टिप्पणीशनिबार, १८ श्रावण , २०७६

वागमतीको तीन दशक र तीन तस्वीर

हिमालखबर

प्रदूषण र मानव निर्मित संरचनाको चेपुवामा परेको वागमती नदीलाई पहिलेकै प्राकृतिक स्वरूपमा फर्काउन ढल व्यवस्थापन र अतिक्रमण हटाउनु आधारभूत शर्त हुन्।

वागमती नदी । तस्वीरः नेपाली टाइम्स

 

भोगेन्द्र मिश्र

सन् २००७ मा नेशनल आइडेन्टिटिज जर्नलले ‘फेयरवेल टु द वागमती सिभिलाइजेशनः लुजिङ रिभरस्केप एन्ड नेसन इन काठमान्डू’ शीर्षकमा अनुसन्धानात्मक लेख प्रकाशन गर्‍यो । जसमा लेखक एन रेड्म्याचरले काठमाडौं उपत्यकाको इतिहास र तत्कालीन अवस्थाको मिहीन चित्रण गरेकी छन् ।

उनले अव्यवस्थित शहरीकरणका कारण बढ्दै गएको समस्यालाई उजागर गरेकी छन् । लेखमा काठमाडौं सभ्यताको चर्चा गर्दै वागमती र यसका सहायक नदीहरू आसपासको विकासक्रम कस्तो रह्यो र अहिलेको अवस्थामा कसरी आइपुग्यो भन्ने केलाइएको छ ।

सरसर्ती हेर्दा उपत्यकाका नदीहरू अहिलेको अवस्थामा आइपुग्नुमा प्रमुख दुई कारण देखिन्छन् । पहिलो, नदीमा फोहोर विसर्जन गरिनु र दोस्रो, नदी अतिक्रमणमा पर्नु ।

स्टान्ली इन्टरनेशनलले गरेको एक अर्को अध्ययन अनुसार काठमाडौंका नदीहरू प्रदूषित हुने मुख्य कारणमा प्रशोधन नगरी नदीमा मिसाइएको घरायसी र औद्योगिक उत्पादनका नाली तथा नदी किनारमा फालिने फोहोरलाई मानिएको छ । त्यस्तै, नदी किनारमा भएका मानव निर्मित संरचना र नदीजन्य पदार्थको अत्यधिक दोहनलाई पनि असरको कारण औंल्याइएको छ ।

शिवपुरी पहाडको वाग्द्वारबाट शुरू भएको वागमती गंगा नदीमा गएर मिसिंदासम्म ५९७ किलोमिटरको दूरी तय गर्छ । काठमाडौं उपत्यकाभित्र यसका प्रमुख सहायक नदीहरूमा विष्णुमती, हनुमन्ते, मनोहरा, धोबीखोला, गोदावरी, टुकुचा, नक्खु र बल्खु हुन् ।

बस्ती विस्तारले अस्तित्वको संघर्षमा रहेको वागमती किनारमा कैयौं सांस्कृतिक र धार्मिक सम्पदा छन् । वागमती जलाधार क्षेत्रमा मात्रै युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सात वटा सम्पदा छन्, जसले यसको ऐतिहासिक महत्व झल्काउँछ ।

सदियौंसम्म कञ्चन पानी बगेको वागमती नदी विभिन्न कालखण्डमा विविध क्रियाकलाप र अव्यवस्थित शहरीकरणका कारण अहिलेको रुग्ण अवस्थामा आइपुगेको हो । विभिन्न लेखमा उल्लेख भए अनुसार वागमतीमा पहिलो पटक नाला मिसाउने काम राणा प्रधानमन्त्री जुद्धशमशेरकै पालामा सन् १९४० ताका नै शुरू भएको थियो । त्यसपछि बढ्दै गएको यस क्रमले वागमतीलाई दिनानुदिन थप प्रदूषित पार्दै गयो ।

नदी अतिक्रमणको क्रम भने धेरैपछि मात्रै भएको अनुमान गर्न सकिन्छ । आधिकारिक प्रमाण नभेटिए पनि सन् १९८० को दशकयता काठमाडौंमा बढ्दै गएको शहरीकरणसँगै अतिक्रमण बढेको मान्न सकिन्छ ।

 

 ल्याण्डस्याट भू–उपग्रहबाट सन् १९८८ मा खिचेको तस्वीर (सबैभन्दा माथि) अनुसार त्यस बेलासम्म वागमती नदी र त्यसको किनारमा कुनै ठूलो अतिक्रमण देखिंदैन । त्यसै भू–उपग्रहले सन् २००३ मा खिचिएको तस्वीर (बीचमा) मा भने अतिक्रमण प्रष्ट देख्न सकिन्छ ।

सन् २०१८ को तस्वीर (अन्तिममा) त झन् प्राकृतिक स्वरूप मासिएर घना बस्तीको चेपुवामा परेको वागमतीको विकराल रूप देखिन्छ ।

तीन दशकको बीचमा भएका यी तीन तस्वीरलाई सँगै हेर्दा सन् १९८८ पछि नदी वरपर रूख र हरियाली उल्लेख्य घटेको र विभिन्न संरचना थपिएको स्पष्ट देखिन्छ ।

केही वर्षयता विभिन्न नाममा थुप्रै संघसंस्था र अभियन्ताहरूले वागमती बचाऊ अभियान अन्तर्गत वागमती नदी सफाइ गरिरहेका छन् । त्यससँगै एशियाली विकास ब्याङ्कको सहयोगमा वागमती जलाधार सुधार आयोजनाले पनि काम गरिरहेको छ ।

आयोजनाको वेबसाइटमा उल्लेख गरिए अनुसार वागमती जलाधार क्षेत्रको व्यवस्थापन, वर्षाको पानी भण्डारण तथा रिचार्ज गर्ने र फोहोर व्यवस्थापनसँगै नदीको सुन्दरता बढाउने कार्य गरिंदै आएको छ । तर यी कुनै पनि प्रयासले नदीको अवस्थामा खासै सुधार हुनसकेको देखिंदैन ।

विभिन्न कालखण्डमा वागमती अतिक्रमण गरी बनाइएका संरचनाका कारण नदी दिनानुदिन साँघुरिंदै गएको यथार्थ जगजाहेर छ ।

तर यदाकदा सुकुम्बासी बस्तीमा डोजर चलाउने बाहेक नदीकिनारको अतिक्रमित क्षेत्र खाली गर्न न सरकारले ठोस काम गरेको छ, न त कुनै अभियानकर्मीको समूहले नै पहल गरेका छन् । यस्ता संरचना नहटाइँदा हरेक वर्ष नदी वरपरका बस्तीहरू बाढीको चपेटामा पर्ने गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार सरदर हरेक तीन वर्षमा २४ घण्टाभित्रै १०० मिलिमिटर भन्दा धेरै पानी परेको देखिन्छ । त्यसमाथि विभिन्न अध्ययनले मौसम परिवर्तनको अनिश्चितताका कारण आगामी दिनहरूमा एकै दिनमा धेरै वर्षा हुने सम्भावना बढेको देखाएकाले नदी किनारका बस्ती बाढीको जोखिममा पर्ने देखाउँछ ।

अर्कोतर्फ, काठमाडौं भित्र बढ्दो शहरीकरणसँगै जताततै कंक्रिटको संरचना निर्माणका कारण जमीनमा पानी नसोस्ने क्षेत्र बढिरहँदा वर्षात्को पानी नदीमै जाने गर्छ । त्यसले नदीमा बाढीको खतरा झनै बढिरहेको छ ।

यो खतरा टार्न पनि शहरी विकासका अन्य योजनासँगै नदीको अतिक्रमित सम्पूर्ण भूभाग खाली गरी प्राकृतिक बहावलाई ठाउँ छोड्नुपर्ने टड्कारो आवश्यकता छ ।

प्रतिकृया दिनुहोस