टिप्पणीसोमबार, ६ श्रावण , २०७६

कुबेलाको भेनेजुएला चासाे

शेखर खरेल

कूटनीतिक र आर्थिक दृष्टिले खासै महत्व नरहेको भेनेजुएलाप्रति नेपाली शासकको सदाशयता आवेगपूर्ण कूटनीतिको नमूना हो ।

शेखर खरेल

असार अन्तिम साताको झरीमा राजधानी काठमाडौं रुझिरहँदा ल्याटिन अमेरिकी देश भेनेजुएलाको बाछिटा पनि सुटुक्क नेपाल छिर्‍यो । जसले यहाँको राजनीतिक र कूटनीतिक भावभूमिलाई ओसिलो बनाइदियो ।

भेनेजुएलाबाट नेपाल छिरेको बाछिटा त्यहाँका ‘समाजवादी’ शासक अर्थात् राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा (जुनियर) थिए ।

तीन उप–मन्त्री सहितको टोलीको नेतृत्व गरेका मादुरो जुनियर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साधारण कक्ष प्रयोग गरेर २८ असारमा नेपाल प्रवेश गरेका थिए ।

यद्यपि उक्त टोलीको भ्रमण साधारण भने रहेन । किनकि सतहमा अनौपचारिक बताइए पनि भ्रमणको खास राजनीतिक उद्देश्य थियो ।

२०१३ अप्रिलमा क्यान्सरका कारण भेनेजुएलाका शासक ह्युगो चाभेजको मृत्युपछि उनका उत्तराधिकारीका रूपमा निकोलस मादुरो उदाए । सन् २०१८ को मे महीनाको आमनिर्वाचन मार्फत ६ वर्षका लागि पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि मादुरो देश भित्र र बाहिर आलोचित भइरहेका छन्।

निकोलस अर्नेस्टो मादुरो गुयरा (जुनियर) सँगको भेटमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल।

व्यापक धाँधलीको आरोप लागेको त्यस निर्वाचनमा धेरैजसो विपक्षी दलले भाग लिएनन् । गएको जनवरीमा मादुरो झनै चौतर्फी निशानामा परे, जतिबेला विपक्षी दलका नेता हुआन गुएइदोले आफूलाई कार्यवाहक राष्ट्रपति घोषणा गरे ।

गुएइदोको घोषणालाई अमेरिका लगायत ५० राष्ट्रले मान्यता दिइसकेका छन्, जसमा धेरै युरोपेली र केही ल्याटिन अमेरिकी मुलुक छन् । उता रूस, चीन र टर्की जस्ता राष्ट्रहरू मादुरोको पक्षमा उभिएपछि उनको समर्थन र विरोधमा विश्वव्यापी तनाव पैदा भएको छ ।

मादुरो जुनियरको चारदिने नेपाल भ्रमण पनि यसै पृष्ठभूमिमा भएको हो । किनकि, निजी वा अनौपचारिक भनिएको भेनेजुएली टोली बसाइ अवधिभर घुमघाममा नभएर बाक्लो राजनीतिक भेटघाटमा व्यस्त रह्यो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन युवा संघको निमन्त्रणामा एक अन्तरक्रिया कार्यक्रमका लागि नेपाल आगमन भनिए पनि यसको उद्देश्य र अन्तर्य बेग्लै थियो ।

भेनेजुएली टोलीलाई नेपाल भित्र्याउने मुख्य योजनाकार नेकपाका तर्फबाट राष्ट्रिय सभाका सांसद बलराम बास्कोटा थिए । बेलाबखत भेनेजुएला पुगिरहने र राष्ट्रपति मादुरोसम्म पहुँच बनाउन सफल उनी भेनेजुएलालाई नेपालको समर्थनका लागि प्रयासरत रहँदै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली गत जनवरीमा वल्र्ड इकोनोमिक फोरमको सम्मेलनका लागि स्विट्जरल्याण्डको डावोसमा रहेका बेला उनै बास्कोटाले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट मादुरोको पक्षमा सनसनीपूर्ण वक्तव्य दिलाउन सफल भएका थिए ।

दाहालको वक्तव्यबाट क्षुब्ध नेपालस्थित अमेरिकी दूतावासले भेनेजुएला मामिलामा नेपालको दृष्टिकोण प्रष्ट पार्न परराष्ट्र मन्त्रालयलाई एक पत्र नै पठाएको थियो । अमेरिकी प्रतिक्रियाबाट अत्तालिएका दाहालले त्यसउप्रान्त नेपालस्थित अमेरिकी राजदूतसँग भेटवार्ता गर्दै आफूबाट असावधानीवश त्यस प्रकारको वक्तव्य जारी हुन पुगेको स्पष्ट पारेका थिए ।

यो भ्रमणबाट भेनेजुएली टोली आफ्नो मिसनमा सफल बन्यो, तर कूटनीतिक मामिलामा नेकपा नराम्ररी चुक्न गयो । भलै मादुरो जुनियर टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गर्न सकेन, तर सत्तासीन पार्टीका सबै शीर्ष नेतासँगको भेटघाट भेनेजुएलालाई नेपाली शासकको समर्थन रहेको सन्देश दिन काफी रह्यो ।

यसैबीच, परराष्ट्र मन्त्रालयबाट कूटनीतिक भाषाको शिष्ट वक्तव्य जारी भएपछि उक्त प्रकरण मत्थर हुन पुगेको थियो ।

अहिले सांसद बास्कोटा दाहालको भेनेजुएलाप्रतिको समर्थनलाई पुनर्पुष्टि गराउन सफल भएका छन् । मादुरो जुनियरको भ्रमणबाट दाहाल मात्र नभएर समग्र नेकपा नै मादुरोको समर्थनमा रहेको सन्देश प्रवाहित भएको छ ।

किनकि, मादुरो जुनियर टोलीले दाहालसँगै नेकपाका अन्य दुई नेता एवं पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनालसँग समेत भेट गरेको छ । अझ खनाल त मादुरो टोली र युवासंघबीचको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नै बने ।

यो भ्रमणबाट भेनेजुएली टोली आफ्नो मिसनमा सफल बन्यो, तर कूटनीतिक मामिलामा नेकपा नराम्ररी चुक्न गयो । भलै मादुरो जुनियर टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गर्न सकेन, तर सत्तासीन पार्टीका सबै शीर्ष नेतासँगको भेटघाट भेनेजुएलालाई नेपाली शासकको समर्थन रहेको सन्देश दिन काफी रह्यो ।

मादुरो जुनियरको टोली भेनेजुएलाको वर्तमान शासकको पक्षमा समर्थन जुटाउन विभिन्न देशको भ्रमण गरिरहेको छ । विश्व राजनीति र कूटनीतिमा भेनेजुएलाप्रतिको नेपालको समर्थन वा विरोधले कुनै अर्थ र महत्व नराख्ने भए पनि निकोलस मादुरोको सरकारलाई गरेको ‘समर्थन’ बाट लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको अमेरिका सहित पश्चिमा मुलुकहरूलाई भने चिढ्याएको छ ।

कूटनीतिक, आर्थिक वा पर्यटकीय दृष्टिले खासै महत्व नरहेको भेनेजुएलाप्रति नेपाली शासकको सदाशयता नेपालको आवेगपूर्ण कूटनीतिको नमूना हो ।

कूटनीति आवेग वा प्रतिक्रिया भन्दा चातुर्य र संयमबाट चल्नुपर्छ भन्ने हेक्का नेपाली सत्तापक्षलाई हुन नसकेको एउटा दृष्टान्त हो, मादुरो जुनियरको भ्रमण ।

प्रतिकृया दिनुहोस