टिप्पणीशनिबार, ११ श्रावण , २०७६

बीपीलाई कसरी बुझ्ने ?

सन्दर्भ : ३७ औं बीपी स्मृति दिवस

रघु पन्त

२०३६ सालको जनमत संग्रहमा सबै बहुदलवादीको साझा नेता बन्न स्वीकार गरेको भए सम्भवतः बीपी कोइरालाको राजनीतिक उत्तरार्ध दुःखान्त हुने थिएन।

रघु पन्त

विद्यालयदेखि उच्च शिक्षासम्म भारतमै पढेका विश्वेश्वरप्रसाद कोइराला (बीपी) को राजनीतिक जीवनको आरम्भ पनि भारतमै भयो । भारतीय समाजवादी नेताहरूसँगको उठबस र प्रभावले अन्ततः बीपीलाई पनि प्रजातान्त्रिक समाजवादी बनायो ।

भारतीय स्वतन्त्रता संग्राममा भाग लिंदै ब्रिटिश साम्राज्यवाद विरोधी गतिविधिमा सक्रियतापूर्वक भाग लिएका कारण बीपी पटक–पटक बन्दी पनि भए । संघर्षकै दौरान उनको राजनीतिक र बौद्धिक व्यक्तित्व निर्माण हुन थाल्यो ।

राणाशासनको कठोर नियन्त्रणमा रहेको नेपाल भन्दा भारत शैक्षिक, सांस्कृतिक, राजनीतिक र आर्थिक विकासको दृष्टिकोणबाट धेरै अघि थियो । नेपालको तुलनामा खुला र व्यापक बौद्धिक विमर्श–संगतले बीपीको चेतनालाई प्रखर बनाइरहेको थियो ।

विविध दर्शन, राजनीति र साहित्यको अध्ययनले उनको बहुआयामिक व्यक्तित्व प्रस्फुटनमा भूमिका खेलिरहेको थियो । यहीबेला उनको राजनीतिक व्यक्तित्व निर्माण र विस्तार पनि तीव्र गतिमा भइरहेको थियो ।

तस्वीरहरु : मदन पुरस्कार पुस्तकालय

तत्कालीन समयमा नेपालमा रहेका अन्य नेताका तुलनामा बीपीको राजनीतिक र बौद्धिक व्यक्तित्व उच्च हुनुमा उनले भारतमा पाएको फराकिलो वातावरण, संगत, सहकार्य र भूमिका निर्णायक देखिन्छ ।

त्यसबेला राणाशासन विरोधी थुप्रै नेता युवा नै थिए, भारतमै पढेका र ब्रिटिश विरोधी संघर्षबाट प्रेरित पनि थिए । तर बीपीको नेतृत्व कांग्रेसका अन्य नेताहरू भन्दा प्रभावकारी र आकर्षक रह्यो ।

नेतृत्वप्रति सचेत, तर संघर्षशील
राणाशासन विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा पनि बीपी जसरी हुन्छ पार्टी नेतृत्व आफैंमा राख्न चाहन्थे । तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस पार्टीको तेस्रो अधिवेशनले सभापतिमा डिल्लीरमण रेग्मी, महामन्त्रीमा प्रेमबहादुर कंसाकार र सचिवमा पुष्पलाललाई निर्वाचित गरेको थियो ।

तर, जेलबाट छुट्नासाथ बीपीले आफैंलाई सभापति घोषणा गरे, अर्को महाधिवेशन समेत कुर्न सकेनन् । फलतः पार्टीमा फुट उत्पन्न भयो ।

अरूको नेतृत्व स्वीकार्न नसक्ने आत्मकेन्द्रित प्रवृत्ति बीपीमा आजीवन रहिरह्यो । यतिसम्म कि पञ्चायत विरुद्धको संघर्षमा समेत अरूको भूमिका, सहयोग र सहकार्यलाई उनले अस्वीकार गरिरहे ।

बीपी नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रमुख नेता र शिखर व्यक्तित्व थिए । जीवनकालभर पार्टीमा राज गरेका उनले चुनौतीको डटेर सामना पनि गरे । उनको स्वीकार्यता र नेतृत्वलाई फरक राजनीतिक विचारका दलहरूले पनि स्वीकार गर्दथे । तर आफ्नो नेतृत्वलाई नै सम्पूर्ण प्रतिपक्ष र पञ्चायत विरोधी जनमतको एकलौटी अधिकारी ठान्ने अहंकारले उनलाई नेपाली राजनीतिको विविधता र अन्य शक्तिको अस्तित्व स्वीकारेर अघि बढ्न दिएन ।

यद्यपि अन्तर्राष्ट्रिय स्वीकार्यता, आकर्षक व्यक्तित्व, गहिरो अध्ययन र निरन्तरको संघर्षशीलताले बीपी आजीवन राजा र पञ्चायत विरोधी वा भनौं प्रतिपक्षी राजनीतिको केन्द्रविन्दुमा रहे ।

उनीसँग नेतृत्वमा टक्कर लिने डिल्लीरमण लगायत अन्य नेताहरू संघर्षको मैदानबाट हराउँदै गए । बाँचुन्जेल बीपी नै नेपाली कांग्रेसको एकछत्र नेता भैरहनुमा आत्मसमर्पण नगरी संघर्ष जारी राख्ने उनको अडान नै कारक बन्यो । र, त्यसैले नै उनलाई संघर्षको उच्च तहको नेता बनायो ।

संघर्ष स्वरूपका प्रयोगकर्ता
बीपी कोइराला दार्शनिक रूपमा मूलतः अहिंसावादी भए पनि राजनीतिक संघर्षका क्रममा उनले शान्तिपूर्ण र सशस्त्र दुवै रूप अपनाए । राणाशासन विरुद्ध अनशन बस्नेदेखि मुक्ति सेना बनाएर सशस्त्र संघर्ष गर्ने प्रारम्भिक कालका अनुभवलाई उनले पछि पनि दोहोर्‍याए ।

पञ्चायत विरुद्धको शान्तिपूर्ण संघर्षलाई राजाले नटेरेपछि उनले भारतीय भूमिबाट फेरि दोस्रोपल्ट हतियार उठाउन, बम हान्न र हवाईजहाज अपहरण गराउन लगाए । तर, संघर्षको यो स्वरुपले पार्टीमा ठूलो क्षति पुर्‍याउनुका साथै भारतीय सत्ताधारीहरू समेत प्रतिकूल बनेपछि राष्ट्रिय मेलमिलापको नीति लिएर उनी स्वदेश प्रवेश गरे ।

संघर्षको प्रारम्भिक काल अर्थात् राणाशासन विरुद्धको आन्दोलनमा सफलता हासिल गरेर दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री बनेका बीपी संघर्षको दोस्रो चरणमा सफल हुन सकेनन् ।

स्वदेश फर्केका बीपीलाई राजा वीरेन्द्रले पटक्कै टेरेनन् । देशमा भूमिगत वामपन्थी राजनीति विस्तार भइसकेको थियो । त्यही भएरै बीपी कोइराला र तत्कालीन नेपाली कांग्रेसले अधुरो र अपुरो सम्झौतामा रोक्न खोज्दा पनि २०३६ सालको विद्यार्थी आन्दोलन थामिएन, झ्न् लडाकू ढंगले फैलियो।

अन्ततः राजा वीरेन्द्र जनमतसंग्रह घोषणा गर्न बाध्य भए । तर, स्वयं बीपीले यसको अपेक्षा गरेकै थिएनन् । उनी त राजासँग वार्ता र सहमतिबाट सके केही प्रजातान्त्रिक सुधार गराउने रणनीतिमा थिए । चार दशकअघिको उक्त आन्दोलनमा सहभागी भएको मेरो प्रत्यक्ष अनुभव भन्छ– बीपीले उक्त आन्दोलनको वेग र चाहना बुझ्नै सकेनन् ।

जनमत संग्रह घोषणा बारे पनि बीपीको बुझाइ अपरिपक्व र अतिरञ्जित थियो । ‘राजा र पञ्चहरूले राज्य संयन्त्रको दुरुपयोग गरेर पञ्चायत जिताउने छन्, त्यसैले जनमतसंग्रह निष्पक्ष बनाउन पाँच पूर्वशर्त अघि सारौं’ भन्ने वामपन्थीहरूको प्रस्तावलाई बीपीले सुन्नै चाहेनन् मात्र होइन, सहकार्यको प्रस्ताव समेत अस्वीकार गरे । बरु, भावी सरकार कांग्रेसले बनाउने भन्दै सरकारलाई भार पर्ने निर्णय नगर्न खबरदारी गर्न थाले ।

वास्तविकता के थियो भने, नेपाली कांग्रेस र वामपन्थी दलहरूप्रति सहानुभूति राख्ने जनमत ठूलो भए पनि त्यसलाई बोक्न सक्ने संगठनात्मक आधार भने त्यसबेला दुवै पार्टीसँग थिएन । त्यसैले पनि जनमत संग्रहमा सहकार्य आवश्यक थियो ।

संयुक्त रूपले बहुदललाई जिताउने कार्यमा मिलेर लागेको भए जनमतसंग्रहको परिणाम फरक पनि हुन सक्थ्यो । तर, २००७ सालपछि संघर्षको साझ नेतृत्व र प्रयोग गर्ने अभूतपूर्व अवसर बीपीले गुमाए । यो उनको राजनीतिक जीवनको ठूलो दुःखान्त हो ।

सही मूल्याङ्कन

२०४६ सालको आन्दोलनले बहुदलीय व्यवस्थाको पुनस्र्थापना गरेपछि नेपाली समाज खुला भयो । समाजमा अध्ययन, बहस, अन्तरसंवाद व्यापक हुन थाल्यो । वामपन्थी र स्वतन्त्र बुद्धिजीवीहरूले पनि नेपाली कांग्रेस र बीपीका विचार खोजी खोजी पढ्ने, प्रकाशन गर्ने, त्यसमाथि विचार–विमर्श गर्न थाले । यो क्रम अहिले झन् झाङ्गिदो छ ।

नेपाली राजनीतिको एक जना शिखर पुरुष र ऐतिहासिक व्यक्तित्वको अध्ययन र मूल्याङ्कन एउटा कष्टसाध्य बौद्धिक कार्य हो। बीपीका नाममा रहेका विभिन्न संस्थाहरूको ध्यान यसतर्फ गए राम्रै हुन्थ्यो ।

बीपीको सही अध्ययन र यथार्थपरक मूल्याङ्कन आजको आवश्यकता हो । तर, यो सहज पक्कै छैन । बीपीका सम्पूर्ण विचार, नीति र व्यवहारको गम्भीर अध्ययन विना भक्ति वा पूर्वाग्रहका आधारमा गरिने प्रशंसा वा आलोचनाले भ्रम उत्पन्न गराउने खतरा छ ।

बीपी नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रमुख नेता र शिखर व्यक्तित्व थिए । जीवनकालभर पार्टीमा राज गरेका उनले चुनौतीको डटेर सामना पनि गरे । उनको स्वीकार्यता र नेतृत्वलाई फरक राजनीतिक विचारका दलहरूले पनि स्वीकार गर्दथे । तर आफ्नो नेतृत्वलाई नै सम्पूर्ण प्रतिपक्ष र पञ्चायत विरोधी जनमतको एकलौटी अधिकारी ठान्ने अहंकारले उनलाई नेपाली राजनीतिको विविधता र अन्य शक्तिको अस्तित्व स्वीकारेर अघि बढ्न दिएन ।

तर पनि यथार्थ के हो भने, अहिलेको नेपाली राजनीतिमा बीपी कोइराला बराबरको उँचाइका कुनै नेता छैनन् । उनी जत्तिको अध्ययन र बौद्धिकताको त कुरै छोडिदिऊँ । त्यसैले दिन परदिन नेपाली राजनीतिले सौन्दर्य, आकर्षण, नैतिकता र सुसंस्कार गुमाउँदैछ । र, राजनीति कपट, षडयन्त्र, जालझेल र फोहोरी खेल परिणत हुन थालेको छ ।

तस्वीरः मीन बज्राचार्यको संकलन

बीपी कोइरालाका उपन्यास, कथा र संस्मरणहरू नेपाली साहित्यमा सर्वाधिक पढिने कृतिमा पर्छन् । उनका साहित्यिक कृति र व्यक्तित्वको विविध पक्षबाट आलोचना, समालोचना, विश्लेषण र मूल्याङ्कन भएका विभिन्न कृतिहरू प्रकाशित छन् । तर, उनका राजनीतिक विचारहरूको व्यवस्थित संग्रह भने उपलब्ध छैन ।

बीपीका शुरुदेखि अन्त्यसम्मका विभिन्न राजनीतिक लेख, भाषण, अन्तर्वार्ता आदिको कालक्रम मिलाइएका संग्रहहरू संकलित रूपमा प्रकाशित भए त्यसले बीपीको व्यक्तित्व र विचारको विकास क्रमलाई बुझ्ने बाटो खुल्छ ।

बीपीका कतिपय अभिव्यक्ति विवादास्पद पनि छन् । कतिपय विचार चर्चित र महत्वपूर्ण छन् । यस्ता संग्रहहरूले तिनको अध्ययन मार्फत तथ्य पर्गेल्न सहयोग पुग्छ ।

नेपाली राजनीतिको एक जना शिखर पुरुष र ऐतिहासिक व्यक्तित्वको अध्ययन र मूल्याङ्कन एउटा कष्टसाध्य बौद्धिक कार्य हो । बीपीका नाममा रहेका विभिन्न संस्थाहरूको ध्यान यसतर्फ गए राम्रै हुन्थ्यो ।

प्रतिकृया दिनुहोस