टिप्पणीबिहिबार, ९ श्रावण , २०७६

कीर्तिपुरको त्यो छ्याकटे ढुंगा

वसन्त महर्जन

वर्तमान नेपालको नक्शा कोर्ने एउटा कडी गोरखा राज्यले कीर्तिपुरमा गरेको आक्रमणलाई उछालिरहनु औचित्यहीन काम हो।

- वसन्त महर्जन

कीर्तिपुरसँगै पृथ्वीनारायण शाहको चर्चा गर्न रुचाउने एउटा वर्ग नेपाली समाजमा छ । आफूलाई कीर्तिपुरप्रति संवेदनशील देखाउन खोज्ने उनीहरूलाई इतिहासकै कसीमा राखेर हेर्दा भने विपरीत अवस्था देखिन्छ । हरेक वर्ष २७ पुसको सेरोफेरोमा पृथ्वीनारायण शाहको चर्चा चल्छ ।

एकातिर पृथ्वी जयन्ती मनाइन्छ, अर्कातिर तीन–चार वर्षयता त्यसै दिन विरोध कार्यक्रम पनि गर्न थालिएको छ । औपचारिक कार्यक्रम नै राखेर कीर्तिपुरको एउटा छ्याकटे ढुंगामा थुक्न आमन्त्रण गर्ने गरिएको छ ।

पृथ्वीनारायण र त्यो ढुंगाबीचको साइनो बारे चर्चा गरौं ।

कीर्तिपुर निवासी यो पङ्क्तिकारले उक्त ढुंगा पृथ्वीनारायणसँग नभई गोरखाका काजी (प्रधानमन्त्री) कालु पाँडेसँग सम्बन्धित भनेर सुन्दै आएको हो । गोरखाली सेनाले पहिलो पटक कीर्तिपुरमाथि वि.सं. १८१४ मा आक्रमण गर्दा पाँडे विपक्षी सेनाद्वारा काटिएका थिए ।

उनलाई सो छ्याकटे ढुंगामा राखेर काटिएको थियो वा अन्यत्र काटेर त्यहाँ राखियो भन्ने प्रष्ट छैन । तर आक्रोश र असन्तुष्टिको भावले उहिल्यैदेखि कीर्तिपुरवासीले त्यो ढुंगामा थुक्दै आएको चाहिं सत्य हो ।

छ्याकटे ढुंगाे

यसलाई गोरखाली आक्रमण विरोधी अभिव्यक्ति मान्न सकिन्छ । तर राजतन्त्र रहुन्जेल कालु पाँडेसँग सम्बन्धित रहेको ढुंगालाई त्यसयता भने पृथ्वीनारायणसँग जोडेर विरोध गर्नुले नेपाली समाजमा विम्बको निर्माण र विनिर्माण कसरी हुँदो रहेछ भन्ने देखाउँछ ।

पृथ्वीनारायण राजा हुनु अघिदेखि नै गोरखाले काठमाडौं उपत्यकाका तीन वटै राज्यमाथि आँखा लगाउँदै आएको थियो । कीर्तिपुर तत्कालीन पाटन राज्य अन्तर्गत थियो । गोरखाका राजकुमार हुँदै पृथ्वीनारायण भक्तपुर दरबारमा शिक्षा–दीक्षाका लागि लामो समयसम्म बसेका थिए ।

उनी गोरखाको राजगद्दीमा बसेपछि एकपछि अर्को प्रयास गर्दा तेस्रो पटकको आक्रमणमा ३ चैत १८२२ मा कीर्तिपुरमाथि विजय प्राप्त गरेका थिए ।

युद्ध विवरणहरू अध्ययन गर्दा कीर्तिपुर जित्न गोरखालाई ज्यादै चुनौतीपूर्ण भयो । पहिलो र दोस्रो युद्ध कीर्तिपुरको गढ पर्खाल बाहिर पाटन र कान्तिपुरको संयुक्त सेनासँग भएको थियो भने तेस्रोमा मात्रै कीर्तिपुरका सर्वसाधारणले पनि वीरतापूर्वक लडेको बुझिन्छ । लडाइँका क्रममा गोरखाले काजी कालु पाँडे गुमायो भने पृथ्वीनारायणका भाइ सुरप्रतापको आँखा फुट्यो ।

कीर्तिपुर हात पार्न अन्य राज्य जित्न भन्दा बढी प्रयास गर्नुपरेको र ठूलो क्षति व्यहोर्नुपरेको प्रतिशोधको भावनाले गोरखालीहरू क्रूद्ध हुन पुगे । यसै क्रममा पराजित कीर्तिपुरका जनताको नाक र ओठ काटेको कुरा इतिहाससिद्ध कुरा हो ।

नाक काटेको हो कि होइन भन्नेबारे बेलाबेला तर्क–वितर्क चल्ने गरे पनि यस विषयमा तत्कालीन सत्ता पक्षकै साहित्यमा गरिएको चर्चाले पुष्टि गरेको छ ।

पृथ्वीनारायण शाह

पृथ्वीनारायणका दरबारिया पण्डित ललितावल्लभले वि.सं. १८२७ मा लेखेको ‘पृथ्वीन्द्रवर्णोदय’ काव्यमा राजाको तारिफ गर्दै कीर्तिपुरमा केही विरोधीहरूको नाक काटिदिएको उल्लेख पाइन्छ । यस बाहेक पनि भाषा वंशावली, राजभोग वंशावली लगायतमा कीर्तिपुरमा १२ वर्षमाथिका सर्वसाधारणको नाक काटिदिएको वर्णन भेटिन्छ ।

इतिहासका अन्य सामग्री अध्ययन गर्दा गोरखाली सेनाले कीर्तिपुरमा मात्रै नभई युद्धका क्रममा पूर्व तथा पश्चिम सबै ठाउँमा उत्पात मच्चाएको पाइन्छ । तर कीर्तिपुरको मात्रै चर्चा हुने गरेको छ । विभिन्न समयमा राजनीतिक व्यक्तिहरूलाई कीर्तिपुरवासीको सहानुभूति बटुल्न र सत्ता पक्ष विरुद्ध जनमत बनाउन गोरखाली सेनाको ज्यादतीको बयान गतिलो माध्यम बन्दै आएको छ ।

कीर्तिपुरमा गोरखाली सेनाको आक्रमण इतिहासको एउटा अध्याय हो । यस्तै अध्यायहरूबाटै वर्तमान नेपालको निर्माण भएको हो । वर्तमान नेपालको भूराजनीतिक संरचनाप्रति केही आपत्ति नभएको अवस्थामा त्यो कीर्तिपुर युद्धलाई उछाल्नु अर्थहीन काम हो ।

निश्चित व्यक्ति/समूहले राजनीतिक फाइदाका लागि युद्धको त्यो समय सम्झउने र सत्ता विरुद्ध प्रयोग गर्न उक्साउने कार्यले कीर्तिपुरकै छविमा प्रतिकूल असर परिरहेकोमा कीर्तिपुरवासी नै सजग हुनुपर्छ ।

कालु पाँडेसँग सम्बन्धित छ्याकटे ढुंगालाई थुक्ने वा नथुक्ने कुरामा हस्तक्षेप वा आक्षेप गर्नुभन्दा यसलाई इतिहासको एउटा पक्ष मान्नु उचित हुन्छ । यसैलाई पृथ्वीनारायणसँग जोडेर प्रस्तुत गर्नु चाहिं पूर्वाग्रही सोच हो ।

प्रतिकृया दिनुहोस