समाचारसोमबार, १३ श्रावण , २०७६

न्यायाधीशमाथि छानबिन गर्न समिति गठन

गोर्खा ब्रुअरी प्रकरण 

शरद ओझा

अन्तःशुल्क विवादमा गोर्खा ब्रुअरीको पक्षमा अन्तरिम आदेश जारी गर्ने उच्च अदालत पोखराका न्यायाधीशमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।

आइतबार बसेको न्यायपरिषद्को बैठकले सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा एक सदस्यीय छानबिन समिति गठन गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

८ साउनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले क्षेत्राधिकार मिच्दै उच्च अदालत पोखराका न्यायाधीशले अन्तरिम आदेश जारी गरेको भन्दै छानबिन र कारबाहीका लागि न्यायपरिषद्मा लेखी पठाउन आदेश दिएको थियो ।

२० जेठमा उच्च अदालत पोखराका न्यायाधीश रामचन्द्र यादव र ११ असारमा जीवनहरि अधिकारी र नरबहादुर शाहीले जारी गरेको अन्तरिम आदेश र रिट निवेदनका विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको न्यायपरिषद्का प्रवक्ता कार्कीको भनाइ छ ।

छानबिनमा तानिएसँगै न्यायाधीश त्रयलाई न्यायाधीशको जिम्मेवारीबाट अलग गरिएको छ । कार्कीका अनुसार न्यायपरिषद् बैठकले उच्च अदालत पोखरामा कार्यरत न्यायाधीशत्रय यादव, अधिकारी र शाहीलाई न्यायपरिषद्को सचिवालयमा काजमा सरुवा गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पनि छानबिनमा

न्यायपरिषद् बैठकले जिल्ला अदालत काठमाडौंमा कार्यरत न्यायाधीश अर्जुन कोइरालामाथि छानबिन गर्न समिति गठन गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालामाथि छानबिन गर्न न्यायपरिषद्लाई पत्राचार गरेपछि उनीमाथि अनुसन्धान गर्न समिति गठन गरिएको न्यायपरिषद्का प्रवक्ता कार्कीले जानकारी दिए ।

जिल्ला अदालत ललितपुरको न्यायाधीश हुँदा सरकारी जग्गामा अपार्टमेन्ट बनाउने व्यक्तिलाई सहयोग पुग्ने गरी कोइरालाले आदेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

न्यायपरिषदले कोइरालामाथि छानबिन गर्न सर्वाेच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको संयोजकत्वमा एक सदस्यीय समिति गठन गरेको छ । न्यायपरिषद्का प्रवक्ता कार्कीका अनुसार छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

 

हेर्नुहाेस् याे रिर्पाेट: गोर्खा ब्रुअरीसँग ८८ करोड अन्तःशुल्क असुल्ने बाटो खुल्यो

 

प्रतिकृया दिनुहोस