केन्यामा पक्राउ परेका १२ युवतीलाई आफन्तको जिम्मा लगाइयो
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अफ्रिकी मुलुक केन्यामा पक्राउ परेका १२ नेपाली युवतीको उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।
उनीहरुलाई प्रारम्भिक अनुसन्धानपश्चात् आईओएमका प्रतिनिधिको रोहोबरमा शुक्रबार आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
ब्यूरोले केन्यामा १२ युवती पक्राउ परेको विषय सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय श्रम संघठन (आईओएम) सँगको सहकार्यमा २ असारमा उद्धार गरेको जनाएको छ । उद्धार गरिएका युवतीहरूलाई बिहीबार राति नेपाल ल्याइएको थियो ।
ब्यूरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार प्रारम्भिक अनुसन्धानबाट १२ युवतीहरू नेपालका विभिन्न स्थानबाट बसमा पूर्वको काँकडभिट्टा हुँदै सिलगुढी र त्यहाँबाट मुम्बई हुँदै केन्या पुगेका थिए ।
१२ युवतीलाई केन्या प्रहरीले मुुम्बासा शहरस्थित रङ्गिला डान्स बारमा छापा मारेर पक्राउ गरेको थियो।
उद्धार गरी नेपाल ल्याइएका १२ युवतीलाई आफन्तको जिम्मा लगाएको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।