ग्लोबल टी–२० मा सोमपालको पनि 'डेब्यू'
क्यानडामा जारी ग्लोबल टी–२० मा नेपालका अलराउण्डर सोमपाल कामीले पनि 'डेब्यू' गरेका छन् ।
तर, सोमपालले डेब्यू खेलमै राम्रो प्रदर्शन गर्न सकेनन् । विनिपेक्स हक्सले एडमन्टन रोयल्सविरुद्धको खेलमा सोमपाललाई डेब्यूको अवसर दिएको थियो । आठौं नम्बरमा आएका सोमपालले ५ वलमा नटआउट रहँदै १ रन मात्रै जोडे ।
बलिङमा पनि सोमपाल जम्न सकेनन् । सोमपालले दुई ओभरमै ३३ रन खर्चिए ।
ग्लोबल टी–२० मा दोस्रो पटक खेलिरहेका सन्दीप लामिछानेले पनि खासै राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दीपले चार ओभरमा ४४ रन खर्चिएर एक विकेट मात्रै लिए । सन्दीप र सोमपाल दुवैको टीम पराजित भयो ।