नेकपाकाे बैठक सकियाे, ७७ जिल्ला र ६ महानगर इन्चार्जकाे टुंगाे (नामावलीसहित)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ वटा महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ ।
आज बालुवाटारमा बसेको सचिवालय बैठकमा ७७ जिल्ला र ६ महानगरको मात्र इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपाले महानगरलाई पनि जिल्ला सरह मानेर ८३ जिल्ला संगठन कायम गरेको छ । सचिवालयले टुंग्याएकाे जिल्ला इन्चार्ज र सह इन्चार्ज सम्बन्धी निर्णय स्थायी समिति र केन्द्रीय समितिमो पेश गर्ने श्रेष्ठले बताए ।
विभाग, आयोग, केन्द्रीय निकाय र प्रवास समितिको नेतृत्व भने आजकाे बैठकमा निर्णय हुन सकेन ।
यसअघि दुईजना अध्यक्षबीच ३१ असारमा भएको सहमति अनुसार सबै विषय आजको बैठकले टुंग्याउने भनिएको थियो ।
प्रवक्ता श्रेष्ठले विभाग, आयोग, केन्द्रीय निकाय र प्रवास समितिको नेतृत्वबारे ७ साउनमा बस्ने सचिवालय बैठकले निर्णय गर्ने जानकारी दिए ।
बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसाे १ बजे बस्ने छ ।