छुट्टाछुटै घटनामा पाँचजनाको मृत्यु
सिरहाको छुट्टाछुटै स्थानमा भएका घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।
शनिबार सर्पले टोकेर दुईजना, डुबेर दुईजना र करेण्ट लागेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ की पाँच वर्षीया सन्ध्याकुमारी साह र कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी २२ वर्षीय तिलक बरालको मृत्यु भएको छ ।
साहकाे आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्टाको औंलामा टोकेपछि उपचारको लागि लहानतर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको हाे । बराललाई भने बन्दीपुरस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यस्तै पोखरीमा डुबेर अर्नामा गाउँपालिका– १ का पाँच वर्षीया साक्षीकुमारी पाल र कल्याणपुर नगरपालिका ४, महुलियाटोलका तीन वर्षीय महमद अफरोस हुसेन मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आफ्नै घरको अगाडि खाल्डोमा खेल्दाखेल्दै पानीमा डुबेका पालकाे घटनास्थलमै मृत्यु भएकाे हाे । डुबेर सिकिस्त भएका हुसेनलाई भने उपचारका लागि मिर्चैया प्राथमिक स्वाथ्य केन्द्र अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
सिरहाकै गोलबजार नगरपालिका–४ स्थित भर विश्वकर्मा सप्लायर्स ग्रिल उद्योगका सञ्चालक मनिषकुमार विकको करेण्ट लागेर मृत्यु भएको छ ।
ग्रिल उद्योगमा काम गर्ने क्रममा विद्युतको तार सर्ट भई अचानक करेन्ट लाग्दा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
२० वर्षीय विक सर्लाहीको घर भने बागमती नगरपालिका–८ सोल्टी रहेकेा प्रहरीले जनाएकाे छ ।