कमजोर कतारसँग नेपालको लज्जास्पद हार
बलिङ र ब्याटिङमा खराब प्रदर्शन गर्दै नेपाल आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारसँग ४ विकेटले पराजित भएको छ ।
टस जितेर ब्याटिङमा आत्मविश्वास देखाएको नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ५.६ ओभरमा ४९ रनको गतिलो साझेदारी गरेका थिए ।
तर, कप्तान खड्का २८ रनमा आउट भएसँगै नेपालले धैर्यता गुमाएको थियो । ज्ञानेन्द्र मल्ल पनि २३ रनमै पभेलियन फर्किएका थिए ।
मध्यक्रमका ब्याष्ट्समेन दीपेन्द्रसिंह ऐरीले ३४ रन जोडेपछि मात्र नेपाल १२२ रनको औसत स्कोरमा पुगेको थियो, जसमा सोमपाल कामीको ११ रनको पनि योगदान रह्यो ।
बाँकीले दोहोरो रन बटुल्न सकेनन् ।
कतारले ६ विकेटको क्षतिमा १९.२ बलमा लक्ष्य पूरा गर्यो ।
कतार टी–२० र्याङ्किङमा २१ औं स्थानमा छ भने नेपाल ११औं स्थानमा ।
कतारका इमान उल हकले ४१, कमरान खानले २२, नौमल सरवरले १५ रन बनाएका थिए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा कतारका इकवाल हुसेनने ३, नौमन सरवार र तमोर सज्जादले २–२ विकेट लिएका थिए ।
नेपालका तर्फबाट भने सन्दीप लामिछानेले ३, करण केसीले १ विकेट लिए ।
प्रतियोगितामा नेपालसहित पाँच देश सहभागी छन् ।