मुर्माटप पुगेर रारा हेर्दा (तस्वीरहरु)
‘मनको माया हजुरको कहिले पाउने हो,
हुम्ला, जुम्ला गाडीमा कहिले जाने हो,
डुङ्गा चढी राराताल कहिले घुम्ने हो... ’
सुर्खेत–जुम्ला सडक खुलेपछि गाडीबाट दुई दिनमै पुग्न सकिने भएकोले राराताल आन्तरिक पर्यटकको मुख्य गन्तव्य बनेको छ । हवाईजहाजमा ताल्चा विमानस्थलमा उत्रेर १० वर्षअघिको कुन्ती मोक्तानको माथिको गीत गाउँदै पैदल दुई घण्टामा रारा पुग्नेहरू पनि उत्तिकै भेटिन्छन् ।
माथिको गीतमा भनिए झैं तालमा डुङ्गा सयर गर्दा नीलगगनमुनि राराको पूरै सौन्दर्य नियाल्न भने सकिंदैन । किनारबाट नियाल्दा पनि १५.८३ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको राराको सौन्दर्य आँखामा अटाउँदैन ।
त्यसैले, ५.१ किमि लामो, २.७ किमि चौडा र १६७ मिटर गहिरो रारासँगै पूरा रामसार क्षेत्रको पूर्ण सौन्दर्य नियाल्न मुर्माटपसम्म उक्लनुपर्छ । समुद्र सतहबाट ३ हजार ६३० मिटर उँचाइमा रहेको मुर्माटप टावरबाट २ हजार ९७२ मिटरमा अवस्थित राराको सौन्दर्य छचल्किएको देखिन्छ ।
रारा जानेहरूले पर बाजुरा, जुम्ला, हुम्ला, कालीकोट, अछाम, मुगु र डोल्पामा फैलिएका चङ्खेली, कस्तूरी, बूढीनन्दा, बडिमालिका, सैपाललगायतका हिमश्रृंखला नियाल्न पनि मुर्माटप पुग्नैपर्छ ।
थप तीनघन्टा उकालो उक्लिंदै गर्दा रारा राष्ट्रिय निकुञ्जको विविध सौन्दर्य र चराचुरुङ्गीका चिर्विराहट त छँदैछ, कस्तूरी, रतुवा र डाँफे दर्शनको सुयोग पनि जुर्न सक्छ ।
जेठ–असोजको यात्रामा त्यस्तो सम्भावना बढी हुन्छ । त्यो न्यानो सिजनमा रारा क्षेत्रमा फूलको शृंगार पनि थपिएको हुन्छ ।