अन्तर्वार्ता/विचारआइतबार, १९ श्रावण , २०७६

'जो डर गया वो मर गया !' (समाजवाद–विमर्श)

हिमालखबर

–प्रदीप गिरि
समाजवाद भयंकर अलमलमा परेको छ । प्रचण्ड (पुष्पकमल दाहाल) को बेग्लै समाजवाद, ओली (केपी ओली) को बेग्लै । दुवैबाट उछिट्टिएका बाबुराम भट्टराईको झन् बेग्लै समाजवाद । बाबुराम झन् यिनीहरू भन्दा विद्वान् मानिन्छन्, पीएचडी गरिसकेका । हाम्रा शेरबहादुर देउवाले त झन् बेलायतमै पढेर आएको। उहाँभन्दा पार्लियामेन्ट डेमोक्रेसीका बारेमा जान्ने को ?

पार्लियामेन्टको जननी लन्डन, सारा समाजवादी निस्किएका लन्डन स्कूल अफ इकोनोमिक्सबाट । हो, देउवा त्यहींबाट पढेर आएका । कोहीभन्दा कोही कम छैनन्, नेकपा होस् वा कांग्रेस । दुवै पार्टीमा पीएचडी होल्डर बराबर छन् । सबै समाजवाद भनिरहेका छन् । के हो यो ? श्रोता, पाठकलाई अलमल लाग्नु स्वाभाविक हो । यो बुझ्न जरुरी छ ।

हो, यहींनेर पुष्पलाल र बीपीलाई सम्झन आवश्यक छ । समाजवादलाई बुझ्न पहिलो कुरा बीपी र पुष्पलालको जीवन बुझ्दा हुन्छ । उहाँहरूको जीवन बिल्कुल समाजवादी थियो, मार्क्सको जस्तै थियो । श्रीमतीले माइतीबाट पाएको दाइजो खर्च गर्दै ब्रिटिस लाइब्रेरी र ब्रिटेनको मात्रै नभएर विश्वकै सर्वश्रेष्ठ लाइब्रेरीमा बसेर दिनरात समाजवादको परिभाषा खोज्ने माक्र्सजस्तै पुष्पलालले पनि खाई नखाई सधैं समाजवादबारे साधना गरे । बीपीले पनि सम्पूर्ण जीवन त्यसमा लगाए ।

तर, दुवै महानुभावले सोभियत संघको विघटन देख्नुभएको थिएन। दुवै महानुभावलाई कम्प्युटरको यस्तो बृहत् आगमन थाहा थिएन । दुवै महानुभावले भूमण्डलीकरणको अर्थ बुझ्नुभएको थिएन । अहिलेको स्मार्टफोन दिएको भए उनीहरू त खुत्रुक्कै हुन्थे ।

यो हामीले बिर्सनु हुँदैन । बितेका झण्डै ३० वर्षपछिको समय हो । त्यसपछि उहाँहरूलाई बुझ्नुस् । उहाँहरूको वाक्य रटेर, उहाँहरूको सूत्र रटेर हुँदैन । ३० वर्ष सानो समय हो । तर, यो तीस वर्षको दर्मियानमा सय वर्षमा नभएको परिवर्तन भएको छ । यो स्मार्टफोन हो, जहाँ बसीबसी दुनियाँको तमासा देख्न सक्नुहुन्छ ।

हामी केटाकेटी हुँदा ‘बम्बईका घोल देखो’ भनेर आउने ‘बाइस्कोप’ देखेर उनीहरू हुर्केका थिए । यो बुझ्न जरुरी छ । बीपीका नाममा होस् वा पुष्पलालजीको नाममा बनाइएका शास्त्र र ती शास्त्र भट्याउने नेताहरूसँग समाजवादी डराउनुपर्ने आवश्यकता छैन । एउटा प्रसिद्ध ‘शाेले’ भन्ने फिल्ममा ‘जो डर गया, वो मर गया’ भन्थ्यो । समाजवादको पहिलो परिभाषा हो– जो डर गया वो मर गया !

तपाईंको पार्टीनेतासँग डराउने, बजारमा पुलिससँग डराउने, घरमा गलत कुरा गरिराखेका आमाबाबुसँग डराउने समाजवादी हुन सक्दैन । आज भूमण्डलीकरणले गर्दा नेपालमा मुस्किलले एक खर्ब निर्यात गर्दा १३\१४ खर्ब आयात गरिरहेका छौं । प्रतिव्यक्ति माथि ऋण बढिरहेको छ ।

भूसालजीले राम्ररी भन्नुभयो, दलाल पूँजीवादको साठगाँठ छ । एकदमै सही छ । मोटरसाइकलको उदाहरण दिनुभयो, उहाँले । मोटरसाइकल एउटा एजेन्सी, बिजनेस ग्रुपले ल्याउँछ । हामीले केमा चित्त बुझउँछौं भने चारजनाले जागिर पाएको छ । मोटरसाइकल मात्रै होइन, हरेक क्षेत्रमा विदेशी लगानी लगाएको हुन्छ ।

हामी केटाकेटी हुँदा ‘बम्बईका घोल देखो’ भनेर आउने ‘बाइस्कोप’ देखेर उनीहरू हुर्केका थिए । यो बुझ्न जरुरी छ । बीपीका नाममा होस् वा पुष्पलालजीको नाममा बनाइएका शास्त्र र ती शास्त्र भट्याउने नेताहरूसँग समाजवादी डराउनुपर्ने आवश्यकता छैन।

यहाँ केही व्यक्तिले विदेशीका लागि लाइसेन्स दिलाए बापत पैसा कमाइरहेको हुन्छ । यो सत्य हो । यसलाई ३०\४० वर्षदेखि कम्युनिष्ट पार्टीले भट्याइराखेको छ । मलाई पूरै शंका छ । कम्युनिष्ट पार्टीका वरिष्ठ कार्यकर्ताले पनि दलाल पूँजीवादको अन्तर्य बुझेका छैनन् ।

पार्टीको समस्या बताउँदैछु– पार्टीका सदस्यलाई के लाग्छ भने मैले किन बुझ्नुपर्‍यो ? मेरो नेताले बुझेकै छ नि भन्ने लाग्छ । नेतालाई के लाग्छ भने यत्तिका वर्ष नबुझी चल्या छ भने घनश्यामले भन्दैमा बुझ्न आवश्यक छ ? उनीहरूलाई लाग्छ– ‘यो बडो टाठोबाठो भएर आउँदो रहेछ हिजोको बचेरा । म १२ वर्ष जेल पर्दा त पार्टीमै लागेको थिएन । यसले बुझोस् न । मलाई नबुझी भइरहेको छ ।’

यस्तो अवस्थामा घनश्याम भूसालले दुईवटा समाधान दिनुभयो । एउटा गलत, एउटा सही । केही पनि विकल्प छैन । पार्टीलाई बलियो बनाउन । अरे, चुनाव जितेर पनि बलियो वापवाप छ । चुनाव त जित्नुभयो, बलियो हुन कति कठिन छ आफैं हेर्नुस् न । पार्टीलाई बलियो बनाउने कुरा सिद्धियो ।

पाठशालालाई बलियो बनाउनुहोस् न । त्यसलाई घनश्याम भूसाल नागरिक समाज भन्छन् । हे भगवान्, हे कार्यकर्ता, हे साथी हो । हामीले पार्टीलाई बलियो बनाउन सक्ने जति बनायौं । दुई\तीन पटक दुई तिहाइ बहुमत पनि दिलायौं । तर, हाम्रो केही लागेन । कृपया तपाईंहरू बलियो बनेर देखाइदिनुहोस् । यस किसिमको प्रयास आवश्यक छ ।

आज विश्व क्रान्ति यस्तो चरणमा पुगेको छ । जहाँ राजनीतिक दलको भूमिकाको पनि परीक्षा हुँदैछ । पुष्पलाल र बीपीका जमानामा के थियो भने राजनीतिक क्रान्तिका लागि दल अनिवार्य छ भन्ने थियो । दल आज पनि चाहिन्छ । दल अनिवार्य शर्त हो, तर पर्याप्त शर्त होइन ।

आजको समाजवाद बनाउन चाहनुहुन्छ भने शहरशहरमा, गाउँगाउँमा पार्टीको मतभेद बिर्सिएर (कांग्रेस, कम्युनिष्ट, फोरमलाई बिर्सिनुस्) नागरिक एक भएर समूह संगठन बनाउनुस् ।

फ्रान्सेली राज्य क्रान्ति यसरी नै शुरु भएको थियो । त्यसलाई जेकुमिन क्लब भन्थे । बुझेको पढेको लडेको आधारमा भन्दैछु, अब क्रान्ति नयाँ चरणमा प्रवेश गरेको छ । हिजोको शैलीले क्रान्ति हुँदैन ।

दुईवटा शैली थियो। पुष्पलालले वकालत गरेको शैली, कम्युनिष्ट पार्टीको अगुवाइमा । नसके कम्युनिष्ट पार्टीको नेतृत्वमा तथाकथित सर्वहारा वर्गको अधिनायकत्वबाट समाजवादका दिशामा लम्कने ।

मलाई पूरै शंका छ । कम्युनिष्ट पार्टीका वरिष्ठ कार्यकर्ताले पनि दलाल पूँजीवादको अन्तर्य बुझेका छैनन् ।

बीपी लाइन थियो, संसदीय व्यवस्था नै सबथोक हो । ‘त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धुश्च सखा त्वमेव त्वमेव विद्या च द्रविणं त्वमेव’ । आज संसदीय व्यवस्था के भयो ? ‘त्वमेव सत्ता द्रविणं त्वमेव’ । दुई जनाको त्यागतपस्या, समर्पण र देनलाई सम्झनुहोस्, भयंकर देन थियो ।

उहाँहरूले हामीलाई बाटो देखाउनुभयो, ऊ त्यहाँ हिमालय छ । तिमीहरू हिमालयमा चढ है बाबु भन्नुभयो । यसलाई अर्को कवि (फना निजामी)ले भनेका छन्–
‘राह-बर-राह मुसाफिर को दिखा देता है
वहीं मंज़िल पे पहुँच जाए ज़रूरी तो नहीं’।

बीपी र पुष्पलालले समाजवादमा जाने लक्ष्य देखाइदिए हामीलाई ।

उनीहरूको देहावसानपछि दुनियाँ धेरै बदलियो। एकाएक बदलियो। उनीहरूले सोंचे भन्दा बढ्ता बदलियो । बीपीको देहान्तको सात वर्षपछि साेभियत संघको समाप्ति भयो । विश्वमा अमेरिकाको एकल साम्राज्यवाद कायम भयो ।

चीन लाजै नमानी पूँजीवाद निर्माणको बाटोमा गयो । अब जीन पीङले पीएचडी गरेको छ रे, इन्जिनियर रे । पेङ (देङ सिआयो पिङ)ले घोषणा गरेको १० वर्षमा अनिवार्य पद छोड्नुपर्छ भन्ने कुरा बदलियो ।

विश्व एउटा नयाँ चरणमा गएको छ । नयाँ चरणको भौतिक परिस्थितिको अध्ययन गरेर, लेनिनका शब्दमा भन्ने हो भने ठोस परिस्थितिको ठोस विश्लेषण गरेर समाजवादले नयाँ प्रस्तावना र नयाँ निष्कर्ष निकाल्नुपरेको छ । यो नै पुष्पलाल र बीपीको दर्शन हो ।

तिमीहरू लकिरको फकिर नबन मेरा शास्त्र नपल्टाइराख । हाम्रो जीवन हेर भनेर उहाँहरूले आजीवन भन्नुभयो । दुवैको लक्ष्य एउटै थियो समाजवादमा पुग्ने । तर, बाटाहरू फरक थिए । एउटाले संसदीय व्यवस्था नै सबै कुरा सम्झेका थिए, अर्काको निमित्त सशस्त्र संघर्ष ।

सशस्त्र संघर्षका पक्षधरलाई सम्झाउन चाहन्छु– सन् १९७५\७६ पछि संसारमा भएका अधिकांश आन्दोलन सशस्त्र संघर्षबाट सफल भएका छैनन् । साह पिरानलाई जब इरानका जनताले सडकमा आएर भगाए । जति पनि परिवर्तन भए । रुस, पोल्याण्ड, चेकोस्लाभाकिया, हंगेरीमा परिवर्तन भए। एक थोपा रगत बगेन ।

आजको समाजवाद बनाउन चाहनुहुन्छ भने शहरशहरमा, गाउँगाउँमा पार्टीको मतभेद बिर्सिएर (कांग्रेस, कम्युनिष्ट, फोरमलाई बिर्सिनुस्) नागरिक एक भएर समूह संगठन बनाउनुस् ।

हामीकहाँ माओवादीले ठूलो प्रतिबद्धताका साथ ठूलो बलिदान गरेर परिवर्तन ल्याउन खोजेको हो । उहाँहरूले पनि के महशुस गर्नुभयो कि जनआन्दोलनमा मिसिनै पर्छ । यो सानो शिक्षा छैन, यो देश सानो भयो ।

माओवादीले देखाउनुपर्ने दम्भ देखाएनन्, आफू प्रधानमन्त्री भएपछि क्रान्ति सफल भयो भन्ने भ्रममा बसे । तर, त्यो सानो आन्दोलन थिएन, त्यसलाई अवमूल्यन गर्नुहुन्न ।

घनश्याम भूसालले जसरी संसदीय व्यवस्थाको कटु आलोचना गर्नुभयो म त्यसमा सहमत छु । संसदीय व्यवस्थाको हामीले प्रयोग गरिसक्यौं, डेढ सय वर्ष । एक त हामी त्यसलाई विकृत रूपमा प्रयोग गरिरहेका छौं ।

संसदीय व्यवस्थाको उदाहरण भने पनि, माता भने पनि र प्रयोग गरे पनि बेलायती संसदीय व्यवस्था आजको उदाहरण हो । जुन, बेलायतको संसदीय व्यवस्थाको जानकारी हाम्रो नेतृत्व, पार्टी र जनतालाई छैन ।

हामी बेलायतको संसदीय व्यवस्था ल्यायौं भन्छौ तर, त्यहाँको परिपाटी र हाम्रो परिपाटीको अध्ययन गर्नुभयो भने के देखिन्छ त ?

जबर्जस्ती कुनै अर्को देशबाट ल्याएको बिरुवा रोप्नुभयो । त्यो बिरुवा लागेन । त्यसका ठाउँमा अर्को पोथ्रा उम्रियो । यही पोथ्रा नै चिया हो भनेर दूध र चिनी मिलाएर खायौं । अब दूध र चिनी मिलाएपछि तुलसीको पात खाए पनि भयो । दुवो खाए पनि भयो । जौको पात मिलाएर खाए पनि भयो ।

संसदीय व्यवस्थाको गुण हाम्रो संसदीय व्यवस्थामा छैन । बेलायतको संसदीय व्यवस्था गतिशील व्यवस्था छ । ५\७ वर्षमा कति नयाँ कानुन बनेको छ । नेपालमा आज संसदीय व्यवस्था त्वमेव सत्ता च द्रविणं त्वमेव भएको छ । लाखौं करोडौं खर्च गरेर सांसद बन्ने र सांसद बनेको भोलिपल्टबाट त्यो खर्चलाई अशुल गर्ने भएको छ ।

तर, राजनीतीकरण भनेको के हो ? यदि, आफूले आफ्नो आलोचना गर्दा, आत्मालोचना गर्दा, पार्टीको आलोचना गर्दा, नेताको आलोचना गर्दा तपाईंहरूले पो ताली बजाउनुहुन्छ । यो ठीक पनि हो, बेठीक पनि हो ।

तपाईंहरूले कहिल्यै आफूलाई हेर्नुभएको छ ? सालभरमा एक पटक सर्पको पूजा र कुकुरको पूजा गरेजस्तै ५ वर्षमा भोट दिएर तपाईंको दायित्व पुग्यो ?

जबर्जस्ती कुनै अर्को देशबाट ल्याएको बिरुवा रोप्नुभयो । त्यो बिरुवा लागेन । त्यसका ठाउँमा अर्को पोथ्रा उम्रियो । यही पोथ्रा नै चिया हो भनेर दूध र चिनी मिलाएर खायौं ।

हामीलाई त पुग्यो । पाँच वर्षमा आयौं । तपाईंको ढोकामा हात जोड्यौं । मासुरक्सी खुवायौं । तपाईं त महान मान्छे भन्यौं अनि भोट लियौं गयौं । हामीलाई त पुग्यो । तलब पनि आयो, पाँच वर्ष ।

तपाईंहरू पाँच वर्ष हातमा हात जोडेर बस्नुहुन्छ । संसदीय व्यवस्थालाई विकृत गराउने, भ्रष्ट गराउने र सही ठाउँमा नहिंडाउनेमा नागरिकको जिम्मेवारी पनि त्यतिकै छ । अब अहिलेको गतिरोध, अहिलेको विकृतिबाट नेताहरूले कुनै बाटो देखाउन सक्दैन ।

नेताहरूले खासमा कहीं पनि बाटो देखाउन सक्दैन । नामी कम्युनिष्ट कविले एउटा कवितामा लेखेको छ– ‘अभागी हो त्यो देश, जुन देशलाई नेता चाहिन्छ ।’

देश परिवर्तन गर्ने बेलामा हजारौं, लाखौंको संख्यामा तपाईंहरू सडकमा निस्कने अनि भोट दिने बेलामा चाहिं जसले सबभन्दा बढी खर्च गर्छ । जो सबैभन्दा बढी चोर छ, त्यसलाई जिताउने ? अब सोंच्नुपर्छ ।

अब हामी नयाँ मोडमा आएका छौं । सत्ताधारीले यो कुरा बुझे हुन्छ । सत्ताधारी हामी पनि छौं यहाँ । सत्ताधारी भनेर सांसदलाई मात्रै भनेको होइन, सबै हुने खाने, ठूलाठूला गाडी र घर भएका । ठूलो घर नभएका तर, जग्गा किनिसकेका हामीहरू छौं । हामीहरूले के बुझ्नुपर्छ भने कुनै पनि हालतमा दोस्रो महान् जनआन्दोलनको भावना अझै मरेको छैन । मानिस परिवर्तन खोज्दैछन्, मानिसहरूले प्रश्न गर्दैछन् ।

नेपाललाई अहिलेको व्यवस्थाले पुगेको छैन । सबैले प्रश्न गरिरहेका छन् । शिक्षकले, विद्यार्थीले, युवकले, प्राध्यापकले, खाएका र नखाएकाले प्रश्न गरिरहेका छन् । यसका लागि त परिवर्तन गरेको होइन, जुन परिवर्तनका लागि हामी हिंडेका थियौं । त्यो, यो परिवर्तन होइन ।

क्रान्तिकारी उर्दूका कवि (फ़ैज़ अहमद फ़ैज़)ले भनेका छन्– 
ये दाग़ दाग़ उजाला ये शब-गज़ीदा सहर
वो इंतिज़ार था जिस का ये वो सहर तो नहीं ।’

जुन बिहानी भनेर हिंडेका थियौं, यो त त्यो होइन । यस व्यवस्थाका लागि त हामीले क्रान्ति गरेको होइन त ।

कत्राकत्रा ख्वाब, कत्रा सपना ? माओवादी, एमाले र कांग्रेसले देखाए । स्वर्ण युग आउँछ जस्तो । यो पनि गर्छौं, त्यो पनि गर्छौं । जाँडरक्सी पनि चल्न दिन्नौं, अंग्रेजी स्कूल बन्द गर्छौं । माओवादीको नारा थियो । कांग्रेसको नारा पुरानो भइसकेको छ । सबैलाई खान पुग्छ । एउटा गाई हुन्छ, एउटा टहरो, घर हुन्छ ।

अहिलेको अवस्था के छ ? सांसद त बदलिएका छन्, प्रधानमन्त्री बदलिएको छ । तर, राज्यको संरचना ? अहिले पनि यत्रा संभ्रान्त मानिसहरू, नेताहरू एसपी, डीएसपी, सिडियोका अगाडि डराउनुहुछ । मालपोतको हाकिमले नियमानुसार काम गर्दा दुई हजार नदिई मान्दैन, नत्र टारिदिन्छ ।

उत्पादन र वितरण कैंचीका दुई धारजस्तै हुन् । उत्पादन पनि बढाउने वितरण पनि बढाउने । वितरण पनि बढाउने, उत्पादन पनि बढाउने ।

राज्यका जति पनि संरचना छन्, जति पनि वित्तीय संरचना छन्, तिनमा परिवर्तन आएको छैन । प्रहरी र सेना त भए भए । नेताहरूमा पनि मैत्रीको भाव छैन, आम जनताप्रति ।

यस परिस्थितिबाट मानिस बेचैन छन्, यस बेचैनीले सार्थक बाटो पाएन भने ? यसले सहज उत्तर पाएन भने ? के हुन्छ भन्न सकिन्न । सबै वस्तुस्थिति उस्तै छ । मान्छेको विदेश जाने प्रक्रिया रफ्तार उस्तै छ । उपभोक्तावादी जीवन उस्तै छ । एकदमै विलाशितामा डुबेको जीवन उस्तै छ। कहाँबाट सुधार भएको छ ।

अब कमसेकम राष्ट्रपति, प्रधानमन्त्री र विपक्षी दलका नेताको सादा जीवन भए, एउटा कुरा हुन्छ । यहाँ कस्तो छ भने अगाडि गाडी, पछाडि गाडी, अगाडि साइरन, पछाडि साइरन, माथि हेलिकोप्टर, तल गाडीको मुनिबाट पनि हेलिकोप्टर गुडाउनुपर्ने अवस्था आइसकेको छ । यही हो त समाजवाद ? यसमा र हिजोको शासनमा के फरक छ ?

अहिलेको अवस्था के छ ? सांसद त बदलिएका छन्, प्रधानमन्त्री बदलिएको छ । तर, राज्यको संरचना ? अहिले पनि यत्रा संभ्रान्त मानिसहरू, नेताहरू एसपी, डीएसपी, सिडियोका अगाडि डराउनुहुछ । मालपोतको हाकिमले नियमानुसार काम गर्दा दुई हजार नदिई मान्दैन, नत्र टारिदिन्छ ।

परिवर्तन दुईचार वर्षमा हुँदैन । धेरै टाढा नगई हाम्रो जीवन तपाईंहरूकै अगाडि छ । १ पुस २०१७ मा राजा महेन्द्रले कदम चाल्दा, के उमेर थियो मेरो ? के उमेर थियो शेरबहादुर र रामचन्द्रको ? त्यतिबेलै हामीले लगायौं त नारा– प्रजातन्त्र । नारा लगाएर जेल जाने मानिस जीवितै छन् ।

३० वर्ष लाग्यो, पञ्चायती व्यवस्थाको एकतन्त्रीय शासन समाप्त गर्न । त्यसपछि गणतन्त्र ल्याउन अर्को बीस वर्ष लाग्यो । जुन समाजवादको कल्पना मार्क्सले, बीपी र पुष्पलालले गर्नुभएको थियो, घनश्याम भूसालहरूले आफ्नो भाषामा भनिरहेका छन् ।

म वकालत गरिरहेको छु । त्यो आउन ५\१० वर्ष पर्याप्त छैन । तर, समाजवाद पनि एकदिन अनिवार्य रूपले आउँछ । त्यसका लागि सर्वाधिक उर्वरस्थल काठमाडौं हो ।

२५ सय वर्ष अघि जसरी यही नेपाली माटोबाट गौतम बुद्ध भन्नेले नयाँ जीवन दर्शन अगाडि ल्याएका थिए । त्यो दर्शन नेपाली माटोको हो । नेपालले आफूले मात्रै समाजवाद ल्याउँदैन । नेपालले ल्याएको समाजवाद भारतले पनि बुझ्छ । त्यो दिन नेपाल गुरु हुन्छ । राष्ट्रवादको कुरा गरेको होइन, नेपालले भारत र चीन दुवै देशबाट सिकेको छ । दुवैले गर्न नसकेको कुरा गरेको छ ।

मुख्य कुरा राजनीति हो । राजनीति भनेको तपाईंले तपाईंको ठाउँबाट गर्ने हस्तक्षेप हो । राजनीति भनेको ओली र झलनाथको झगडा होइन, शेरबहादुर र रामचन्द्रको तँछाडमछाड होइन । आज कांग्रेसका कार्यकर्ताले राजनीति भनेको देउवापट्टि लाख्ने कि पौडेलपट्टि लाग्ने भन्ने बुझेका छन्। नेकपामा त्यस्तै छ ।

पार्टी नेतासँग डराउने, बजारमा पुलिससँग डराउने, घरमा गलत कुरा गरिराखेका आमाबाबुसँग डराउने समाजवादी हुन सक्दैन ।

देशको तीव्र राजनीतीकरण भइरहेको छ । राजनीतीकरणको नाममा भागबण्डा भइरहेको छ । राजनीति भनेको प्रत्येक नागरिक, प्रत्येक एकाइ समिति, प्रत्येक व्यक्ति र संस्थानमा बढी भन्दा बढी आत्मनिर्भरता र कर्तव्यबोध आउनु हो । छ, हामीमा ?

५ वर्षमा एक पटक भोट दिने अनि १० वर्षमा एक पटक आन्दोलन गरेर हुँदैन । त्यो राजनीतिक कर्तव्य र अधिकारबोध गरेपछि मात्रै हामीले कल्पना गरेको समाजवादतर्फ पहिलो कदम चाल्छौं ।

अहिले त हामी पुरानै काम गरिरहेका छौं । पञ्चायत व्यवस्थामा राजाले ल्याएको अर्थनीति बोकेर हिंडेको छ । अर्थनीति मात्रै छैन, राजनीति पनि उस्तै छ । संघीय राज्य आइसकेपछि पनि सिडियोको चुरीफुरी किन चाहियो ? बरु, नगरपालिकाकै होस् न ।

तर, गाउँगाउँमा अधिकार गएको छ, प्रजातन्त्र र संघीय राज्यको ठोस कदम मान्दछु । संघीय राज्यलाई अधिकार दिन सबै एक हुनुपर्छ । अहिले अरुकै हातमा होला तर, पछि आफ्नो उम्मेदवारले जित्छ ।

मार्क्स र एंगेल्सले लेखेको हेर्दा के देखियो भने ‘यदि भौतिक परिस्थिति परिपक्व भयो भने मेशिनबाट भएका उत्पादनहरूले जीवनका सबै साधन पूरा गरिदिए भने समाजवाद ल्याउनका लागि आत्मगत रूपमा धेरै काम गर्न पर्दैन’ भन्ने झल्कन्छ । तर, त्यो सत्य होइन । मार्क्स र एंगेल्सबीच भएको पत्राचारलाई हेर्दा होइन, त्यतिबेला त्यस्तै अवस्था थियो । मानिसहरू मनचिन्ते कुरा गर्थे ।

सोभियत यूनियनमा एउटा गोली पनि नचली एक थोपा रगत पनि नबगी त्यत्रो राज्य धराशायी भयो । त्यसबाट हामीले केही बुझेका छौं भने समाजवादको अर्को चरणमा भौतिक परिस्थितिलाई आवश्यक मान्दामान्दै, चेतना र आवश्यकतालाई उत्तिकै मान्यता दिनुपर्छ ।

विकल्पमा हामीले संस्थागत रूपमा स्थानीय तहलाई तलमाथि हुन दिनहुन्न । संघीय राज्यलाई बलियो पार्नुपर्छ । नागरिक अधिकारको कुनै पनि कटौती हामीले मान्नुहुन्न । दुईजना, चारजना जहाँ छौं । त्यहींबाट प्रतिवाद गर्नुपर्छ । अहिले पनि चार दिन, चार दिन संसद छल्ने परम्परा छ, त्यसको विरोध गर्नुपर्छ ।

अर्कोतिर, हामीले नागरिक समाजलाई बढी भन्दा बढी चेतनशील बनाउनुपर्ने जरुरी छ । चेतनाको पूर्वाधार के हो भन्ने स्पष्ट लक्ष्य राखेर स्थानीय सत्ताको सशक्तीकरण र भ्रष्टाचारको निर्मूलीकरणलाई विकासको वैकल्पिक मोडल बनाउनुपर्छ ।

विकासको अमेरिकी मोडल, विकासको रसियन मोडल अपनाइरहेका छौं । त्यसका बारेमा पनि कुरा गर्नुपर्छ । बीपीले पनि जीवनको उत्तराद्र्धमा विकासको वैकल्पिक मोडलका बारेमा सोचेका थिए ।

राष्ट्रवादको कुरा गरेको होइन, नेपालले भारत र चीन दुवै देशबाट सिकेको छ । दुवैले गर्न नसकेको कुरा गरेको छ ।

उनले पश्चिमको विकासको मोडल कायम गर्नु हुन्न भनेका थिए । उत्पादकत्व बढाऔं अनि बाँडौंला । पहिला उत्पादन होस् अनि हेरौंला । पहिले मोनो रेल आओस्, अनि जो चढे पनि चढौंला । पहिले पानीजहाज आओस् अनि जलविहार गरौंला । त्यसरी हुँदैन । जुन साधन उपलब्ध छ । एक प्रतिशतसँग ९९ प्रतिशत सम्पत्ति छ, उनीहरूको सम्पत्ति खोसौंला र बाटौंला भन्ने होइन ।

पुष्पलालको जीवनमा सातु र चना मात्रै खाएको कथा छ । पुष्पलालले जस्तै सातु नै त नखाउँला । तर, अहिलेको थितिमा पनि अलिअलि सबैको भागबण्डा हुनुपर्‍यो नि । हाम्रो पार्टीमा, हाम्रो देशमा जुन स्रोत साधन छ । सबैको पहुँच हुनुपर्छ ।

प्रति व्यक्तिको थाप्लोमा ३० हजार ऋण पुगेको छ । वितरित पूँजीवादको उदाहरण हो भने जन्मेकै दिन प्रत्येक नागरिकले माइनस ३० हजार होइन, राष्ट्रिय सम्पत्ति अनुसार प्लस थर्टी थाउजेन्ड हुनुपर्छ ।

जुन देशमा समाजवादी राज्य आउँछ, त्यसले देशको कुल सम्पत्तिलाई जनसंख्याले भाग गरेर जन्मेको दिन बच्चालाई सर्टिफिकेट दिन्छ । तेरो भागमा तीन लाख रुपैयाँ पर्‍यो । त्यो मनपरि खर्च गर्न पाइँदैन । रक्सी खान पाउँदैन । विलाशितामा खर्च गर्न पाउँदैन । स्वास्थ्य शिक्षामा त्यसलाई प्रयोग गर्न पाउँछ । आजको मुलुकमा रहेको धनात्मक सम्पत्तिलाई बाँड्नुपर्छ ।

पहिला उत्पादन बढाऊँ अनि वितरणमा लैजाउँला भन्ने होइन । उत्पादन र वितरण कैचीका दुई धारजस्तै हुन् । उत्पादन पनि बढाउने वितरण पनि बढाउने । वितरण पनि बढाउने, उत्पादन पनि बढाउने । उत्पादन र वितरण दुवै एक अर्का परिपूरक हुन् । विल्कुल विपरीत होइनन् ।

१९औं शताब्दीमा कसैले भने होलान् । मार्क्स पनि त्यसमा फसे होलान् । अहिले मिल्टन फ्राइडमनले नयाँ व्याख्या ल्याए होलान् । मैले मनचिन्ते कुरा गरेको छैन । निश्चित् अर्थशास्त्रलाई अध्ययन गरेर भनेको छु– समाजवाद भनेको उत्पादन र वितरणलाई सँगसँगै लैजाने व्यवस्था हो ।

एक, समाजवाद भनेको मुलुकमा ग्रोथ रेट बढाउने होइन, रोजगार बढाउने । दोस्रो, शिक्षा र स्वास्थ्यको क्षेत्रमा कुनै पनि नागरिकलाई जन्मिएको कुनै पनि बालकलाई आफू वञ्चित भएको महशुस हुन नदिने हो ।

धनी र गरीब बीच खाडल छ । महिला र पुरुष बीच खाडल अनि दलित र बाहुन बीच खाडल छ । मधेशी र जनजाति अन्यायमा छन् । तर, जो निरक्षर र अशिक्षित छन् । त्यसलाई हेपेर हामी पढेलेखेकाले सबै जानेको भन्नेछ । नपढेका मानिस पनि कम छैनन् भनेर गाउँमा जानुपर्छ ।

(पाठशाला- वीरगन्ज स्टडी सेन्टरले १२ साउनमा वीरगञ्जमा आयोजना गरेको ‘नेपालमा समाजवाद : एक विमर्श’ कार्यक्रममा नेपाली का‌ंग्रेसका नेता प्रदीप गिरिद्वारा व्यक्त विचारको सम्पादित अंश)

प्रस्तुति : सुरेश बिडारी

घनश्याम भूसालको विश्लेषण–  राजा हिंडेकै बाटोमा दलहरू (समाजवाद–विमर्श)

 

प्रतिकृया दिनुहोस