खेलकुदशनिबार, १८ श्रावण , २०७६

टेनिसका टेको

गोपाल गडतौला

नेपालको टेनिस विकासमा मनोज–ज्योति राणा परिवारको योगदान र समर्पणबाट राज्यले नै सिक्नुपर्ने बेला भइसकेको छ।

श्रीमती ज्योति, छोरीहरू माहिका र मायंका साथ मनोजशमशेर जबरा ।

भवनको पाँचौं तला उक्लिएपछि त छतमा पुग्नुपर्ने हो । तर, यहाँ त देखिन्छ लन टेनिसको आकर्षक कोर्ट, जसलाई चारैतिरबाट तारजालीले घेरिएको छ ।

तल हेर्दा भूकम्पले ढालेको धरहराको ठुटो अझै देखिन्छ । सुन्धाराको यो भवन परिसर, जहाँ कुनै बेला श्री ३ जुद्धशमशेरको बागदरबार थियो । यिनै जुद्धका नाति मनोजशमशेर – ज्योति जबरा दम्पतीको टेनिस खेलप्रतिको समर्पण हो, यो कोर्ट । 

राणाशासन ढलेको झण्डै एकदशकपछि जन्मेका फिल्डमार्सल हरिशमशेरका कान्छा छोरा मनोज गोदावरीस्थित सेन्ट जेभियर्स स्कूलमा भर्ना भए । जहाँ अंग्रेजी विषयको अध्यापन मात्र थिएन– फूटबल, पौडी, टेनिस, बास्केटबल खेल्ने अवसर पनि थिए । यही कोर्टमा मनोजले आठ वर्षको हुँदा टेनिस र्‍याकेट समाते, जुन आजसम्म छुटेको छैन ।

२०३४ सालमा एसएलसी उत्तीर्ण मनोजले पाटन कलेजबाट प्रमाणपत्र तह सिध्याए । आफू १० वर्ष छँदै बुबाको निधन भएकाले उनलाई पनि आफैं केही गर्ने अठोट त थियो, तर पारिवारिक दबाब थिएन । आफन्त र साथीको सल्लाहमा उनले सेनाको सेकेण्ड लेफ्टिनेन्टको परीक्षा पास गरे ।

तर, कसोकसो छोरामा सेनाभन्दा खेलाडी बन्ने चाहना बुझेकी आमाले ‘भो जानुपर्दैन’ भनेपछि कसिसकेको गुण्टा खोलेर घर फर्किए । र, भारतको दिल्ली इन्ष्टिच्यूट अफ म्यानेजमेन्ट साइन्समा वाणिज्य शास्त्र पढ्न गए ।

पुर्ख्याैली सम्पत्तिका कारण परिवार पाल्न कतै जागिर खानैपर्ने बाध्यता थिएन, विरासत सम्हाले पुग्थ्यो । त्यसयता उनको ‘फुलटाइम’ काम भनेकै टेनिस भयो ।

टेनिस अभ्यास गर्न उनी दशरथ रंगशाला र कान्तिपथस्थित फोहोरा दरबारमा रहेको अमेरिकन क्लब गइरहन्थे । त्यहीं पुग्थिन् पुल्चोककी ज्योति मल्ल । कसैले व्यक्त नगरे पनि आपसमा समान भावका कारण उनीहरू एकअर्काको खेल हेर्न कोर्ट पुगिरहेका हुन्थे । त्यहीं देखादेख, हेराहेर हुन्थ्यो ।

भेटमा पनि प्रेम कम, टेनिसकै बढी गफगाफ हुन्थ्यो । यसरी केही वर्ष ‘अफेयर’ चलेपछि परिवारकै स्वीकृतिमा २०४२ सालमा यी दुईले लगनगाँठो कसे । त्यसयता यो जोडीले एकापसमा जीवनसाथी मात्र पाएनन्, ‘मिक्स्ड डबल्स्’ को घनिष्ठ जोडी पनि भेटे ।

विवाहको भएकै वर्ष नेपालगञ्जमा आयोजित तेस्रो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता भयो, जहाँ मनोजले टेनिसमा पुरुष डबल्सतर्फ स्वर्ण र सिंगलतर्फ काँस्य पदक जिते ।

सन् १९९७ मा मनोज र ज्योतिको जोडीले राष्ट्रिय टेनिस प्रतियोगिताको मिक्स्ड डबल्सतर्फको स्वर्ण उपाधि नै जित्यो । त्यही साल मनोजले अमेरिकाको साउथ क्यारोलिनाबाट ‘प्रोफेसनल टेनिस रजिष्ट्री’ को एकमहीने कोर्स पूरा गरे ।

खेलाडीका रुपमा मात्र नभई, टेनिससँग मनोजको संलग्नता संस्थागत नै बन्दै गयो । अर्थात् उनी नेपालमा टेनिस विकासका सहयात्री बने । २०४३ सालमै नेपाल टेनिस एशोसिएसनको कोषाध्यक्ष चुनिएका उनी २०४९–२०५२ सम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य पनि रहे ।

सन् २००५ देखि त समग्र मुलुककै टेनिसको जिम्मेवारी मनोजको काँधमा आइपुग्यो । लगातार १० वर्ष अर्थात् दुई कार्यकाल उनी एशोसिएसनको नेतृत्वमा रहे । उनकै कार्यकालमा नेपाल टेनिस एशोसिएसन अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) मा आबद्ध भयो र अनुदानका रुपमा खेल सामग्री र प्राविधिक सहयोग पाउन थाल्यो । नेपाली खेलाडी, खेल पदाधिकारीले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण पाउन थाले ।

नेपालको टेनिसले देशभित्र र बाहिर थप पहिचान बनायो । एक उदाहरण– उनकै पहलमा सन् २०१० मा चीनको ग्वान्झाउमा भएको एशियाली खेलकुद प्रतियोगितामा मालिका राणा र अश्लेशा लिसानोभिचको जोडीले भाग लिए । नेपाली महिला टेनिस खेलाडीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको यो पहिलो अवसर थियो ।

टेनिस खेलकै सिलसिलामा विदेश आउजाउ गर्दा मनोजलाई सधैं एउटै कुरा खट्किन्थ्यो— नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको टेनिस कोर्टको अभाव । अन्तर्राष्ट्रियस्तरको टेनिस प्रतियोगिता सञ्चालन गर्न एक ठाउँमा कम्तीमा ६ वटा कोर्ट चाहिन्थ्यो । तर, सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा चार वटा मात्र कोर्ट थिए । 

सरकारबाट बजेट विनियोजन हुने छाँट नदेखेपछि आफ्नो मनको बेचैनीलाई साथीहरूबीच साटे । उद्यमी साथीहरू दिनेश तुलाधर, पृथ्वी पाण्डे, राजु श्रेष्ठ, विकास राणा सहितको कुल रु.२५ लाखको सहयोगमा सन् २००६ मा उक्त कम्प्लेक्समा दुई वटा टेनिस कोर्ट थपियो । “त्यसपछि मात्र अफिसियल बनेर विदेश जाँदा अलिकति इज्जत बढ्यो”, मनोज भन्छन् ।

त्यसो त उमेर र अनुभवसँगै ‘भेट्रान्स’ क्याटेगोरीमा पुगेका मनोजले सन् २०१७ मा अन्तर्राष्ट्रिय टेनिस महासंघद्वारा भारतमा आयोजित दक्षिण एशियाली भेट्रान्स प्रतियोगितामा ४५–५५ वर्ष उमेर समूहमा स्वर्ण पदक नै जिते । २०१८ मा पोखरामा भएको भेट्रान्स टेनिस कम्पिटिसनमा पनि उनी र विमल बाइवाको जोडीले स्वर्ण पदक जित्यो ।

टेनिस विनाको आफू कल्पना पनि गर्दैनन् । टेनिसलाई आफ्नो परिवारको लागि मीठो नशासँग तुलना गर्दै उनी भन्छन्, “हातमा र्‍याकेट बोकेर कोर्ट पसेपछि म दिमागबाट अनावश्यक कुरा हटाई एकाग्र भएर भिड्न सक्छु ।”

Tennis court

परिवारै टेनिसमा

टेनिसबाटै प्रेम, विवाह र मिक्स्ड डबल जोडी बनेका मनोज–ज्योति दम्पतीको देशको टेनिसका लागि जारी क्रियाशीलता रोकिएको छैन । राणा दम्पतीले आफ्ना सबै सन्तानलाई टेनिसमै लगाएका छन् । र, मनोजपछि सन् २०१५ देखि नेपाल टेनिस एशोसिएसनको नेतृत्व ज्योतिले गरिरहेकी छन् । ज्योति नेपाल ओलम्पिक कमिटीको महिला तथा खेल आयोगकी अध्यक्ष पनि हुन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक नेपाली महिला जोडीका रुपमा चीन पुगेकी मालिका हुन् या अहिलेकी टेनिस स्टार मायंका र माहिका, राणा दम्पतीकै छोरीहरू हुन् । जुम्ल्याहा दिदीबहिनीमध्ये मायंका हाल अमेरिकामा उद्यमशीलता अध्ययन गरिरहेकी छिन् भने माहिका खेल व्यवस्थापन । सँगै उनीहरू आ–आफ्ना कलेजका टेनिस टीममा पनि आवद्ध छन् ।

खेलाडी आमाबाबुको साथ लागेर ६ वर्षको उमेरदेखि टेनिस कोर्ट पसेका यी दिदीबहिनीका नाममा यसअघि नै देशभित्र कीर्तिमान बनिसकेको छ । सन् २०१४ मा दक्षिण कोरियामा आयोजित एशियाली खेलकुदमा मुलुकको प्रतिनिधित्व गर्दा उनीहरू मात्र १४ वर्षका थिए । सन् २०१८ मा इन्डोनेशियाको जकार्तामा भएको एशियाली टेनिस प्रतियोगितामा यी दिदीबहिनीले पहिलो चरणमा माल्दिभ्सको जोडीलाई पराजित गरेका थिए । 

मायंका भविष्यमा टेनिसका विश्वविख्यात रोजर फेडेरर झैं बन्न चाहन्छिन् भने माहिकाको सपना टेनिसको सर्वोच्च प्रतियोगिता ग्राण्ड स्लाम खेल्ने छ ।

शोकमा पनि टेनिसकै शक्ति

मायंका र माहिका माथि राणा दम्पतीका एक छोरा थिए– जयकर । जयकर पनि बालकैमा राम्रो टेनिस खेल्थे । तर, २०५८ सालमा उनको असामयिक निधन भयो ।

जयकरको निधनबाट सम्हालिन यो दम्पतीलाई हम्मेहम्मे पर्‍यो । तर, फेरि पनि टेनिस नै मल्हम बन्यो । छोराको सम्झनामा उनीहरूले ‘मञ्जयकर टेनिस एकेडेमी’ बनाए । सुन्धाराको टेनिस कोर्ट, यही एकेडेमीको परिकल्पना हो । छोराकै स्मृतिमा २०५८ सालदेखि हरेक वर्ष ८—१४ वर्षका बालबालिका बीच ‘मञ्जयकर टेनिस प्रतियोगिता’ भइरहेको छ । बुटवल र पोखरामा पनि यो प्रतियोगिताले निरन्तरता पाइरहेको छ ।

“छोराप्रतिको सच्चा श्रद्धाञ्जली यही ठानेर प्रतियोगितालाई निरन्तरता दिइरहनेछु”, मनोज भन्छन् । यो प्रतियोगिताका लागि नेपाल इन्भेष्टमेन्ट ब्याङ्कले पनि वार्षिक रु.२ लाख ५० हजार सहयोग गरिरहेको छ । मनोजले गोरखा आरुघाटस्थित भीमोदय माविमा नियमित भलिबल अभ्यासको लागि २०७४ सालदेखि मासिक रु.१५ हजार प्रदान गरिरहेका छन् । उक्त विद्यालयलाई मनोजकी आमा विजया राणाले दशकौं अघि १६५ रोपनी जग्गा दान गरेकी थिइन् ।

बाँकी छन् सपना अझै

उमेरले ६ दशक छोए पनि मनोजलाई अहिले पनि टेनिसका लागि धेरै गर्न बाँकी नै छ जस्तो लाग्छ । र, यसका लागि पूरै परिवार दिलोज्यान दिएर लाग्नेमा उनी दृढ छन् । ‘नेपाली टेनिस खेलाडीले कम्तीमा दक्षिणएशियाली स्तरमा स्वर्ण जितेको र अन्तर्राष्ट्रियस्तरको टेनिस प्रतियोगिता नेपालमै भएको हेर्ने’ मनोज–ज्योति राणा दम्पतीको सपना छ ।

तर; उनीहरूलाई थाहा छ, यसका लागि अहिलेको तयारीले पुग्दैन । “केन्द्रमा मात्र होइन, जिल्लाका वार्षिक तालिकामा पनि टेनिस प्रतियोगिता हुनुपर्छ” ज्योतिको सुझाव छ, “विकसित मुलुकहरूमा जस्तो बालबालिकाको रुचि अनुसारका खेलमा गरिएको लगानीबाट हामीले पनि सिक्नुपर्छ ।”

त्यसो त टेनिस खासै सस्तो खेल होइन । नियमित अभ्यास गर्ने खेलाडीले महीनामा दुई–चार हजार रुपैयाँ त बलमै खर्च गर्नुपर्छ । राम्रो र्‍याकेटलाई रु.२० हजारभन्दा बढी पर्छ । मनोज भने जनतामा आर्थिक गरीबी र राज्यमा सोचाइको गरीबीका कारण नेपाली खेलकुद उठ्न नसकेको बताउँछन् ।

टेनिस सानो (१७ फिट चौडाइ र ३४ फिट लम्बाइ) कोर्टमा पनि खेल्न सकिने भएकोले हिमाली र पहाडी क्षेत्रमा पनि यो खेल विस्तार गर्न सजिलो रहेको मनोजको ठम्याइ छ । “खेल पनि समृद्धिको पाटो हो भनि बुझ्नुपर्छ”, उनी भन्छन् ।

“खेलले अनुशासन र पद्धतिप्रतिको इमान, विपक्षीप्रतिको सम्मान सिकाउँछ, योग्य नागरिक हुन यति भए करीब करीब पुग्छ”, नेपाल टेनिस एशोसिएसनकी अध्यक्ष ज्योति भन्छिन् ।

प्रतिकृया दिनुहोस