टिप्पणीमंगलबार, १४ श्रावण , २०७६

के लोक भनेकै ‘लोकल’ हो ?

लोक, लोकल र लोक–पर्यटन

केदार शर्मा

संघीय संरचनाका हाम्रा स्थानीय सरकारले गर्ने भनेकै आफ्नो गर्विलो पहिचान जोगाउँदै विकासपथमा लम्कनु हो। त्यसका लागि ‘लोक–परिकारका मेनु’ छुटाउनै नहुने कार्यसूची हो।

केदार शर्मा

हिमाल खबरपत्रिकाको ‘लोक–परिकार विशेषाङ्क’ देखेपछि मित्र प्रभु पराजुलीले सोधे, “लोक–परिकार भनेको लोकल परिकार हो ?”
झल्याँस्स भएँ, मैले त ‘लोक’ र ‘लोकल’ लाई दाँजेर हेरेकै रहेनछु ।

हेरौं न त !

लोक = समान संस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक इकाइमा रहने मानिसको समुदाय; जनसमूह (नेपाली बृहत् शब्दकोशले दिएको सान्दर्भिक अर्थ) ।

लोक–परिकार = परम्परादेखि लोकजीवनमा चलिआएका खानेकुरा (ने.बृ.श.ले दिएको लोककथा, लोकगाथा, लोकगीत आदिको शब्दार्थका आधारमा तयार गरिएको परिभाषा) ।

लोकल = स्थानीय, रैथाने । कुनै खास ठाउँसित सम्बन्धित वा सीमित (अंग्रेजी शब्दकोशले दिने अर्थको सार) ।

‘लोक’ र ‘लोकल’ बीचको सम्बन्धलाई व्युत्पत्तिशास्त्र (इटिमोलोजी) ले कसरी केलाउँदो हो ? संस्कृत र ल्याटिनका अरू सयौं शब्दमा जस्तै यिनका बीचमा पनि केही न केही सम्बन्ध त होला ।

त्यो केलाउने काम भाषाशास्त्रीहरूको । हामी अर्थमै रमाऊँ !

लोकगीत भनेको कुनै ठाउँविशेषका रैथाने गीत नै हो, तर पनि लोकगीत लोकल–गीत होइन; जसरी लोककथा लोकल–कथा होइन। लोककथा, लोकगीत, लोकदोहोरी, लोकभाका, लोकभाषा, लोकसंस्कृति, लोककला, लोकतन्त्र जस्ता सबैमा लोक नै मिल्छ, लोकल कसैगरे पनि मिल्दैन ।

अर्कातिर, ‘लोकल कुखुरा’ भने लोकल नै हो, ‘लोक कुखुरा’ होइन । लोकल साग, लोकल मकै, लोकल खसी, लोकल रक्सी आदिमा पनि ‘लोक’ सुहाउँदैन ।

शिक्षा र आधुनिकताको राजमार्गबाट आएको अंग्रेजीको ‘लोकल’ लयालु, श्रुतिमधुर शब्द हो । यसैले होला, यो अंग्रेजी विशेषण नेपाली विशेष्यहरूसित यस्तरी घुलमिल भयो कि खास माने नजान्नेका लागि समेत आफैं अर्थिन थाल्यो ।

‘मरुञ्जेल लोकल ठर्रा खाएर लोकल मान्छेलाई धम्क्याउने लोकल दादाहरू लोकल नेताले हप्काएपछि मात्र थान्को लागे’ भनेको पनि पूरै नेपाली जस्तै सुनिन, बुझिन थाल्यो । आफ्नो ‘स्थानीय’ त यसै बिरानो थियो नै, ‘लोकल’ भन्ने गैर–लोकल शब्दले ‘रैथाने’ लाई पनि पराइ बनाइदियो ।

आधुनिक मान्छेको जिब्रो नौला कुरामा रमाउँछ । अप्ठ्यारो भए तिनलाई कच्याककुचुक पारेर जिब्राले सजिलो बनाउँछ । परिकार पनि नौलै मन पर्छ ।

लोक संस्कृति अर्थात् लोकगीत, लोकगाथा, लोक–परिकार आदि हाम्रो पहिचानका अङ्ग हुन् । तर खेतीपातीमा आएको परिवर्तन, बसाइँसराइ तथा फेरिंदो जीवनशैलीका कारण हाम्रो लोक संस्कृति पहिलेकै रूपमा रहिरहन गाह्रो मात्र होइन, असम्भव नै छ ।

‘मरुञ्जेल लोकल ठर्रा खाएर लोकल मान्छेलाई धम्क्याउने लोकल दादाहरू लोकल नेताले हप्काएपछि मात्र थान्को लागे’ भनेको पनि पूरै नेपाली जस्तै सुनिन, बुझिन थाल्यो । आफ्नो ‘स्थानीय’ त यसै बिरानो थियो नै, ‘लोकल’ भन्ने गैर–लोकल शब्दले ‘रैथाने’ लाई पनि पराइ बनाइदियो ।

आधुनिकताको डरलाग्दो पक्ष यही हो । ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ भने जस्तै, आधुनिकताको राजमार्गमा नदौडौं– संसारसित कसरी चाल र ताल मिलाउनु ? दौडौं– गरीब समाजका सदस्यहरूलाई आफ्नोपनको भारी बोकेर धनीहरूसित दौडिन साँच्चै गाह्रो हुन्छ ।

आफ्नोपन हराएको समाजको पहिचान पनि हराउँछ । कुनै पनि समाज र समुदायको असली पहिचान उसको चालचलन, रहनसहन, बोलीचाली र खानपिनले प्रतिबिम्बित गर्छ । नारा, जुलूस र राजनीतिक आन्दोलनले दिने पहिचान कागजमा सीमित हुन्छ ।

यहाँ हामी लोक संस्कृतिको महत्वपूर्ण पक्ष लोक–परिकारहरूको कुरा गर्दैछौं । यस प्रसङ्गमा भन्नैपर्ने चिन्तालाग्दो कुरा हो– हाम्रा लोक–परिकार दिनहुँ हराउँदैछन्, बिर्सिइँदैछन् ।

तर आशलाग्दो कुरा पनि छ– धेरै परिकार चुलाबाट हराए पनि मनमा ज्यूँदा छन् र जगाउन सकिने अवस्थामा छन् । तर आफ्ना लोक–परिकारहरू जोगाउन हामीसित अन्तिम दुई दशक जति समय मात्र बाँकी छ ।

अहिले ६० वर्षमाथिका वयोज्येष्ठ व्यक्तिहरूसित सोधखोज गर्ने, आवश्यक सामग्री जुटाएर पकाउन बनाउन सिकाइमाग्ने हो भने हाम्रा परिकार–परम्परा जोगिन सक्छ ।

अलिकति जागरुक हुने हो भने एक दुई वर्षमा नै बिर्सिइन लागेका धेरै कुराले पुनर्जीवन पाउनेछन् । यसमा स्थानीय सरकार तथा गैरसरकारी संस्थाहरूको अग्रसरताको अत्यावश्यक र अपरिहार्य छ ।

लोकतन्त्र र लोक–परिकार

नेवार जातिकाे विशेष परिकार 'याेमरी' ।

संघीयताको सबभन्दा ठूलो विशेषता के हो भने यो राजनीतिक व्यवस्थामा आफ्नोपन जोगाउन अरूलाई गुहार्नु पर्दैन । उदाहरणका लागि, झापाको मेचीनगर नगरपालिकाले नगरपालिकाभित्रका परिकारहरूको सूची बनाएर ‘मेचीनगर परिकारमाला’ भन्ने मेनु बनायोे, र आफ्ना कार्यक्रममा खाजाका रूपमा विभिन्न समुदायका रैथाने खानेकुरालाई पहिलो प्राथमिकता दिने निर्णय गर्‍यो भने आलोचना होइन, प्रशंसा पाउँछ ।

दाङका तुलसीपुर–घोराही नगरपालिकाको अग्रसरतामा कुखुरालाई बध्या गर्ने (खसी पार्ने) विधिमा स्थानीय थारूहरूको बौद्धिक सम्पत्ति अधिकार कायम गर्ने प्रयत्न शुरू भयो भने सिङ्गो थारू समुदाय आर्थिक रूपले लाभान्वित पनि हुनसक्छ ।

मिथिला कला बनाउने कलाकारहरूले लाभ पाए जस्तै, पकाई–बनाई गर्ने व्यक्तिहरू, खासगरी गृहिणी महिलाहरूले लाभ पाउने गरी जनकपुरमा एउटा ‘मिथिलाक भोजनालय’ खोल्ने हो भने त्यो चर्चित र अनुकरणीय हुनसक्छ ।

भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्रका सबै समुदायको चाड पर्व अनुसारको परिकार–पात्रो बनायो भने त्यो अर्को ऐतिहासिक काम हुनसक्छ । यस्ता उदाहरण सयौं हुनसक्छन् ।

सार हो, लोक–परिकारहरूको संरक्षण र प्रवर्द्धनमा लोकतन्त्रको अर्थात् स्थानीय सरकारहरूको एकदमै प्रभावकारी भूमिका हुनसक्छ ।

लोक–परिकारहरूको प्रवद्र्धन भयो भने के हुन्छ त ?

आफ्नोपन जोगिन्छ । हराउन थालेका अन्नपात जोगिन्छन् । लोक–पर्यटनको विकास हुन्छ ।

पाठकलाई लाग्न सक्छ, फेरि नयाँ शब्द— लोक–पर्यटन आयो !

मलाई ‘पर्यटक’ र ‘आन्तरिक पर्यटक’ भन्ने भेद अस्वाभाविक, अमिल्दो, अप्ठ्यारो लाग्छ ।

मलाई मात्र होइन, ‘इकोटुरिजम’ भन्ने अंग्रेजी शब्दका लागि जबर्जस्तीसित बनाइएको नेपाली शब्द ‘पर्या–पर्यटन’ तपाईंलाई पनि अर्थ–न–बर्थको लाग्दो हो ? पर्यटन (परि‌अटन) मा कहिल्यै नसुनेको, शब्दकोशमा अर्थ नभएको, कसैले नबुझ्ने ‘पर्या’ किन जोड्नुपरेको होला ? संस्कृतकै शब्द किन चाहिएको होला ?

एकपटक हामी केही नेपालीभाषी भारतीय आफन्तहरूसित घुम्न हिंडेका थियौं । सिद्धान्ततः उनीहरू पर्यटक थिए र हामी आन्तरिक पर्यटक । तर हामीबीच केही फरक थिएन । गैरआवासीय नेपालीहरू यहाँ घुम्न आउँदा उनीहरू आन्तरिक कि बाह्य पर्यटक ?

बरू लोक–पर्यटन उपयुक्त हुन्छ । अंग्रेजीको ‘इकोटुरिजम’ का लागि सबभन्दा उपयुक्त शब्द लोक–पर्यटन नै हुन्छ । छुट्याउनै पर्छ भने गाउँघरमा जाने, लोकजीवन, लोकसंस्कृति र रैथानेपनलाई नबिथोली ‘लोकको हित’ गर्ने पर्यटकलाई लोक–पर्यटक भने हुन्छ ।

मलाई मात्र होइन, ‘इकोटुरिजम’ भन्ने अंग्रेजी शब्दका लागि जबर्जस्तीसित बनाइएको नेपाली शब्द ‘पर्या–पर्यटन’ तपाईंलाई पनि अर्थ–न–बर्थको लाग्दो हो ? पर्यटन (परि‌अटन) मा कहिल्यै नसुनेको, शब्दकोशमा अर्थ नभएको, कसैले नबुझ्ने ‘पर्या’ किन जोड्नुपरेको होला ? संस्कृतकै शब्द किन चाहिएको होला ?

कसैलाई लाग्न सक्छ ‘इको’ को अर्थ ‘लोक’ होइन । जवाफ हो, ‘इको’ (इकोलोजी, इकोनोमी) भनेको ‘पर्या’ पनि होइन । सबै कुरा शब्दानुवादबाट मात्र अर्थिंदैनन् । तर भावानुवाद गर्न भने धैर्य चाहिन्छ ।

चुरो कुरो– लोक–पर्यटनका लागि लोक–परिकारहरूको ठूलो महत्व हुन्छ । हामी आफैं घुमफिर गर्न हिंडेका बेला, आफैं पर्यटक भएका बेला के चाहन्छौं भन्ने सोचौं, जवाफ आफैं पाइन्छ ।

हामी जहाँ जाँदा पनि नौला कुरा हेर्न, नौला स्वाद चाख्न र नौला कोसेली किन्न चाख राख्छौं । आफूले हेरे–देखेका, किनेका र चाखे–खाएका कुराका बारेमा सकभर धेरै कुरा जान्न चाहन्छौं ।

भारतको आग्रा गएका बेला रैथाने पेडा बारे कसैले राम्रोसित बतायो, अझ बनाएकै देखायो भने हाम्रो झोलामा त्यसैको कोसेली थपिन्छ । दक्षिण भारत गएका बेला केराका पातमा साम्भरसित भात वा इडली खानमै मन जान्छ ।

कसैले ती परम्पराहरूको अर्थ र इतिहास पनि बताइदियो भने हाम्रो मन अझ रमाउँछ ।

रैथाने खानेकुराहरू जाग्ने र मौलाउने सबभन्दा उर्वर ठाउँ ग्रामीण पाहुनाघरहरू हुन् (त्यसो त मलाई घरबास पनि होमस्टेको ठाडो अनुवाद लाग्छ ।) पाहुनाघर सञ्चालकहरूमा रैथाने खानेकुराप्रति आत्मविश्वास जगाउन, पाहुनालाई तिनका बारे चाखलाग्दो गरी जानकारी दिन र खाँटीपन कायम राखेरै परिमार्जन गर्न भने, फेरि पनि स्थानीय सरकारहरूकै भूमिका हुनसक्छ ।

उनीहरूले नै उपयुक्त स्रोतव्यक्ति र सहभागी छानेर लोक–पर्यटनको तालीम दिन सक्छन् ।

यसो हुन सकेमा धेरै कुरा जोगिन्छन् । सबभन्दा राम्ररी जोगिने कुरा हुन्, बसाइँसराइको झार उम्रेका गाउँघरका पुराना ठूला घरहरू, मासिंदै गरेका रैथाने बालीहरू, मौसमी हिसाबले वनजङ्गलबाट प्राप्त गरिने वनबालीहरू र ती सबैसित जोडिएका परम्पराहरू ।

नेपाल भ्रमण वर्ष शुरु हुन २०–२१ साता मात्र बाँकी छ !

प्रतिकृया दिनुहोस