माथिल्लो तामाकोशीमा पेनस्टक पाइप जडान हुँदै, उत्पादन चैतदेखि
स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सबैभन्दा जटिल र चुनौतीपूर्ण मानिएको ठाडो सुरुङमा २७ दशमलव ५ मीटर पेनस्टक पाइप जडान गरिएको छ ।
माथिल्लो ठाडो सुरुङमा ७.५ मीटर र तल्लो ठाडो सुरुङमा २० मीटर पेनस्टक पाइप जडान गरिएको हो।
अत्यन्तै चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा लामो समयको प्रयासपछि गत १ असार र माथिल्लो सुरुङमा ९ असारबाट पेनस्टक पाइप जडान शुरु गरिएको थियो । अब ५ मीटर लम्बाइ र २७ टन तौल भएका ७० वटा पाइप जडान गर्न बाँकी छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजना प्रवद्र्धक अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आइतबार निर्माणस्थलको निरीक्षण गरी पछिल्लो पटक तय गरिएको समय तालिकाभित्रै र गुणस्तरमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीहरूलाई निर्देशन दिए ।
“जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट (७६ मेगावाट) र त्यसपछि बाँकी ५ युनिटबाट असार भित्रमा (आर्थिक वर्ष २०७६\७७) विद्युत उत्पादन गरी आयोजनाको निर्माण सम्पन्न गर्नु पर्छ”, घिसिङले निर्देशन दिंदै भने । जनशक्ति बढाएर दिनमा तीन सिफ्टमा काम गर्न पनि उनले ठेकेदार कम्पनीहरूलाई निर्देशन दिए ।
यसअघि यो आयोजना आगामी हिउँदको शुरुआतमै सकिने बताइएको थियो । तर, पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि आयोजनाको तालिका पनि पछि सरेको हो ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको गत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले हरेक महीना आयोजनास्थलमा पुगी निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरू र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्दै आएका छन् ।
मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महीना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए ।
पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।
तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङ लगायतका काम गर्न ३६५ घण्टा लागेको थियो । अहिले चौथो पाइप जडान गर्दा समय घटेर १२८ घण्टामा झरेको छ ।
“जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट (७६ मेगावाट) र त्यसपछि बाँकी ५ युनिटबाट असार भित्रमा (आर्थिक वर्ष २०७६\७७) विद्युत उत्पादन गरी आयोजनाको निर्माण सम्पन्न गर्नु पर्छ”, घिसिङले निर्देशन दिंदै भने । जनशक्ति बढाएर दिनमा तीन सिफ्टमा काम गर्न पनि उनले ठेकेदार कम्पनीहरूलाई निर्देशन दिए ।
कार्यकारी निर्देशक घिसिङले पाइप जडानका लागि लाग्ने समयलाई अझै घटाउन एन्ड्रिज हाइड्रोलाई निर्देशन दिए । ४ वटा पाइप जडान गरिसकेकाले अब ठेकेदार कम्पनीको आत्मविश्वास बढेकाले कामलाई तीव्रता दिने आयोजनाको विश्वास छ ।
माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि घिसिङले भारतको कोलकातास्थित टेक्सम्याकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) जीसी अग्रवाललाई आयोजनास्थलबाटै फोन गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरे ।
“टेक्सम्याकोले कुनै पनि समय तालिकाअनुसार काम गरेको छैन, कम्पनीको साइटमा खटिएको व्यवस्थापन ज्यादै कमजोर छ, काममा पर्याप्त जनशक्ति पनि परिचालन गरिएको छैन”, उनले थपे, “व्यवस्थापन सुधार गरी जनशक्ति थपेर साइटको क्रियाकलाप बढाउनुहोस् ।”
२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
आयोजनाको निर्माण आर्थिक वर्ष २०७३\७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्प लगायत कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५\७६को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो ।
तर, लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सीईओ विज्ञानप्रसाद श्रेष्ठले बताए । आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ ।