नेकपाको सचिवालय बैठक शुरु, स्कूल विभागका कारण अन्याेल कायमै
दुई अध्यक्षको सहमति अनुसार पार्टी एकताको विषय टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जिल्ला इन्चार्ज र सह–इन्चार्ज, जनसंगठनका प्रमुख, उपप्रमुख, केन्द्रीय आयोग, केन्द्रीय विभाग, विशेष प्रदेश, विशेष जिल्ला लगायत नेतृत्वको विषयमा औपचारिक निर्णय गर्ने छ।
३१ असारमा दुई अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहालबीच भएको सहमति अनुसार ती विषय टुंगिएकाले आजको बैठकले औपचारिक निर्णय गर्ने नेकपा नेताहरुले बताएका छन् ।
दुई अध्यक्षले ३२ वटा विभागमा १८ वटा विभाग पूर्व एमाले र १४ विभाग पूर्व माओवादी केन्द्रका भागमा रहने गरी टुंग्याएका छन् ।
तर पार्टी स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाउने वा नारायणकाजी श्रेष्ठले पाउने भन्ने विषयमा विवाद छ । प्रधानमन्त्री केपी ओली र महासचिव विष्णु पौडेललगायत पोखरेलको पक्षमा छन भने पूर्व माओवादी केन्द्रका नेताहरु श्रेष्ठको पक्षमा छन् ।
यो विषयमा छलफल गर्न हिँजाे बेलुका पूर्व एमाले समूह र आज बिहान पूर्व माओवादी समूहको छुट्टाछुट्टै बैठक समेत बसेको थियो ।
स्कूल विभागको नेतृत्वमा सहमति नभएसम्म अरु विषयमा निर्णय नगर्ने अडान नेताहरुले राख्ने सम्भावना रहेकोले स्कूल विभागमै आजको बैठक अलमलिने सम्भावना पनि रहेकाे छ ।
स्कूल विभागमा सहमति भएमा लामाे समयदेखि थाती रहेकाे पूर्व नेकपा (एमाले) र पूर्व नेकपा (माओवादी केन्द्र) काे एकता प्रक्रिया आजदेखि टुंगिने छ ।