गुल्मीमा पहिरोले ६ जनाको मृत्यु, पाँच बेपत्ता
पहिरोमा पुरिएर गुल्मीकाे सत्यवती गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । ५ जना हराइरहेका छन् ।
सत्यवती गाउँपालिका ३ लुम्पेकमा २ जना र वडा नम्बर ४ लिम्घामा ४ जनाको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष सुवर्णा शेरचन शाहीले बताइन् ।
लिम्घाको भिरकुनामा स्थानीय मन बहादुर विक, कालू विक, छलि विक र चन्द्रे विकको घर पहिरोले बगाउँदा ४ जनाको मृत्यु भएको हो । मृतकको पहिचान भने हुन सकेको छैन । भिरकुनामा ५ जना हराइरहेका छन् ।
स्थानियका अनुसार बिहान ४ देखि ५ बजेको समयमा पहिरो गएको थियो ।
त्यस्तै वडा नम्बर ३ ठूलोलुम्पेकको दाङसिङ्गामा पहिरोले घर बगाउँदा तिलकुमारी तरामु र उनका छोरा दर्शन तरामुको मृत्यु भएको स्थानीय जीतु तरामुले बताए ।
तिलकुमारीकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएका छन् । उनीहरुकाे टाउकाेमा गम्भिर चाेट लागेकाे छ । तर गाउँबाट बाहिर जाने सडक अबरुद्ध भएकाे र पानी परिरहेकाे कारण उपचारका लागि लैजान समस्या भएकाे तरामुले बताए ।
लुम्पेककै सिङ्दिमा रुद्रबहादुर विककाे भत्किएँदा दुई जना हराइरहेका छन् ।
अहिले स्थानीयले हराइरहेकाहरुकाे खाेजी र उद्धार गरिरहेका छन् । घटनास्थलतर्फ जनाका लागि इलाका प्रहरी कार्यालय रुरु तथा खैरेनीबाट प्रहरी टाेली हिँडेकाे भएपनि सडक अबरुद्ध भएकाे र बर्षा भइरहेका कारण समयमा पुग्न सकेकाे छैन ।
जिल्ला सदरमुकामबाट पनि प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली घटनास्थलतर्फ हिँडेकाे छ ।