रिपोर्टबिहिबार, ९ श्रावण , २०७६

सुक्खा थेग्ने बाली

गोपाल गडतौला

आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता नहट्दासम्म सुक्खामा फसल दिने बाली लगाउने योजना तय गरे कृषि क्षेत्रले पर्याप्त लाभ दिने विज्ञहरू सुझाउँछन्। 

कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेको सुक्खा र डुबान दुवै थेग्न सक्ने बहुगुणी–१ जातको धान ।

कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेको सुक्खा र डुबान दुवै थेग्न सक्ने बहुगुणी–१ जातको धान ।

प्रदेश १, २, ३ र ५ का धेरैजसो भूभाग कृषि उत्पादनका हिसाबले राम्रो मानिन्छन् । तर जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा यी क्षेत्रमा कम पानी पर्ने जनाएको छ ।

यसले यस वर्ष धान उत्पादनमा असर पार्ने देखाएको छ । प्रमुख बाली धानका लागि आकाशे पानीमै भर पर्नुपर्ने बाध्यता छ । मनसुनको उत्तरार्द्धमा झन कम वर्षा हुने मौसम विज्ञान विभागको अनुमानले यस वर्ष धान उत्पादनमा कमी आउने आकलन गरिएको छ ।

कृषि अनुसन्धान परिषद् (नार्क) का निर्देशक डा.दीपक भण्डारी समग्रमा धानका लागि अनुकूल मौसम नभएकाले सिंचाइ सुविधा कम भए पनि उब्जनी हुने बाली लगाउनुपर्नेमा जोड दिन्छन् ।

उनी भन्छन्, “पछिल्ला वर्षहरूमा वर्षायाममा कम पानी पर्ने गरेकाले सुक्खा थेग्न सक्ने बाली लगाउनु उचित देखिन्छ ।” 

प्रशान्त महासागरको मध्य क्षेत्रमा बढेको तापमानबाट सिर्जित एलनिनोका कारण यस वर्ष दक्षिणएशियामा औसत भन्दा कम पानी पर्ने देखिएको हो । मनसुनकाे यस्तो कमजोर अवस्थाले धान उत्पादनमा असर पार्ने भएकाले कम वर्षा हुने क्षेत्रमा सुक्खापन थेग्न सक्ने अनाज लगाउनुपर्ने विभागका अधिकारीहरू सुझाउँछन् ।

तर, समन्वय अभावमा यस्ता सुझाव र सूचनाहरू किसानसम्म पुग्न सकेका छैनन् ।

देशभर धान खेतीका लागि सरदर ६०० देखि ७०० मिलिमिटर वर्षा आवश्यक हुन्छ । धान रोपेपछि दाना नलागुन्जेल जमीनमा पानी सञ्चय हुनुपर्छ । 

यस वर्ष २० जूनदेखि शुरू भई २५ सेप्टेम्बरसम्म चल्ने मनसुनमा औसत १५०० मिलिमिटर वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

धानका लागि आवश्यक वर्षा हुने भए पनि पानीको सञ्चय गरी सिंचाइ गर्ने प्रणाली नहुँदा चाँडै सुक्खा लाग्ने गर्छ । पछिल्लो एक दशकमा एकै पटक धेरै पानी र निकै दिनसम्म खडेरी पर्ने अस्वाभाविक मौसमी प्रवृत्ति देखिने गरेको छ ।

यसले गर्दा किसानले धान खेतीसँगै सुक्खा पनि थेग्न सक्ने बाली लगाउनुपर्ने अवस्था आएको नार्कका निर्देशक डा.भण्डारी बताउँछन् ।

के छन् विकल्प ?

विज्ञहरू धानको तुलनामा सुक्खा खप्न सक्ने गहुँ, मकै र कोदो बालीतर्फ किसानलाई आकर्षित गर्नुपर्ने सुझाउँछन् । यसका लागि धानलाई मुख्य खाद्यवस्तु मानेर यसको खेतीमा मात्र केन्द्रित हुने प्रवृत्ति हटाउनुपर्ने उनीहरूको सुझाव छ ।

नार्कका निर्देशक डा.भण्डारी सिंचाइ सुविधा कम भएका ठाउँमा गहुँ, मकै र कोदो खेतीबाट फाइदा लिन सकिने बताउँछन् । गहुँ खेती गर्दा जम्मा दुईपटक माटो भिज्ने गरी पानी लगाए पुग्छ ।

गहुँ छरेपछि पहिलो पटक २५ देखि २८ दिनसम्ममा र दोस्रो पटक ६०—७० दिनसम्ममा सिंचाइ गरे पुग्छ ।

नार्कले कम वर्षा हुँदा पनि फसल लिन सकिने गहुँ, मकै, कोदो लगायतका बाली लगाउन सुझाएको छ ।
त्यस्तै, हल्का ओसिलो जमीनमा कोदो र मकै फलाउन सकिने डा.भण्डारी बताउँछन् । धान खेती नै गर्न चाहने किसानका लागि पनि विकल्प छन् ।

पानी कम पर्ने तथा सिंचाइ सुविधा नभएका क्षेत्रका लागि नार्कले २०७२ सालमा ८ जातका धानको बीउको विकास गरेको छ । बहुगुणी–१, बहुगुणी–२ र सुक्खा–१ देखि सुक्खा–६ सम्मका धानले कम पानीमा पनि राम्रो फसल दिनसक्ने नार्कको अनुसन्धानबाट देखिएको छ । 

आकाशे पानीको भरमा धान खेती गरिने देशका धेरैजसो ठाउँमा पानी बढी पर्दा डुबान हुने र नपर्दा सुक्खा हुने गर्छ । नार्कले विकसित गरेकामध्ये बहुगुणी–१ र बहुगुणी–२ जातका धानले डुबान र सुक्खा दुवै अवस्था थेग्न सक्छन् ।

बहुगुणी जातका धान नेपाली हावापानी सुहाउँदो भएको नार्कका निर्देशक डा.भण्डारी बताउँछन् । तर विकास गरिएका नयाँ प्रजातिका बीउबारे किसानलाई जानकारी गराउने र मौसम अनुकूलको बाली लगाउन प्रेरित गर्ने योजना नहुँदा अनुसन्धानहरू उपलब्धिविहीन हुने गरेका छन् ।

नार्कले विकास गरेका बीउ किसानसम्म पुर्‍याउने दायित्व कृषि विभागको हो । तर कर्मचारी अभावका कारण विभागले काम गर्न नसकेको अधिकारीहरू बताउँछन् ।

विभागका सूचना अधिकारी रामकुमार श्रेष्ठ भन्छन्, “संविधानले कृषिलाई स्थानीय सरकारको कार्यक्षेत्रभित्र राखेपछि विभागले आफ्ना धेरै कर्मचारी स्थानीय तहमा पठाएका कारण काम गर्न कठिनाइ भएको छ ।”

कृषि उत्पादनसँग जोडिएको सिंचाइ विभाग कृषि मन्त्रालय अन्तर्गत नरहनु पनि प्रभावकारी काम हुन नसक्नुको अर्को कारण भएको उनी बताउँछन् ।

मौसम विज्ञान विभागका मौसम सम्बन्धी तथ्यांक पनि बालीनाली लगाउने कार्यमा उपयोग हुनसकेको छैन । विभागबाट प्राप्त तथ्यांक विश्लेषण गरी त्यसका आधारमा किसानलाई कस्तो बाली लगाउने भन्नेबारे सूचित गर्न कृषि मन्त्रालयले २०७१ सालमा जलवायु प्रकोप समुत्थान निर्माण आयोजना स्थापना गरेको थियो ।

तर आयोजनाको प्रदेश र स्थानीय तहमा कुनै एकाइ नहुँदा त्यस सम्बन्धी काम नै हुनसकेको छैन । स्थापना भएको पाँच वर्षमा आयोजनाले २६ जिल्लामा मात्र नमूना परियोजना सञ्चालन गर्दै आएको छ ।

आयोजना प्रमुख शिवनन्दनप्रसाद शाह भन्छन्, “एकाइहरू विस्तार नहुँदा धेरै किसानकहाँ पुग्न सकिएको छैन । आगामी वर्षसम्ममा कर्मचारी आपूर्ति भएपछि प्रभावकारी रूपमा अघि बढ्छौं ।”

प्रतिकृया दिनुहोस