टिप्पणीसोमबार, १३ श्रावण , २०७६

रहस्यमय बुद्धमूर्ति तोडफोड

वसन्त महर्जन

बुद्धको मूर्ति भत्काइएको घटना पक्कै पनि बौद्ध धर्म विरोधी कार्य हो, तर यही विषयमा बौद्ध समुदायलाई उचाल्दै वैमनस्य फैलाएर फाइदा लिने समूह सक्रिय हुनेतर्फ सजग हुनुपर्छ।

वसन्त महर्जन

मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्य अनुरूप प्रदेश–५ सरकारले अहिले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ मनाइरहेको छ । भ्रमण वर्षकै तयारी स्वरूप तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्ग अन्तर्गत शंकरनगर चोकदेखि नयाँ मिलसम्मको बाटोमा पाँच वटा मूर्ति स्थापना गरेको थियो ।

आफ्नो क्षेत्रलाई विशिष्ट पहिचानयुक्त बनाई ‘ब्राण्डिङ’ गर्ने सोच अनुसार बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा गरिएको पर्यटन प्रवर्धनको काम प्रशंसनीय हो । तर ब्राण्ड जोगाएर राख्नु कठिन हुन्छ । नगरपालिकाले बनाएका बुद्धका मूर्तिहरू १ साउनको राति तोडफोड भएको घटनाले त्यही चुनौतीलाई संकेत गर्छ ।

मूर्ति तोडफोडको घटनाबारे थाहा हुने बित्तिकै देशभित्र मात्र होइन, अन्तर्राष्ट्रियस्तरबाटै प्रतिक्रिया आउन थाल्यो । उक्त घटनाको बौद्धइतर धर्मावलम्बीहरूबाट समेत निन्दा भयो ।

विगतमा फरक धार्मिक आस्थाका आधारमा लुम्बिनीको विकासमा चासो नराख्ने स्थानीय जनताले अहिले यसलाई आफ्नो गौरव मान्नु र बुद्ध मूर्ति तोडफोडको विरोधमा बौद्ध बाहेकका धर्मावलम्बी पनि उत्रिनु सकारात्मक कुरा हो । यसले बुद्ध र बौद्ध धर्मप्रति सद्भाव प्रकट गर्न अन्य कुरा बाधक नहुने प्रष्ट्याउँछ ।

अन्य देशहरूमा बौद्ध स्थलहरूमा तोडफोड, आगजनी र दुर्व्यवहारका घटना बेलाबेला हुँदै आएका छन् । त्यो सूचीमा अहिले नेपाल पनि थपिनु चिन्ताको विषय पक्कै हो ।

बुद्ध मूर्तिको तोडफोडमा संलग्न दोषी र कारण अनुसन्धानको विषय रहिरहँदा घटना जसबाट भए पनि दण्डनीय हो । दोषीको भेउ नपाएको अवस्थामा बौद्ध समुदायलाई उचाल्ने र वैमनस्य उत्पन्न गराएर फाइदा लिने समूह पनि सक्रिय हुन सक्छ । त्यसैले यसतर्फ संवेदनशील र सजग हुनुपर्छ ।

लुम्बिनी क्षेत्रभित्र स्थानीयस्तरमा बुुद्ध वा बौद्ध क्रियाकलापप्रति असहमति राख्ने जमात हुँदै नभएका होइनन् । तर त्यो योजनाबद्ध रूपमा भन्दा पनि तत्कालीन समय वा समूहविशेषको आवेगको रूपमा आएको देखिएकाले धेरै महत्व दिनुपर्ने देखिंदैन ।

केही वर्षअघि रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको बुद्धको मूर्ति हटाएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक राख्ने निर्णय गरिए पनि बौद्ध संघसंस्था तथा अन्यत्रबाट विरोध भएपछि सो कार्य रोकिएको थियो ।

विश्वमा बौद्ध पुनर्जागरण भइरहेको बेला नेपालमा राणा शासनकालमै बौद्ध धर्ममाथि दमनकारी कदम चालिएको थियो, जसको नोक्सानी नेपालले विश्व बौद्ध जगतमा लामो समयसम्म बेहोर्नुपर्‍याे । विश्व बौद्ध जगतमा हामीले औपचारिकतामा बाहेक आफ्नो उपस्थिति अझै पनि देखाउन सकिरहेका छैनौं ।

गौतम बुुद्धले साधनाका क्रममा आफूमाथि भएका ज्यादती र दुर्व्यवहारलाई उपेक्षा भावले हेरेका थिए । गालीगलौज र दुर्व्यवहारमा उनले उपेक्षालाई नै आदर्श बनाएर अभ्यास गरेका थिए । बुद्धको उपदेश अनुसार बौद्धहरू पनि दैनिक जीवनमा उपेक्षा भावमा जोड दिन्छन् ।

एक बौद्धको गहना मैत्री, करुणा, मुदिता मात्र होइन; उपेक्षा भावलाई आन्तरिक रूपमा विकास गर्नु पनि हो । यही भाव अनुसार बौद्धहरूले बुद्धको मूर्तिमा गरिएको तोडफोडको घटनामा चित्त दुख्दादुख्दै पनि उपेक्षापूर्ण नजरले हेर्ने हुन् ।

अर्कातिर, मूर्तिलाई नै सम्बन्धित पात्र मानेर पुज्नु वा साक्षात् भगवान मान्नु बौद्धका लागि मिथ्या दृष्टि हो । यति हुँदाहुँदै बुद्ध मूर्तिको तोडफोड बौद्ध धर्म विरोधी कार्य हो । साथै, तोडफोडको घटनाले राज्यकै सुरक्षा प्रशासनलाई चुनौती दिएको छ । यस्तो उपद्रवी गतिविधिलाई निरुत्साहित गर्न प्रभावकारी सुरक्षा व्यवस्था र कारबाही अपेक्षित छ ।

प्रतिकृया दिनुहोस