समाचारमंगलबार, ७ श्रावण , २०७६

गुल्मीमा पहिरोः मृत्यु हुनेको संख्या ११ पुग्यो, दुईजना बेपत्ता (अपडेट)

हिमालखबर

गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेकाे स‌ंख्या ११ पुगेकाे छ । दुई जना हराइरहेका छन् । 

तस्वीर : भरत शाही ।

पहिरोले घरहरु बगाउँदा सत्यवती गाउँपालिका वडा नम्बर ३ मा २ जना र ४ मा ८ जनाको मृत्यु भएको हो ।

वडा नम्बर चार भिरकुनामा गाउँमाथिबाट आएको पहिरोले घर पुरिदा निर्मला विक (३२), पम्फा विक (२९), अञ्जली विक (१२), हिमांशु विक (५), छली विक (७०), सिवानी विक (९), तारा विका (९) र नाम नखुलेका एक वर्षीय बच्चाको मृत्यु भएको सदस्य डिल्लीराज भट्टराईले बताए ।

६ साउनदेखि लगातार भइरहेको वर्षाका कारण गएराति  तीन बजे गाउँ माथिबाट आएको पहिरोले छलि विक, चन्द्र बहादुर विक, धन बहादुर विकको घर बगाउँदा उनीहरुकाे मृत्यु भएकाे हाे । 

पहिरोले सूर्यलाल पौडेल, चन्द्र बहादुर विक, रीता विक, बनबहादुर विक, परी विकको घर पनि पुरेको छ । तर पहिरो आएको थाहा पाएपछि ती घरमा मानिसहरु भागेर ज्यान जोगाएका थिए ।

त्यस्तै वडा नम्बर ३ ठूलोलुम्पेकको दाङसिङ्गामा पहिरोले घर बगाउँदा तिलकुमारी तरामु र उनका छोरा दर्शन तरामुको मृत्यु भएको स्थानीयवासी जीतु तरामुले बताए ।

तिलकुमारीकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी तरामु घाइते भएका छन् । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ । तर गाउँबाट बाहिर जाने सडक अबरुद्ध भएको र पानी परिरहेकोले उपचारका लागि लैजान समस्या भएको छ ।

लुम्पेककै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किएँदा दुई जना हराइरहेका छन् । अहिले प्रहरी र स्थानीयबासिन्दाले उनीहरुको खोजी गरिरहेका छन्।

लिम्घामा इलाका प्रहरी कार्यालय खैरेनी र ठूलोलुम्पेकमा इलाका प्रहरी कार्यालय रीडिबाट प्रहरी टोली पुगेको छ । ती वडाहरुमा सबै सडकहरु पहिरोले भत्काएपछि यातायात अबरुद्ध छ ।

जिल्ला सदरमुकामबाट पनि प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली र स्वास्थ्यकर्मीको टोलीसमेत घटनास्थलतर्फ हिँडेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

प्रतिकृया दिनुहोस