हङकङमा ‘मीरा जिताऔं’ अभियान
अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपाधि विजेता मीरा राई (२६) लाई नेशनल जियोग्राफिक च्यानलको ‘एडभेन्चर्स अफ दि इयर’ अवार्ड जिताउन हङकङमा अभियान थालिएको छ । राईसहित विश्वका १० उत्कृष्ट साहसी खेलाडीहरू अवार्डको मनोनयनमा परेका छन् ।
अनलाइन भोटिङका आधारमा विजेता छानिने भएकाले पनि यस्तो अभियानको आवश्यकता परेको हङकङका शिक्षक देवराज राई बताउँछन् । भोटिङको समयावधि १ पुससम्म तोकिएको छ । अभियानमा राईसहित अमोद राई, जगत अम्बु, मगेन्द्र राई, ‘वि विल राईज’ अभियानका निर्मल श्रेष्ठ लगायतका व्यक्ति तथा समूह लागिपरेका छन् ।
प्रतियोगिताकै क्रममा मंसीरको तेस्रो साता हङकङ आइपुगेकी राईले अनलाइन भोट गरेर आफूलाई जिताउन अनुरोध गरिन् । आफूलाई जिताएर संसारभर नेपाललाई चिनाउने अवसर प्रदान गर्न आग्रह गर्दै उनले भनिन्, “मैले जिते नेपालले जित्छ ।”
मीरा उडान
भोजपुरको दुम्माना गाउँकी मीरा एसएलसीपछि साथीहरूको लहलहैमा १५ वर्षकै उमेरमा माओवादी लडाकू बन्न पुगिन् । शान्ति प्रक्रिया शुरु भएको सेना समायोजनका क्रममा उनी अयोग्य लडाकू घोषित भइन् । त्यसपछि मात्र खेलकुदतर्फ आकर्षित उनी कराते हुँदै अल्ट्रा म्याराथनमा आइपुगेकी हुन् ।
सानैदेखि नून, तेल, चामलको भारी बोकेर सुनसरीको चतरादेखि दुम्माना यात्रा गरेकी उनलाई पहाडको उकाली ओराली नौलो थिएन । त्यसैले पनि मीराले अल्ट्रा म्याराथनमा चाँडै प्रगति गरिन् ।
मीराले अल्ट्रा म्याराथनमा देशको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय पदक जितिसकेकी छन् । दुई वर्षअघि इटालीमा भएको अल्ट्रा म्याराथन प्रतियोगितामा मीरा प्रथम भएकी थिइन् । त्यही वर्ष हङकङमा सम्पन्न स्काई रनिङ एशियन च्याम्पियनसिप ५० किलोमिटर दौडमा मीरा महिलातर्फ प्रथम भइन् । हङकङमै भएको अर्को प्रतियोगितामा उनले नयाँ रेकर्डसहित स्वर्णपदक हात पारिन् ।
गत वर्ष स्पेनमा आयोजित अल्ट्रा म्याराथनमा पनि मीरा महिलातर्फ उपविजेता बनिन् । फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि पनि उनले जितिसकेकी छन् ।
नेपाली महिलालाई अल्ट्रा म्याराथनमा विश्वकै उत्कृष्ट खेलाडी बनाउने सपना सँगालेकी मीराको चाहना नेपालले पनि ‘अल्ट्रा म्याराथन रनिङ’ खेललाई मान्यता दिई प्रतियोगिता सञ्चालन गरोस् भन्नेछ ।
मीरा राईलाई भोट गर्ने लिंक:http://on.natgeo.com/2floTUy
मीरा पछ्याउँदै सुनमाया
मीराकै प्रशिक्षणमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सुनमाया बुढा र पूर्णलक्ष्मी न्यौपाने हङकङ आइपुगेका छन् ।
१९ मंसीरमा आयोजित स्काई रनिङ एसोसिएसन च्याम्पियनसिपको ५० किलोमीटरको दौडमा सुनमाया दोस्रो भइन् भने पूर्णलक्ष्मी चौथो ।
सुनमाया १७ मंसीरमा हङकङमै भएको ५ किलोमिटर भर्टिकल दौडमा समेत दोस्रो भएकी थिइन् ।
सुनमायाले आफूहरू मीरा राईकै प्रशिक्षणका कारण यहाँसम्म आइपुगेको बताइन् ।
डम्बरकृष्ण श्रेष्ठ, हङकङमा