समाचारसोमबार, ६ श्रावण , २०७६

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३७ औं स्मृति दिवस

रासस

आज नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी उनका योगदानको सम्झना गरीँदै छ । 

२४ भदौ १९७१ मा जन्मेका कोइरालाको निधन ६ साउन २०३९ मा भएको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइराला जेठ २०१६ जेठमा प्रधानमन्त्री बनेका थिए ।  

कोइरालाले साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ । 

वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित आत्मवृत्तान्त ‘जेल जर्नलले उनका बारेमा यथार्थता बताउँछ ।  

प्रधानमन्त्री भइसकेपछि बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका काेइरालालाई १ पुस २०१७ मा जननिर्वाचित सरकार अपदस्त गरिएपछि सिंहदरबारमा बन्दी बनाइएको थियो ।

एक महीनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा राखिएकाे थियाे । 

२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । 

भारतमा रहँदा पनि प्रजातन्त्र पुनस्थापनाका पक्षमा सङ्घर्ष गरेकाे काेइरालाले राष्ट्रियता कमजोर भएको विश्लेषण गरी १६ पुस २०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केका थिए ।  उनले अ‌ँगालेकाे मेलमिलापको नीतिको आज पनि चर्चा हुने गर्दछ ।

काेइरालाकाे सम्मानमा सरकारले उनलाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहमा २४ भदौ २०६१ देखि विपी सङ्ग्रहालय स्थापना गरेकाे छ । जहाँ विपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, काङ्ग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।

विपी स्मृति दिवसका अवसरमा काङ्ग्रेस, भ्रातृ संस्था र विपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

विपी स्मृति दिवसकाे समय पारेर सङ्ग्रहालयले तेह्रथुमका तेजमान तुम्बाहाम्फे, सुनसरीका रवीन्द्र राई र मिसरु मियाँलाई संयुक्त रुपमा प्रजातन्त्र सेनानी पुरस्कार दिने कार्यक्रम छ । सङ्ग्रहालयले विसं २०६९ देखि विपी कोइराला प्रजातन्त्र सेनानी पुरस्कार वितरण शुरु गरेको हो । 

प्रतिकृया दिनुहोस