नेकपामा ६ मध्ये ४ महत्वपूर्ण विभाग प्रमुखको टुंगो, माधव नेपाललाई विदेश, वामदेवलाई संगठन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महत्वपूर्ण ६ विभागमध्ये ४ विभागमा प्रमुखको टुंगो लगाएको छ ।
संगठन विभाग, स्कुल विभाग, विदेश विभाग र नीति तथा प्रतिष्ठान विभागको प्रमुखमा टुंगो लगाएको स्रोतले जनाएको छ । टुंगो लागेका चारै विभागमा पूर्व एमालेले नै नेतृत्व गर्ने सहमति भएको जनाइएको छ ।
बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पूर्वएमालेका तर्फका सचिवालय सदस्यको बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभाग, अर्का सचिवालय सदस्य ईश्वर पोखरेललाई स्कूल विभागमा, सचिवालय सदस्य माधवकुमार नेपाललाई विदेश विभागको जिम्मेवारीमा र नीति अध्ययन प्रतिष्ठान विभागमा सचिवालय सदस्य झलनाथ खनाललाई दिने सहमति भएको जनाइएको छ ।
बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली तथा सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल सहभागी भएको बताइएको छ ।
नेकपामा भएका ३२ केन्द्रीय विभागमध्ये १८ वटा पूर्वएमालेले र बाँकी पूर्वमाओवादी केन्द्रले पाएको छ । चारवटा विभागले नेतृत्व पाए पनि अरु विभागमा नेतृत्वबारे छलफल भइरहेको बताइएको छ ।
साउन ५ गते बस्ने सचिवालय बैठकले यो निर्णयलाई औपचारिकता दिनेछ । सो बैठकमा पूर्व माओवादीले अर्थ र प्रचार विभाग प्रमुखको नाम प्रस्ताव गर्ने जनाइएको छ ।
३२ विभागमध्ये पूर्वमाओवादीको भागमा परेका १४ वटा विभागमा को–को पठाउने भन्ने अहिलेसम्म टुंगो लगाउन नसकेको पनि बताइएको छ ।