ब्लगआइतबार, ५ श्रावण , २०७६

क्यान्सर गन्तव्य

कनकमणि दीक्षित

किफायती र विश्वसनीय क्यान्सर उपचार मुलुकभित्रै उपलब्ध हुँदो हो त नागरिक भारतमा भौंतारिनु पर्दैनथ्यो । 

सिद्धार्थ गौतमको बेला शाक्य राज्य राजधानी कपिलवस्तुको पूर्वपट्टि छेवैबाट बग्दथ्यो, रोहिणी नदी । तर, यो नाम आज इतिहासको गर्भमा पुगेको छ । बरु, भारतीय राजधानी दिल्लीबाट २० किमी दक्षिण रहेको छ, रोहिणी शहर ।

हरेक वर्ष हजारौं नेपालीको गन्तव्य बनेको छ, रोहिणी आस्था र कहाली दुवैको केन्द्र । कारण, रोहिणीमा अवस्थित राजीव गान्धी क्यान्सर अस्पताल । सरकारी या निजी होइन, गैरनाफामुखी गुठीद्वारा संचालित यो संस्था पछिल्लो दशक नेपालका क्यान्सर रोगीको छनोटको गन्तव्य बनेको छ । 

गत साताको दिल्ली भ्रमणमा राजीव गान्धी क्यान्सर अस्पताल जाने निधो गर्‍यौं । फराकिलो हाइवे हुँदै गइयो, तर जब रोहिणी पुगियो, अस्पतालमा आउने बिरामी र कुरुवाका कारण सबैतिर जाम, खचाखच । अस्पतालको फोयर छिर्दै गर्दा विदेशी बिरामी सम्पर्क अधिकृत भेटिए, निर्मल विलिएम् । 

 राजीव गान्धी क्यान्सर अस्पतालमा क्यान्सरमुक्त हुँदै गरेका बुटवलका बिरामी । सबै तस्वीरः कनकमणि दीक्षित

सबैले सजिलोको लागि भन्ने गरेको ‘राजीव गान्धी’ हामी पुग्दा २८ जना नेपाली बिरामी अस्पताल शय्यामा रहेछन् । निर्मलले बताए, “दिनहुँ ६ देखि १० नेपाली बिरामी परिवार सहित यहाँ आउँछन् कोही भर्नाका लागि, कोही 'चेक अप' मा ।”

अस्पतालका ७ बिरामीमा सालाखाला एक नेपाली हुँदा रहेछन् । हामीले देखेका आवासीय २८ बिरामीमध्ये अधिकांश ४५ काटेका थिए, महिला र पुरुषको अनुपात लगभग उत्तिकै। एउटी ८ वर्षे बच्ची भेटिइन्, र १५–२१ असार हिमाल को नेपालका क्यान्सर पीडित बालबालिकाको आवरण सम्झिएँ ।

अस्पतालको कोरिडर, फार्मेसी, फोयर, लिफ्ट — नेपाली लवज जताततै सुनिने, नेपाली टोपी पनि खोज्नै नपर्ने । गाउँका किसानदेखि उपत्यकाका मध्यम वर्ग, उच्च पदमा रहेका कर्मचारी र तिनका परिवार — हरेक तह, तप्का र क्षेत्रका नेपाली भेटिने ‘राजीव गान्धी’ मा ।

नेपालभित्रै क्यान्सर अस्पतालको संख्या, फैलावट, शय्या संख्यामा वृद्धि, उपचार स्तर र सुलभतामा ध्यान नदिई सुखै छैन । किनकि क्यान्सरको आक्रमणबाट तपाईं–म, जो–कोही, जुनसुकै बेला थला पर्ने अवस्था छ ।

फार्मेसीमा भेटिए बुटवलका एक अधबैंसे, जो अलि धुजा परेको प्रेस्क्रिप्शन् बोकेर काउण्टरछेउ भौंतारिइरहेका थिए । पहिले उपत्यका पछि भरतपुरको अस्पतालमा जँचाउँदा पेटमा क्यान्सर देखिएपछि आत्तिएका परिवारले उनलाई सीधै दिल्ली ल्याएका रहेछन् ।

पत्ता लागिसक्दा तेस्रो ‘स्टेज’ को क्यान्सर भए पनि गत पाँच महीनामा क्रमिक सुधार भएको उनले सुनाए । तोकिएको कुल १२ केमोथेरापी सेसनमध्ये ९ सकिंदा आन्द्रामा क्यान्सरको पिडका, दागमा परिणत भई त्यो पनि हराइसकेको रहेछ । यो सुखद् उपलब्धिको लागि उपचार र परिवारजन सहितको खानपिन र बसाइ गरिकन भारु १० लाख खर्च भइसकेको रहेछ ।

बुटवलका ती बिरामी पनि अरु नेपाली जस्तै रोहिणीको सोम बजार क्षेत्रमा बस्दा रहेछन् । सोम बजारमा भेटिएका रक्सौलका रिक्सा चालकलाई अस्पतालबाट ओहोरदोहोर गराइरहँदा गृह–शहर पुगेको भान हुनेरहेछ । बाटोघाटोमा यसो नेपाली जस्तो लागेर कुरा गर्दा गल्ती पनि नहुने रहेछ ।

अस्पतालका विदेशी बिरामी सम्पर्क अधिकृत निर्मल विलिएम् ।

सोम बजारका तीनतले भवनहरूको फ्ल्याटको दैनिक किराया भारु ६०० जति रहेछ । महीनाको कुल भारु १८ हजार । खानपानमा मितव्ययी राखे अर्को १८ हजार खर्चने हो भने पनि उपचार खर्च बाहेक कम्तीमा मासिक भारु ३६ हजार सकिने ।

‘राजीव गान्धी’ को उपचार खर्च र रोहिणीको कम खर्चिलो दैनिक गुजाराको तुलनामा गुडगाउँका मेदान्त जस्ता महँगा अस्पताल र नयाँदिल्लीको घर किरायाले त पकेट झनै रित्याउने । 

प्रश्न उठ्छ, किन क्यान्सर रोकथाम, प्रतिरक्षा र सामनामा नेपालले पर्याप्त काम गर्न सकिरहेको छैन ? मुलुकभित्रै क्यान्सर पहिचान र उपचार गर्न किन यस्तो कठिनाइ, या त बिरामीको चाप अप्रत्याशित हिसाबले बढेको हो ?

पहिलेभन्दा अहिले त धेरै विशेषज्ञ संस्था छन् यहाँ, जस्तो कि भरतपुर, भक्तपुर र हरिसिद्धिका क्यान्सर अस्पताल । क्यान्सर भने प्रकोप जसरी फैलिइरहेछ, यो चाहिं पक्का हो ।

विशेषगरी आयातित र देशमै उत्पादित खाद्यवस्तुमा प्रयोग हुने विषादी, उपत्यका र अन्य शहरमा डिजल र पेट्रोलको प्रयोग तथा प्लास्टिक, रबर टायर, फोहोर जलाउँदाको वायु प्रदूषणद्वारा क्यान्सर बढ्दो छ । चुरोट, खैनी र गुट्खा सेवनको मात्रा घटेको देखिंदैन । पुरुषलाई फोक्सो, पेट, प्रोस्टेट क्यान्सरको ग्राफ उक्लँदो छ । महिलामा ‘सर्भिक्स’, स्तन र पाठेघरको क्यान्सरले बढी असर पारेको छ ।

अस्पतालको कोरिडर, फार्मेसी, फोयर, लिफ्ट — नेपाली लवज जताततै सुनिने, नेपाली टोपी पनि खोज्नै नपर्ने । गाउँका किसानदेखि उपत्यकाका मध्यम वर्ग, उच्च पदमा रहेका कर्मचारी र तिनका परिवार — हरेक तह, तप्का र क्षेत्रका नेपाली भेटिने ‘राजीव गान्धी’ मा ।

एकातर्फ क्यान्सर निम्त्याउने वातावरण, आनीबानी र जीविकासँग सम्बन्धित ‘प्रिभेन्टिभ्’ काम हुनुपर्‍यो, जस्तै पेट्रोलियम पदार्थ प्रयोगमा कमी, वायु प्रदूषण नियन्त्रण र विषादीयुक्त खाद्यान्नमा पूर्णतः बन्देज ।

अर्को, क्यान्सर रोग पहिलो या दोस्रो ‘स्टेज’ मा रहँदै पहिचान हुने सेवा मुलुकभर उपलब्ध हुनुपर्‍यो । नेपालभित्रै क्यान्सर अस्पतालको संख्या, फैलावट, शय्या संख्यामा वृद्धि, उपचार स्तर र सुलभतामा ध्यान नदिई सुखै छैन। किनकि क्यान्सरको आक्रमणबाट तपाईं–म, जो–कोही, जुनसुकै बेला थला पर्ने अवस्था छ ।

जहाँ उपचार राम्रो पाइन्छ, मानिस त्यतै जाने हो । नेपालीलाई दिएको सेवाप्रति राजीव गान्धी क्यान्सर अस्पताल धन्य छ । तर, ‘राजीव गान्धी’ पुग्नै नपर्ने अवस्था लेराउनु हाम्रो कर्तव्य हो । 

प्रतिकृया दिनुहोस