ब्लगशुक्रबार, १० श्रावण , २०७६

राजा वीरेन्द्रले सोधे, “आफ्नै आँखाले देख्या हो ?”

भैरव रिसाल

पहिले सुर्खेतको भ्रमणमा रुखो मिजास देखाउँदै आफ्नो कुरा मात्र थोपरेका राजामा समयसँगै अलि परिपक्वता आएछ, ६ वर्षपछिको धनकुटा भ्रमणमा अरूका कुरा पनि सुने।

भैरव रिसाल

पञ्चायतकालमा राजा वीरेन्द्र देशको वास्तविक वस्तुस्थिति बुझ्न नियमित रूपमा क्षेत्रीय भ्रमणमा निस्किन्थे । त्यस क्रममा हिउँदमा चारदेखि पाँच साता उनी विकास क्षेत्रमै बस्थे ।

राजाको त्यस्तो सवारीमा सरकारी र निजी सञ्चारमाध्यमबाट एक/एक जनाको दरले एक/एक साताका लागि दुई पत्रकार पनि लगिन्थे । २०३५ साल माघ या फागुनमा भएको धनकुटा भ्रमणमा नयाँ समाज दैनिकबाट बालमुकुन्ददेव पाण्डे र राष्ट्रिय समाचार समिति (रासस) बाट म परेका थियौं ।

पत्रकारले वरिपरिका गाउँबस्तीमा गएर त्यहाँको वस्तुस्थिति र समस्या बुझ्नुपर्थ्याे र सातौं दिनको बेलुकी त्यसबारे राजालाई रिपोर्टिङ गर्नुपर्थ्याे । उनी दुवै पत्रकारसँग छुट्टाछुट्टै भेटेर आधा घण्टादेखि ४५ मिनेटसम्म कुरा गर्थे ।

त्यसै ताक मेरो एउटा व्यंग्यात्मक लेख गोरखापत्रमा छापिएको थियो । त्यसमा मैले ‘मुलुकमा विकास भएको छैन । जसले विकास भएको देख्छ, त्यस्तो देख्ने आँखा सक्कली होइन नक्कली हो’ लेखेको थिएँ । भेटघाटमा त्यो प्रसंग निस्किएपछि मैले यो ठाउँमा यो–यो विकास भएको देखेको कुरा सुनाएँ ।

राजा वीरेन्द्र

त्यसपछि राजाले सोधे, “आफ्नै आँखाले देख्या हो ?” उत्तर दिएँ, “हो, आफ्नै आँखाले देखेको ।” राजा मुस्कुराए । त्यो प्रश्न राजाले व्यङ्ग्य गर्दै सोधेका रहेछन् ।

सुने, बिर्सिए

त्यो भेटमा राजा, म र राजदरबारका उप–प्रमुख संवाद सचिव शारदाप्रसाद मात्र थियौं । ६ वर्षअघिको सुर्खेत भ्रमणमा कुराकानी हुँदा खरो मिजास देखाउने राजा यस पटक नम्र र अरूका कुरा राम्ररी सुन्ने अलि परिपक्व लागे ।

मैले राजासमक्ष एउटा कुरा राखें, “सरकार, सबैका लागि शिक्षा उपलब्ध गराउन देशभर दिनमा दुई पटक विद्यालय सञ्चालन गर्ने नीति लिनु पर्‍यो ।” बिहान साढे ६ बजेदेखि साढे ११ सम्म र साढे ११ देखि साढे ४ सम्म पाँच–पाँच घण्टाका दरले कक्षा सञ्चालन गर्न सकिने सुझाव पनि अघि सारें ।

गरीबीका कारण धेरै बालबालिका विद्यालय शिक्षाबाट वञ्चित रहेका कारण त्यो उपाय ठीक हुने मलाई लागेको थियो । त्यसबेला निरपेक्ष गरीबीको रेखामुनि रहेका नेपाली नै लगभग ३५ प्रतिशत थिए ।

आर्थिक एकाइ निकै सानो हुने त्यस्ता परिवारसँग गाई, गोरु, बाख्रा, भेडामध्ये कुनै एउटा हुन्थ्यो । त्यही जनावरको गोठालो गरेर त्यो घरका छोराछोरीको समय बित्थ्यो । त्यसो भएपछि विद्यालय जाने उमेरका बालबालिका पढाइबाट वञ्चित हुने नै भए ।

घरबार धान्न लालाबालाले गोठालो जानुपर्ने बाध्यता रहेकाले दुई पटक पठनपाठन सञ्चालन गरे बिहान विद्यालय जानेले दिउँसो गोठालो र दिउँसो गोठालो जानेले बिहान विद्यालय जान पाउने थिए ।

सबैलाई शिक्षाको उपाय सुनाउँदै भने, “यस्तो परिपाटी बसाले गरीबको अर्थतन्त्रको आर्थिक एकाइ पनि कायम हुने र शिक्षा आर्जन पनि हुने । बाँकी कुरा स्थानीयस्तरमै जान्ने बुझ्नेले मिलाउँछन् ।” राजासँगको छलफलपछि मलाई लाग्यो, उनलाई मेरो कुरा चित्त बुझ्यो ।

उनको सकारात्मक हाउभाउले यो विषय अघि बढाउँछन् भन्ने विश्वास पलायो । तर उनले भने, “यो कुरा शिक्षामन्त्रीसँग पनि गर्नु नि !”

काठमाडौं फर्केको केही समयपछि यसबारे शिक्षा मन्त्री पशुपतिशमशेरसँग कुरा गरें । तर उनले मेरो कुरा ध्यान दिएर सुनेनन् । मलाई लाग्यो, राजाले मन्त्रीसँग कुरा गरेकै रहेनछन् । राजाले चासोपूर्वक कुरा सुने पनि गम्भीरतापूर्वक लिएनछन् । त्यो योजना त्यसै तुहियो ।

पत्रकारले वरिपरिका गाउँबस्तीमा गएर त्यहाँको वस्तुस्थिति र समस्या बुझ्नुपर्थ्याे र सातौं दिनको बेलुकी त्यसबारे राजालाई रिपोर्टिङ गर्नुपर्थ्याे । उनी दुवै पत्रकारसँग छुट्टाछुट्टै भेटेर आधा घण्टादेखि ४५ मिनेटसम्म कुरा गर्थे ।

‘मूला कि मूलाको बीउ ?’

धनकुटामा राजा वीरेन्द्रसँगको कुराकानीका क्रममा मैले आफ्नो गाउँ भक्तपुरको दधिकोटमा उन्नत जातको मूलाको बीउको खेती हुनेबारे पनि सुनाएको थिएँ । “दधिकोटले १८ टन मूलाको बीउ उत्पादन गर्छ”, मैले भनें । राजाले सोधे, “मूला कि मूलाको बीउ ?” मैले बीउ भनी प्रष्ट पारें । उनले भने, “उसो भए हेर्न जान्छु ।”

त्यस ताका दधिकोटका किसानले ‘हाइनेक’ र ‘मिनुअर्ली’ गरी दुई जातका जापानी मूलाका बीउ उत्पादन गर्थे । त्यो खेतीले त्यहाँका कैयौं किसान ऋणमुक्त भए, कतिले पक्की घर बनाए, कतिपयले जग्गा नै जोडे । उत्पादित बीउको जापानमा माग थियो ।

मूलाको बीउ खेती हेर्न राजा आउने कुरालाई गम्भीरतापूर्वक लिंदै गाउँमा पनि सुनाइसकेको थिएँ । तर राजा आउने सुरसारै देखिएन ।

त्यसपछि १ वैशाख २०३६ मा दरबारमा आयोजित सुशोभन समारोहमा समाचार संकलनका लागि जाँदा दरबारका प्रमुख संवाद सचिव चिरनशमशेर थापासँग भनें, “सरकारले मूलाको बीउको खेती हेर्ने कुरा हुकुम भएको थियो । अब त सिजन सकिन लाग्यो । छिटो गर्नुपर्‍यो ।” उनले भोलिपल्ट मलाई फोन गरेर ६ जेठमा खेती हेर्न आउने तय भएको बताए ।

नभन्दै उक्त दिन राजा दधिकोट आए । राजा मात्र आउँछन् भनेर दधिकोटका जनता एउटा मात्र माला लिएर स्वागत गर्न बसेका थिए । तर आए राजा र रानी दुवै । अलि अप्ठेरो स्थिति भए पनि भ्रमण राम्रो भयो ।

प्रतिकृया दिनुहोस