व्यवसायीको आन्दोलनले भैरहवा भन्सारमा राजस्व संकलन घट्यो
विक्रम खड्का, बुटवल
व्यवसायीहरूको आन्दोलनले रूपन्देहीको भैरहवा भन्सार कार्यालयमा करोडौं राजस्व संकलनमा गिरावट आएको छ ।
सरकारले १ साउनदेखि व्यावसायिक मालसामानको आन्तरिक ओसारपसारको अनलाइन निगरानी थालेपछि व्यवसायी विरोधमा उत्रिएका छन् । यसको असर राजस्व संकलनमा परेको हो ।
उद्योगी व्यवसायीले भेहिकल एण्ड कनसाइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) को विरोध गर्दै आन्तरिक र बाह्य ढुवानी ठप्प पारेपछि त्यसको असर राजस्व संकलनमा परेको छ ।
सरकारले बिना तयारी र पूर्वाधार बिना नै भीसीटीएस प्रणाली लागू गरेको भन्दै उक्त प्रणाली मान्य नहुने भन्दै व्यवसायीले विदेशबाट आयात भएका र देशभित्रका सामान ओसारपसार रोकेका छन् ।
उनीहरूले ढुवानीका साधन घर तथा ग्यारेजमा थन्क्याएको बताएका छन् । ट्रक व्यवसायी लोकराज पोख्रेलले गाडी थन्क्याएर आफूहरू आन्दोलनमा लागेको बताए । ढुवानी रोकिएपछि दैनिक ३५ देखि ४० करोडको हाराहारीमा राजस्व संकलन गर्ने भैरहवा भन्सार कार्यालयमा ३\४ करोडको हाराहारीमा मात्र राजस्व संकलन भएको छ ।
दैनिक ४ सय ५० वटासम्म भन्सारमा मालवाहक गाडी आउने गरेकोमा त्यो संख्या घटेर अहिले दैनिक ५० को हाराहारीमा झरेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले बताए ।
भट्टराईले भने, “दैनिक ३५ देखि ४० करोडको हाराहारीमा राजस्व संकलन हुने गरेकोमा अहिले राजस्व असुली घटेर दैनिक ३\४ करोडको हाराहारीमा मात्र संकलन भएको छ ।”
बिहीबार साँझसम्म साल्ट ट्रेडिङ कर्पोरेशनको मल ल्याएका ४९ ट्रक र अन्य सामानका १९ ट्रक मात्रै प्रक्रिया पूरा गरी बाहिरिएको भट्टराईले जानकारी दिए ।
भारतबाट मालसामान लिएर आउने मालवाहक ट्रक र त्यहाँका ट्रान्सपोर्ट कम्पनीहरूले नै नेपालका लागि सामानको लोड गर्न बन्द गरेका छन् ।
मालवाहक ट्रक भन्सार विन्दुबाट प्रवेश गरेसँगै भीसीटीएस प्रणालीमा जानुपर्ने र भारतबाट सामान ढुवानी गर्दाको भाडाको नेपालमा मूल्य अभिवृद्धि कर समेत बुझाउनुपर्ने भएपछि बिच्किएका छन् ।
भारतीय भूमिमा नेपाल प्रवेशका लागि मालवाहक ट्रकहरूको लामो लाइन हुने गरे पनि अहिले भने भारततर्फ फर्कने गाडी मात्र देखिएको छ ।
उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले अति विकसित राष्ट्रमा लागू हुने खालका नीति तथा कानून नेपालका उद्योगी व्यवसायीले थेग्न नसक्ने बताए ।
बुटवलमा सडक प्रदर्शन
रूपन्देहीका व्यावसायिक संघसंस्थाहरूले योगदानमा आधारित सामाजिक सुरक्षा कोषका कतिपय बुँदा र ढुवानीमा अनलाइन प्रणाली भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) तत्काल लागू गर्न नसकिने भन्दै शुक्रबार बुटवलमा विरोध र्याली निकाले ।
रूपन्देहीमा क्रियाशील संघसंस्थाहरूको समन्वयकारी संस्था सञ्जाल रूपन्देहीको आह्वानमा बुटवलमा विरोध र्याली निकालिएको हो । वर्षा भइरहेको अवस्थामा पनि व्यवसायीहरू छाता ओढेरै र्यालीमा सहभागी थिए ।
बाल मन्दिरबाट शुरु भएको र्याली अमरपथ, अस्पताललाइन मिलनचोक हुँदै राजमार्ग चौराहासम्म पुगी पुनः ट्राफिकचोकमा फर्किएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने व्यावसायिक संस्थाका नेताहरूले सरकारले लागू गरेको नीति खारेज नभएसम्म वा सरकारले निर्णय पुनर्विचार नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।
भीसीटीएसको पक्षमा पनि
उद्योगी, व्यापारी र ढुवानी व्यवसायी भीसीटीएस प्रणालीको विरोधमा खुलेर लागिरहेका बेला कतिपयले यसको पक्षमा पनि बोलेका छन् । भन्सार एजेन्ट संघ रूपन्देहीका महासचिव मधुसूदन पन्थी यो प्रणालीले राम्रो गर्ने बताउँछन् ।
उनले बिहीबार भीसीटीएस प्रणालीअनुसार नै आफ्नो गाडी भन्सार पास गरेको बताए । “एक्कासि आउँदा केही असहज जस्तो लागेको हो,” उनले भने, “अहिले सिकाइको रूपमा प्रयोग गरौं, विस्तारै बानी पर्दै जान्छ ।”
दैनिक नेपाल भित्रिने गाडीहरूले पनि यो प्रणाली अनुसार नै गाडी पास गराइरहेका छन् । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलका अनुसार भीसीटीएस प्रणालीमा आबद्ध भई ढुवानी गर्न व्यवसायीहरू आइरहेको र उनीहरूको काम सहज रूपमै भएको बताए ।