जापानले लैजाने कामदारको भाषा परीक्षा कार्तिकमा
जापानले नेपालबाट लैजाने कामदारको भाषा र सीपसम्बन्धी परीक्षा आउने कार्तिकमा हुने भएको छ ।
१० र ११ कार्तिकमा भाषा परीक्षा र २० र २१ कार्तिकमा सीपसम्बन्धी परीक्षा हुने श्रम मन्त्रालयले जनाएको छ ।
“भाषा परीक्षाको लागि अक्टोबर महीनाको २७ र २८ तारिख तोकेका छौं', श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले भने, "त्यसपछि सीपसम्बन्धी परीक्षा नोभेम्बरको ६ र ७ तारिखमा हुन्छ।"
भाषा र सीपसम्बन्धी परीक्षा सकिएको दुई महिनाभित्र नेपाली कामदार जापान जाने सचिव दहालले बताए। मन्त्रालयका अनुसार कामदारको स्वास्थ्य जाँच कसरी गर्ने भन्ने विषयमा भने जापानी पक्षसँग छलफल भइरहेको छ ।
जापान सरकारले शुरूमा नेपालबाट अरूको हेरचार गर्ने 'केयरगिभर' लिन चाहेको छ । तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको भन्ने चाहिँ जानकारी आइनसकेको दाहालले बताए ।
श्रम मन्त्रालयका अनुसार जापान जाने कामदारले परीक्षा शुल्क र टिकटको पैसा तिर्नुपर्ने सर्त जापानले राखेको छ ।
सरकारी तवरबाटै नेपालीकामदार जापान जाने प्रकृया शुरु भएकाे याे पहिलाे पटक हाे । डिसेम्बर २०१८ मा जापानको मन्त्रिपरिषद्ले विदेशी कामदारलाई आफ्नो देशमा भित्र्याउने नीति पारित गरेपछि नेपालीलाई पनि कामदारका रूपमा जापान जाने बाटो खुलेको थियो।
जापानले नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा नेपाल लगायत अन्य आठवटा मुलुकबाट कामदार लिन खोजेको बताइएको छ।
त्यसका लागि जापान सरकारले ३ लाख ४५ हजार जनालाई कामको अनुमति दिने जनाएको छ। कामदारका रुपमा जापान जानेहरु पाँच वर्षका लागि काम गर्ने अनुमति पाउँछन् ।
जापानमा नीति पारित भएपछि चैत २०७५ मा नेपाल र जापान सरकारबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओयू) मा हस्ताक्षर भएको थियो।
जापानले नेपालबाट १४ वटा विभिन्न क्षेत्रमा काम गर्नका लागि कामदार लैजाने दुई सरकारीबीच भएको सहमति भएकाे छ । तर पहिलो चरणमा भने केयरगिभर मात्र लैजाने बताएको बीबीसीले जनाएकाे छ ।