म तत्कालीन ‘पाँचै विकास क्षेत्र’मा क्षेत्रीय बैठक र आमसभा गर्ने निर्णय पनि बैठकले गरिएको जनाएको छ ।
यसअघि एक समारोहमा अध्यक्ष थापाले “समस्याको समाधान गर्ने थलो संसद् हो, प्रमुख प्रतिपक्षदललगायत दलले त्यसलाई अवरोध गर्न हुँदैन्” भन्दै मुलुकमा संविधान जारी भएपछि अब देश नयाँ चरणमा प्रवेश गरेको र संविधानले सबैका अधिकारलाई स्थापित गरेकाले यसले निर्दिष्ट गरेको विधि र प्रक्रियाबाट विद्यमान समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका थिए ।
चलचित्र अभिनेत्री रेखा थापालाई पार्टीको सदस्यता प्रदान गरी उनको राजनीतिक सफलताको कामना गर्दै उहाँले क्षमताका आधारमा जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।रासस