गत आवमा प्रदेश ५ काे बजेट खर्च ६३ प्रतिशत
विक्रम खड्का\बुटवल
प्रदेश ५ सरकारले आर्थिक वर्ष ०७५\०७६ मा ६३ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रण कार्यालयले गत वर्षको आर्थिक विवरण सार्वजनिक गर्दै चालुतर्फ ७० प्रतिशत र पुँजीगततर्फ ५९ प्रतिशत खर्च भएको जनाएको हो ।
प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार चालुतर्फ ६ अर्ब ८७ करोड ७१ लाख र पुँजीगततर्फ १० अर्ब २७ करोड १३ लाख गरी १७ अर्ब १४ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले ५२ प्रतिशत खर्च गरेको छ । यस मन्त्रालयले १४ करोड १९ लाख बजेटमा ७ करोड ४३ लाख खर्च गरेको छ ।
खर्च धेरै गर्नेमा प्रदेश सभा रहेको छ । प्रदेश व्यवस्थापिकाले ३१ करोड ६६ लाख बजेटमा २५ करोड ५८ लाख खर्च गरेको छ । जुन बजेटको ८१ प्रतिशत हो । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३९ करोड १४ लाख बजेटमा ३१ करोड ९ लाख खर्च गरेको छ । जुन ७९ प्रतिशत हो ।
धेरै खर्च गर्नेमा सामाजिक विकास मन्त्रालय पनि रहेको छ । यसले ३ अर्ब ३२ करोड ६३ लाखमा २ अर्ब ६४ करोड ३७ लाख अर्थात ७९ प्रतिशत खर्च गरेको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयले २ करोड ५ लाखमा १ करोड ५७ लाख अर्थात ७७ प्रतिशत खर्च गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३४ करोड ६६ लाखमा २५ करोड ५३ लाख अर्थात ७४ प्रतिशत खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ५८ प्रतिशत बजेट खर्च गरेको छ । यस मन्त्रालयले १३ अर्ब ६६ करोड ७७ लाख बजेटमा ७ अर्ब ९५ करोड २४ लाख खर्च गरेको छ ।
प्रदेश ५ सरकारको गत आर्थिक वर्षमा २८ अर्ब ९ करोडको बजेट रहेको थियो । जिल्लागततर्फ अर्घाखाँचीले ३० करोड ७४ लाख बजेटमा सबैभन्दा बढी ८४ प्रतिशत खर्च गरेको छ भने सबैभन्दा कम कपिलवस्तुले २२ करोड ६० लाख बजेटमा ३८ प्रतिशत मात्र खर्च गरेको छ ।
खर्च धेरै गर्नेमा प्रदेश सभा रहेको छ । प्रदेश व्यवस्थापिकाले ३१ करोड ६६ लाख बजेटमा २५ करोड ५८ लाख खर्च गरेको छ । जुन बजेटको ८१ प्रतिशत हो । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३९ करोड १४ लाख बजेटमा ३१ करोड ९ लाख खर्च गरेको छ । जुन ७९ प्रतिशत हो ।
पश्चिम नवलपरासीको ५६ करोड १० लाख बजेटमा ७३ प्रतिशत, रुपन्देहीको १२ अर्ब ७५ करोड १९ लाख बजेटमा ६४ प्रतिशत रकम खर्च भएको छ।
यस्तै पाल्पाको १० करोड १७ लाख बजेटमा ७६ प्रतिशत, गुल्मीको १९ करोड ४० लाख बजेटमा ६५ प्रतिशत, पूर्वी रुकुमको १५ करोड ५५ लाख बजेटमा ६९ प्रतिशत, रोल्पाको ४ करोड ४९ लाख बजेटमा ८० प्रतिशत खर्च भएको छ ।
प्युठानको २३ करोड २२ लाख ९० हजार बजेटमा ५० प्रतिशत, दाङको ३१ करोड ८२ लाख बजेटमा ७३ प्रतिशत, बाँकेको १९ करोड ६३ लाख बजेटमा ६६ प्रतिशत र बर्दियाको २८ करोड ७४ लाख बजेटमा ७७ प्रतिशत खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
असारमा मात्रै झण्डै आधा निकासा
प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेश ५ मा असारमा मात्रै ७ अर्ब ८९ करोड ८४ लाख रकम खर्च भएको छ । चालू आर्थिक वर्षमा १७ अर्ब १४ करोड ८४ लाख खर्च भएको छ ।
सशर्त योजनाको बजेटसहित खर्चको विवरण केही तल माथि हुन सक्ने कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी रवीन्द्र अर्यालका अनुुसार जेठ मसान्तसम्म ९ अर्ब २५ करोडको निकासा भएकोमा असार महीनामा सम्म गरी कूल १७ अर्ब १४ करोड ८४ लाखको निकासा भएको हो ।
असारमा निकासा भए पनि काम भने पहिले नै भएको हुनसक्ने उनले स्पष्ट पारे । यस प्रदेशमा चालुतर्फ ६ अर्ब ८७ करोड ७१ लाख र पुँजीगततर्फ १० अर्ब २७ करोड १३ लाख खर्च भएको हो ।
प्रदेशको बजेट खर्चबारे शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा आर्थिक मन्त्रालयको जिम्मेवारी पनि वहन गरेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको बजेट विवरण अपूर्ण रहेको तर्क गरे ।
उनले उक्त विवरणप्रति असन्तुष्टि व्यक्त गर्दै प्रदेश लेखा नियन्त्रक कार्यालयले पूर्ण विवरण सार्वजनिक नगरेको टिप्पणी समेत गरे ।
मुख्यमन्त्री पोखरेलले केन्द्रीय कोषबाट प्राप्त गरेको रकम सामेल गरी आर्थिक मन्त्रालयले केही दिनमै यथार्थ विवरण सार्वजनिक गर्ने पनि दाबी गरे ।