कला/साहित्यशनिबार, ४ श्रावण , २०७६

हिजोको कूटनीति

रामेश्वर बोहरा

भनाइ नै छ– कूटनीतिमा जे भनिन्छ त्यो गरिंदैन, जे गरिन्छ त्यसबारे सामान्यतः बोलिंदैन । आफ्नो मुलुकको हित रक्षा र प्रवर्द्धनका निम्ति प्रायः कूटनीतिज्ञले संसारभर अवलम्बन गर्ने मान्यता हो, यो । 

परम्परागत कूटनीतिदेखि आजको आधुनिक अभ्यासमा समेत यो मान्यता उत्तिकै प्रचलित छ । पदमा रहँदा भनाइ र गराइबीचको यही अन्तरमा अभ्यस्त नेपालका २० जना पूर्व कूटनीतिज्ञहरूले त्यो अनुभवलाई सार्वजनिक जानकारीका लागि पुस्तकमा उतारेका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा प्रकाशित नेपालको कूटनीतिक अभ्यासः राजदूतहरूको अनुभव नामक पुस्तक त्यसकै उदाहरण हो ।

हिजोका दिनमा विभिन्न मुलुकमा खटिने राजदूतहरूको कूटनीतिक अभ्यास सधैंका लागि गोप्य मानिन्थ्यो । पदमुक्त भएपछि पनि ती राजदूतहरूले आफ्नो कार्यकालका अनुभव सार्वजनिक गर्दैनथे । समयक्रममा त्यो मान्यता भंग हुँदै गयो ।

पश्चिमाहरू मात्र नभई छिमेकी मुलुकका अवकाशप्राप्त कूटनीतिज्ञहरूले पदमा रहँदाका अनुभवहरूलाई पुस्तक मार्फत सार्वजनिक जानकारीमा ल्याउन थाले । लेखक/राजनीतिकर्मी विष्णु रिजालद्वारा सम्पादित नेपालको कूटनीतिक अभ्यासः राजदूतहरूको अनुभव नेपालका सन्दर्भमा त्यसकै पहिलो प्रयोग हो ।

मुलुकको विदेश सम्बन्धलाई दिशानिर्देश गर्ने कूटनीति स्वयंमा पूर्ण हुँदैन, बरु यो कूटनीतिज्ञहरूको प्रयोग, अनुभव र सिकाइसँगै परिष्कृत हुँदै जान्छ । त्यस हिसाबले विभिन्न कालखण्डमा विभिन्न मुलुकमा नेपालको प्रतिनिधित्व गरेर बसेका २० जना पूर्व कूटनीतिज्ञहरूको अनुभव समेटिएको यो पुस्तक स्वयंमा वजनदार छ ।

किनभने, यो उमेर र अनुभवले खारिएका उनीहरूको स्मृति मात्र नभएर त्यो कालखण्डको कूटनीतिलाई चियाउने ऐना पनि हो । त्यस्तो ऐना, जस मार्फत अहिलेको पुस्ताले त्यसबेलाको कूटनीतिक अभ्यासलाई हेर्न, बुझ्न र त्यसलाई आजको सन्दर्भसँग जोड्न सक्छ ।

काम गर्ने क्रममा आफूबाट भए/गरेका गल्ती, कमी–कमजोरी र त्यसले मुलुकको हितमा पारेका वा पार्न सक्ने प्रभावहरू भने नजरअन्दाज भएको छ । पुस्तक पढिरहँदा पाठकको मनमा उब्जिने स्वाभाविक प्रश्न हो– २० जना पूर्व कूटनीतिज्ञहरू जिम्मेवारी बहनका क्रममा कहीं कहिल्यै चुकेनन् त ? त्यस्तो घटना नै भएन त ? पछिल्लो समय मौलाएको आत्मवृत्तान्त लेखनीमा देखिएको स्वप्रशंसाको धेरथोर छनक मिल्नु पुस्तकको कमजोर कडी हो ।

सूचना र जानकारीका हिसाबले पुस्तक समृद्ध छ । व्यक्तिविशेषकै अनुभवको उतार किन नहोस्, त्यसबेलाका राजदूतहरूले देशको भूमिका विस्तार गर्ने क्रममा लिएका निर्णय, गरेका पहल र आतिथेय मुलुकका पदाधिकारीहरूसँग गरेका संवादका प्रसंगले मुलुकको आजको कूटनीति बुझ्न सघाउँछन् ।

पूर्व कूटनीतिज्ञहरूको अनुभव मार्फत पुस्तकले तत्कालीन राजा, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूको विदेश नीति सञ्चालन सम्बन्धी ज्ञान र क्षमता, त्यसलाई प्रभावित पार्ने त्यसबेलाका व्यक्ति र समूह, उनीहरूका रुचि र स्वार्थहरूलाई पनि उजागर गर्न खोजेको छ ।

त्यसक्रममा कतिपयका सबल पक्षलाई रोचक ढंगले उजागर गरिएको छ भने घटनाक्रमको वर्णन मार्फत कतिपयका थुप्रै कमी–कमजोरी पनि ठम्याउन सकिन्छ । यसलाई पुस्तकको राम्रो पक्ष मान्नुपर्छ ।

यद्यपि पदमा रहँदाको अनुभव लिपिबद्ध गर्ने क्रममा पूर्व राजदूतहरूले आफ्ना सबल पक्षलाई मात्र महत्व दिएका छन् । काम गर्ने क्रममा आफूबाट भए/गरेका गल्ती, कमी–कमजोरी र त्यसले मुलुकको हितमा पारेका वा पार्न सक्ने प्रभावहरू भने नजरअन्दाज भएको छ ।

पुस्तक पढिरहँदा पाठकको मनमा उब्जिने स्वाभाविक प्रश्न हो– २० जना पूर्व कूटनीतिज्ञहरू जिम्मेवारी बहनका क्रममा कहीं कहिल्यै चुकेनन् त ? त्यस्तो घटना नै भएन त ? पछिल्लो समय मौलाएको आत्मवृत्तान्त लेखनीमा देखिएको स्वप्रशंसाको धेरथोर छनक मिल्नु पुस्तकको कमजोर कडी हो ।

स्थापित तथ्य, प्रमाण र लिखित दस्तावेज भन्दा फरक–फरक व्यक्तिको भोगाइमा आधारित रहेकाले पुस्तकका तथ्य र प्रसंगमाथि उठ्ने प्रश्नलाई त्यही रुपमा लिन सकिन्छ । अनुभवकै आधारमा किन नहोस्, पूर्व राजदूतहरूले मुलुकको कूटनीतिक क्षेत्रमा सुधारका निम्ति अघि सारेका सुझावहरू मननीय छन् ।

पूर्व राजदूतहरूको अनुभवले क्षमतावान राजदूत नियुक्तिमा जोड दिए पनि राजदूत नियुक्ति सम्बन्धी मापदण्डकै पालना नभइरहेको अहिलेको विडम्बनालाई कुनै दिशानिर्देश गर्दैन । नेपालको आजको कूटनीतिको जग मानिने त्यसबेलाको कूटनीतिक अभ्यासलाई बुझ्न भने पुस्तक साँच्चिकै महत्वपूर्ण र संग्रहणीय पनि छ ।

तर, मुलुकको कूटनीति र विदेश सम्बन्धको अभ्यास किन यस्तो निम्छरो हुन पुग्यो ? यति लामो कालखण्ड बितिसक्दा पनि त्यसमा किन सुधार हुन सकेन ? त्यसमा मुख्य अवरोध वा बाधक के हो भन्नेबारे अर्थपूर्ण अवधारणा नभेटिनु पुस्तक पढ्दै जाँदा खट्किने अर्को पाटो हो ।

पुस्तकको भूमिकामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कतिपय प्रसंगलाई तात्कालिक परिस्थिति, व्यक्तिको भोगाइ या सन्दर्भको परिप्रेक्ष्यमा राखेर हेर्न आग्रह गरे पनि पाठकको दृष्टिमा उठ्ने यो प्रश्नको उत्तर नभेटिनु पुस्तकको कमजोरी हो ।

पछिल्लो डेढ–दुई दशकमा मूलतः दुई छिमेकीमाझ सीमित हुनपुगेको नेपालको विदेश सम्बन्ध र कूटनीतिको प्राथमिकता हालैका दिनमा त्यसभन्दा बाहिर फैलने प्रयासमा छ । पुस्तकले पनि पूर्व कूटनीतिज्ञको अनुभवलाई छिमेकमा मात्र सीमित नराखी त्यस बाहिर समेत विस्तार गर्ने प्रयास गरेको छ ।

मुलुकको कूटनीति र विदेश सम्बन्धका सन्दर्भमा पछिल्लो समय राजदूत नियुक्तिको विषय सबभन्दा पेचिलो बनेको छ । राजनीतिक नेतृत्वसम्मको पहुँच र उनीहरूसँग जोडिने अन्य दृश्य/अदृश्य सम्बन्धका आधारमा ‘जो पनि राजदूत बन्ने’ विकृत अभ्यासले अन्ततः मुलुकको कूटनीतिक क्षमतामा धमिरा लगाइरहेको छ ।

पूर्व राजदूतहरूको अनुभवले क्षमतावान राजदूत नियुक्तिमा जोड दिए पनि राजदूत नियुक्ति सम्बन्धी मापदण्डकै पालना नभइरहेको अहिलेको विडम्बनालाई कुनै दिशानिर्देश गर्दैन । नेपालको आजको कूटनीतिको जग मानिने त्यसबेलाको कूटनीतिक अभ्यासलाई बुझ्न भने पुस्तक साँच्चिकै महत्वपूर्ण र संग्रहणीय पनि छ । 

पुस्तकः नेपालको कूटनीतिक अभ्यास (राजदूतहरूको अनुभव)
सम्पादकः विष्णु रिजाल
प्रकाशकः परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान
पृष्ठः ३१०८
मूल्यः रु.४९९

 

प्रतिकृया दिनुहोस