अन्तर्वार्ता/विचारबिहिबार, १६ श्रावण , २०७६

‘ब्यालेन्स चोरी गर्न विदेशका नम्बरबाट कल गर्ने गिराेह सक्रिय’

सन्दीप अधिकारी, उप–निर्देशक, नेपाल दूरसञ्चार प्राधिकरण

हिमालखबर

विदेशबाट सर्वसाधारणको मोबाइलमा अपरिचित नम्बरबाट कल आउने समस्या बढेपछि सचेत हुन सार्वजनिक आह्वान गरेको नेपाल दूरसञ्चार प्राधिकरणका उप–निर्देशक सन्दीप अधिकारी भन्छन्, “समस्या समाधानका लागि प्रयास भइरहेको छ ।”

sandip adhikari-V_1

विदेशका अपरिचित नम्बरबाट आउने फोन नउठाउन र मिस्ड कल देखिए नफर्काउन सूचना किन जारी गर्नुप-यो ? 

मोबाइल प्रयोगकर्ताहरूबाट विदेशका नचिनेका नम्बरबाट कल आएका गुनासा धेरै आए । यस्ता कल आउने क्रम नरोकिएपछि हामीले उपभोक्तालाई सचेत पार्न सार्वजनिक सूचना जारी गरेका हौं ।

यस्तो कल किन आउने रहेछ ?
यो ‘स्पाम’ कल हो । अहिलेसम्मका घटनाक्रम र अध्ययनले मोबाइलको ब्यालेन्स चोरीको उद्देश्यले कल गर्ने गरेको पाइएको छ । थप तथ्य पत्ता लगाउन हामी अनुसन्धानमै छौं ।

यसरी आउने कलबाट के असर पुग्छ ?
यो सफ्टवेयरबाट विकास गरिएको कल हो । गिरोहले सफ्टवेयरको विकास गरेर ब्यालेन्स चोरी गर्ने उद्देश्य राखेर यो काम गरेका हुन्छन् । यस्तो कल उठाउँदा कुनै आवाज आउँदैन र कल ब्याक गर्दा फोन रिसिभ पनि हुँदैन, तर फोनको ब्यालेन्स घट्छ ।

विगतमा पनि यस्तै समस्या आएको थियो, त्यतिबेला कसरी समाधान गरिएको थियो ?
विगतमा प्रविधिको प्रयोग मार्फत केही नियन्त्रण गराइएको थियो । तर समस्या फेरि देखियो । हामीले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई प्रविधिको प्रयोग मार्फत त्यस्ता कल रोक्न निर्देशन दिइसकेका छौं । उनीहरूले प्रयास गरिरहेका छन् ।

बारम्बार यो समस्या किन आउँछ ?
प्रविधिको जमानामा विकाससँगै ‘थ्रेट’ पनि हुन्छ । प्रविधिको प्रयोगबाट सिर्जित समस्यालाई हामी पनि प्रविधि मार्फत समाधान गर्नेछौं ।

प्रतिकृया दिनुहोस