समाचारमंगलबार, ७ श्रावण , २०७६

प्रधानन्यायाधीश जबरा र रुसी सर्वोच्च अदालतका अध्यक्षबीच भेटवार्ता

रासस

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र रुसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष भ्याचेस्लाभ एम लेवेदेभबीच मंगलबार भेटवार्ता भएको छ।

तस्वीर : रासस

प्रधानन्यायाधीश राणाको मैत्रीपूर्ण निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि सोमबार अध्यक्ष लेवेदेभ नेपाल आइपुगेका हुन् ।

भेटका क्रममा प्रधानन्यायाधीश राणाले नेपालमा न्यायपालिकाको योजनाबद्ध सुधारका रुपमा रहेको रणनीतिक योजना र यसको कार्यान्वयनमा जानकारी दिए ।

उनले रणनीतिक योजनामै समग्र न्यायिक सुधार र न्यायिक सुशासनको विषय प्राथमिकतामा रहेकाले यसको कार्यान्वयन नै प्राथमिकतामा रहेको बताए । प्रधानन्यायाधीश राणाले दुई देशबीच भएको कूटनीतिक सम्बन्ध तथा विगतमा भएका भ्रमण र अनुभव आदानप्रदानले न्यायिक सुधारका लागि सहयोग मिलेको स्मरण गरे ।

रुसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष लेवेदेभले नेपालमा संविधान जारी भएर कार्यान्वयनको अवस्थामा रहेको र यसले नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले दुई देशको न्यायपालिकाको नेतृत्व तहबाट भएका भेटघाट र भ्रमणले एकअर्काको अनुभवको आदानप्रदानबाट अनुशरण गर्न सक्ने कुराहरु आफ्नो अभ्यासमा अवलम्बन गर्न सकिने उल्लेख गरे ।

न्यायपालिकाको रणनीतिक योजना भर्खरै मात्र सार्वजनिक भएको जानकारी पाउँदा खुशी लागेको र यसले न्यायपालिकाको प्रणालीगत सुधार गर्दै लैजान शुभकामना व्यक्त गरे।

यही साउन ९ गतेसम्मको भ्रमणमा आएका अध्यक्ष लेवेदेभसहित भ्रमण दलमा तीन जना रहेका छन् । नेपाल भ्रमणका क्रममा उनीहरूले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानन्यायाधीश राणाले गत जेठमा रुसीे सर्वोच्च अदालतका भ्रमणका क्रममा उनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

प्रतिकृया दिनुहोस