थप समाचारसोमबार, ६ श्रावण , २०७६

मोरङमा वैध बन्दुककाे संख्या १९७

कमल रिमाल

मोरङमा सुरक्षाका कारण व्यक्तिले राखेका तीन सय भन्दा बढी बन्दुकमध्ये १ सय ९७ मात्र नवीकरण भएका छन्।

पत्रकार सम्मेलनमा सहायक प्रजिअ पाण्डेलगायत । तस्वीर : कमल रिमाल

यस आर्थिक वर्षमा सयको हाराहारीमा अरु बन्दुक अवैध भएका छन् । मोरङ प्रशासनमा १८ जनाले बुझाएका बाहेक व्यक्तिको घरमा रहेका अवैध बन्दुक जिम्मा लगाउन प्रशासन कार्यालयले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरी गत आर्थिक वर्षको विवरण सार्वजनिक गर्ने क्रममा पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको घरमा रहेको बन्दुकसमेत अवैध भएको जनाएको छ ।

जिल्ला प्रशासन मोरङमा १ सय ८३ र इलाका प्रशासन कार्यालय उर्लाबारीमा १४ वटा बन्दुक नवीकरण गराइएको छ । विष्टको निधन भएको दुई वर्षसम्म पनि बन्दुक नवीकरण नगरिएकाले अवैध भएको बताइन्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा मोरङ प्रशासनका प्रवक्ता उमेश पाण्डेले विष्टको घरमा रहेको बन्दुक काठमाडौंमा दर्ता रहेको बताए ।
“पूर्व प्रधानमन्त्रीको घरमा रहेको बन्दुक नवीकरणको समय सकिएको छ”, पाण्डेले भने ।

बन्दुक नवीकरणबाट मोरङ प्रशासनले एक वर्षमा रु १ लाख ९६ हजार राजश्व संकलन गरेको छ । व्यक्तिका घरमा रहेका हतियार एक वर्षसम्म नवीकरण नभए स्वतः अवैध हुने सहायक प्रजिअ पाण्डेको भनाइ छ ।

माेरङमा एक वर्षको अवधिमा ८ जनाले नेपालको नागरिकता त्याग गरेका छन् । तेस्रो मुलुकमा रहेकाहरूले सम्बन्धित देशबाटै दूतावास कार्यालय मार्फत नागरिकता त्यागेको आवेदन दिएका हुन् ।

यस्तै मोरङमा झुटो विवरण पेश गरी २२ वर्षको अवधिमा नागरिकता बनाएका ८० मध्ये ११ जनाको मात्रै मुद्दाको फैसला भएको छ । यसखाले मुद्दा अधिकांश जग्गा सम्बन्धी देखिएकाले फैसलामा ढिलाइ भएको पाण्डेले बताए ।

मोरङबाट एक वर्षमा १४ हजार २५५ जनाले वंशजको र ८ सय ७७ जनाले वैवाहिक अंगीकृत नागरिकता बनाएका छन् । यस अवधिमा ८ हजार ६ सय ४४ जनाले नागरिकताको प्रतिलिपि पनि बनाएका छन् ।

गएको वर्षमा जिल्लाबाट १२ हजार ९ सय ४५ जनाले राहदानी बनाएका छन् । सहायक प्रजिअ पाण्डेका अनुसार, दु्रत सेवा मार्फत रु १५ हजार तिरेर एकै दिनमा, रु १२ हजारमा दुई दिनमा र रु १० हजार तिरेर तीन दिनमा राहदानी बनाउनेको संख्या २ हजार, ५ सय १९ छ ।

 

प्रतिकृया दिनुहोस