ब्लगआइतबार, १२ श्रावण , २०७६

छुच्चै हुनुपर्ने ? !

कनकमणि दीक्षित

ट्विटरले विचार निर्माणकर्ता र सम्पादक समेतलाई नियन्त्रणमा लिन थालेको देखिन्छ, जुन समाजको लागि नयाँ जोखिम बन्न सक्छ । 

हालै प्रकाशित ‘नेपाल मिडिया सर्भे २०१९’ का अनुसार, देशको जनसंख्याको ३३ प्रतिशतले इन्टरनेट चलाउँछन् । यीमध्ये ९९ प्रतिशतले मोबाइलमै इन्टरनेट चलाउँछन् । र, मोबाइलमा सबैभन्दा बढी ८८ प्रतिशतले फेसबूक चलाउँछन् भने २ प्रतिशत जति मात्र ट्विटरमा चहार्दा रहेछन् ।

तर पनि बौद्धिक, विचार निर्माणकर्ता र पत्रकारले बढी प्रयोग गर्ने भएकोले ‘ट्विटे’ को संख्या सानो भए पनि प्रभाव फेसबूक र अन्य सामाजिक सञ्जाल उपकरण भन्दा धेरै बढी छ ।

खबर प्रवाह, विचार निर्माण र सूचनाको लोकतन्त्रीकरणमा ट्विटरको ‘इम्प्याक्ट’ ठूलो छ । सामाजिक सञ्जालको नयाँ दुनियाँ एक्कासि फस्टाउँदा ट्विटर प्रयोगका नियम र मर्यादाको ‘प्रोटोकल’ पनि सबै हामी आफैंले बनाउनुपर्ने भएको छ । विगतमा कुनै नयाँ विज्ञानमा आधारित प्रविधिको प्रयोग (मिडियाको सन्दर्भमा छापाखाना, टेलिफोन, टेलिग्राफ, कम्प्युटर . . .) पश्चिमा मुलुकमा आविष्कार हुन्थे र ‘प्रोटोकल’ (प्रयोगको विधि) पनि उतै निर्धारित हुन्थ्यो, विकासशील मुलुकमा आउनु धेरैअघि ।

तर आजकालको सूचनाप्रविधि विकासमा यस्तो ‘लिड टाइम्’ हुँदैन, र अमेरिकाको न्यूयोर्कमा आज लोकार्पण भएको नयाँ आइफोन या एप् भोलि नै काठमाडौं भित्रिन्छ ।

ट्विटरले हाम्रो समाज र दिमागमा ल्याइरहेको उथलपुथल हामी आफैंले बुझ्न बाँकी नै छ । र, अरु सामाजिक सञ्जाल उपकरणभन्दा ट्विटरको आफ्नै विशेषता छ, सूचना फैलाउने काम आफ्नै पाराको छ । थोरै (२८०) अक्षरमा आफ्नो विचार राख्नुपर्ने हुँदा यसले लेखन सीप त माग्दछ, सवालजवाफ तत्कालै हुनाले निरन्तर चनाखोपन पनि । ट्विटरले आफ्ना राम्रा, नराम्रा, सारगर्भित वा अपरिपक्व विचारलाई आर्काइभ् गर्ने हुँदा आज व्यक्त धारणाका लागि ‘ट्विटे’ पछिसम्म जवाफदेही हुनुपर्ने हुन्छ ।

अनुसन्धानकर्ता बताउँछन्, कसैको १०० ट्विट हेरिसक्दा नसक्दै उसको राजनीतिक झुकाव, या सामाजिक र पारिवारिक अवस्था — हुँदाहुँदा ट्विटर प्रयोगकर्ता ‘स्ट्रेट’ वा ‘गे’ के छ — सबै थाहा भइसक्छ । यस अर्थमा मानिसको अन्तर्य, व्यक्तिगत जीवन पनि ट्विटरले सबैसामु खोलिदिन्छ, मिजास र बानीबेहोरा छरपस्ट पारिदिन्छ ।

कुनै पनि कुरा समय नलिइकन लेखिहाल्नुपर्ने, प्रतिक्रियाको प्रति–प्रतिक्रिया दिइहाल्नुपर्ने दबाब हुँदा, नचाहँदा नचाहँदै पनि कसैको विचार र स्वभावको वजन/कमजोरी संसारसामु छर्लङ्ग हुन्छ । खासमा हामीलाई चिन्ने जान्ने ढोका भएको छ ट्विटर आर्काइभ् — दूतावासको भिसा अफिसर होस् वा ‘जब इन्टरभ्यू’ लिने व्यवसायी वा विवाह गर्न चाहने प्रेमी वा परिवार । तर यस्तो संवेदनशील ‘अंग’ बारे हामी पर्याप्त होशियार छैनौं, अन्धाधुन्द प्रयोगमै रमाइरहेछौं ।

सूचनाप्रविधिको विकासका साथै आज हामी २४ घण्टे न्यूज् साइकलमा प्रवेश गरेका छौं, र कुनै पनि बेला खबर वा विचार पेश गर्न स्मार्टफोनमा जो–कोही सक्षम छ । यस सन्दर्भमा ट्विटरको सबैभन्दा टड्कारो असर मिडियामा परेको छ ।

संसारभर खबर संकलन र विचार निर्माण सम्पादकीय टोलीबाट हुने गर्थ्याे। तर हुँदाहुँदा खबरकागज र अनलाइन पत्रिकाका धेरै सम्पादक सामाजिक सञ्जाल खासगरी ट्विटरकै ‘मार्ग–निर्देशन’ मा चल्न थालेका हुन् कि ?

अनुसन्धानकर्ता बताउँछन्, कसैको १०० ट्विट हेरिसक्दा नसक्दै उसको राजनीतिक झुकाव, या सामाजिक र पारिवारिक अवस्था — हुँदाहुँदा ट्विटर प्रयोगकर्ता ‘स्ट्रेट’ वा ‘गे’ के छ — सबै थाहा भइसक्छ । यस अर्थमा मानिसको अन्तर्य, व्यक्तिगत जीवन पनि ट्विटरले सबैसामु खोलिदिन्छ, मिजास र बानीबेहोरा छरपस्ट पारिदिन्छ ।

ट्विटरमा सबैभन्दा चर्को छलफलमा के छ त्यसैलाई पछ्याउने र त्यसैमा आधारित खबर बनाउने, लाइक र रि–ट्विटकै आधारमा सम्प्रेषित खबर वा लेखलाई ‘भ्यालिडेट्’ गर्ने । यस्तो प्रवृत्तिले देश र समाज होइन, खतरनाक लोकरिझ्याइँलाई सहयोग गरिरहेछ । 

बाँकी रह्यो ट्विटर दुनियाँले समाजलाई फाइदा कति गरेको छ ? भन्नै पर्दा, संसारभर नै आजको दिन ट्विटरले मुख्यतः दक्षिणपन्थी राज्य सञ्चालक या राजनीतिक शक्तिलाई सहयोग गरिरहेको छ, ट्रम्पदेखि मोदी, दूतर्ते, बोल्सनारो, पुटिन र एर्दोगानसम्म । नेपालमा पनि ट्विटरले झनक्क रिसाउने, प्याच्च बोलिहाल्ने, ‘कम्प्लेक्सिटी’ र ‘नुवान्स्’ लाई पर्वाह नगर्ने व्यक्तिगत र राजनीतिक प्रवृत्तिलाई ठाउँ दिंदै आएको छ ।

ट्विटर तलतलले धेरैलाई कर्‍यापझ्याप् पारेको हामी पाउँछौं । ‘एटेन्शन सिकिङ्ग’ प्रवृत्ति हावी छ । हरेक दिन केमा विचार पोखौं, को माथि जाइलागौं भन्ने मनोवृत्ति देखिन्छ । पानीको फोका जस्तै पूरै ट्विटर समाज एकदिन एउटा सन्दर्भको पछि लाग्छ, भोलिपल्ट अर्कै ।

लोकरिझ्याइँको अहिलेको अवस्थामा चर्को कुरा गर्नेले विचार निर्माणमा ठाउँ ओगटेका छन् सामाजिक सञ्जाल मार्फत । अलि गहिरिएर नरम भाषामा विचार पेश गर्नेहरू पछाडि हटेका छन्, कति त ‘ट्रोलिङ्ग’ द्वारा दुर्व्यवहारकाे डर, चिन्ताले लेख्नै बोल्नै छाडिदिएका छन् । ‘डिस्कोर्स’ र बहसको मैदान खुम्चिएको छ ।

हुन त सामाजिक सञ्जाल र विशेषगरी ट्विटर प्रयोगको पहिलो आयाममा छौं, हामी । आशा छ, कुनै दिन यो पनि थिग्रिन्छ नै । हामी जति ट्विटर र यसका बहुआयामिक असर बुझ्दै जानेछौं, उति नै यसको सकारात्मक पक्ष अँगाल्नेछौं ।

यो सबै लेखिसक्दा मैले बुझ्नै नसकेको कुरो चाहिं — ट्विटरमा के तत्व हुँदो कि ट्विटेहरू यति छुच्चो गरी बोल्छन् ? ! 

प्रतिकृया दिनुहोस