भारतद्वारा चन्द्रयान–२ प्रक्षेपण
भारतले चन्द्रयान–२ चन्द्रमामा सफल प्रक्षेपण गरेको छ । सोमबार स्थानीय समयअनुसार २ बजेर ४३ मीनेटमा सो यान प्रक्षेपण गरिएको हो ।
भारतको दक्षिणी सामुद्रिक तट श्रीहरिकोटा (आन्ध्रप्रदेश) को सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान २ प्रक्षेपण गरिएको थियो । ६४० टन ताैल रहेकाे याे यान करीब ४८ दिनमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने जनाइएको छ ।
एक हप्ता पहिले प्रक्षेपणका लागि तोकिएको समयभन्दा ५६ मिनेट पहिले यानको इन्जिनमा इन्धन चुहावट देखिएका कारण प्रक्षेपण रद्द गरिएको थियो ।
अहिलेसम्म चन्द्र मिसनमा गएका यान सो भागमा अवतरण नगरिएको बताइएको छ । सो यानले सो भागमा पानीको अवस्थितिबारे तथा अन्य सम्भावनाका बारेमा जानकारी पठाउने बताइएको छ ।
चन्द्रमाको यो भाग उत्तरी ध्रुवको तुलनामा अत्यधिक छायामा रहने हुँदा यस भागमा पानी हुनसक्ने भनी वैज्ञानिकहरूले अनुमान गरेका छन् । यानले पानीको मात्रा केकति छ भन्ने बारेमा पत्ता लगाउने बताइएको छ । –एजेन्सी